बागमती प्रदेशका प्रहरी प्रमुख धुलिखेलमा

सुरक्षा र अपराध अनुसन्धान सम्बन्धी बृहत् अन्तरक्रिया

0
Shares

काभ्रे । 

काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा बागमती प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी शुरु भएको छ । गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले गोष्ठीको शुभारम्भ गर्दै सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकहरूको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न महत्त्वपूर्ण रहेको बताए । ‘सुरक्षा र अपराध अनुसन्धान जस्तो विषयमा अनुसन्धान, अभियोजन र न्याय निरूपणका सन्दर्भमा भएका अभ्यास, अनुभव र आगामी योजना बनाउन महत्त्वपूर्ण हुनेछ’– प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले भने–‘बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्को देशमा हुन सक्ने अपराध र त्यसको न्यूनीकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्त्वपूर्ण हुनेछ ।’

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिव ध्रर्व गैडाले बदलिँदो परिस्थिति र समय अनुसार नेपालमा बढिरहेका अपराध र अपराध अनुसन्धानका चुनौतीलाई सामना गर्न गोष्ठीको निष्कर्ष महत्त्वपूर्ण हुने बताए । नेपाली प्रहरीले लिएको मूल मन्त्रसँगै नागरिकहरूको जिउधनको रक्षा गर्ने प्रहरीको मूल दायित्वलाई अझै प्रभावकारी बनाउँदै लैजान सरोकारवाला सबै निकायहरू सक्षम हुँदै जान गोष्ठीको औचित्य झनै महत्त्वपूर्ण हुने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले लैङ्गिक हिंसा विश्वबाटै अन्त्य गर्ने अभियान जारी रहेका बेला बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश भित्र भएका अपराध अनुसन्धान तथा नागरिकहरूको सुरक्षाका बारेमा समीक्षा गर्ने महत्त्वपूर्ण गोष्ठीले नागरिक मैत्री सेवामा सहजता आउने बताइन् ।

जिल्लामा पछिल्ला समय देखिन थालेका फरक खालका अपराध र त्यसको अनुसन्धानका लागि आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र समन्वयका बारेमा प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरी अनुसन्धान निष्पक्ष र प्रविधि मैत्री हुनु पर्नेमा जोड दिइन् । कार्यक्रममा साइबर अपराध, अनुसन्धानका चुनौती, संहिता कानुनको कार्यान्वयन, बागमती प्रदेशका जिल्लाहरूमा भएका अपराध र अनुसन्धानमा भएका प्रगति तथा समस्या र समाधानका उपायहरूका बारेमा छलफल गरिने बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए ।

‘आपराधिक क्रियाकलापमा परिवर्तन भएको र अपराधको शैली समेत बदलिएको अवस्थामा त्यसका आवरणमा हुन सक्ने थप घटनाका बारेमा समेत गोष्ठीमा समीक्षा हुनेछ’–प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले भने–‘एउटा देशमा रहेर अर्को देशमा अपराध गर्ने प्रवृत्ति, अपराध अनुसन्धान, अभियोजन र न्याय निरूपणका बारेमा गोष्ठीमा छलफल हुनेछ ।’

बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणाले प्रहरीले आफैलाई सबल बनाउँदै लैजानु पर्ने चुनौती रहेको बताउँदै प्रहरीका समस्या र समाधानका उपायका बारेमा दुई दिवसीय कार्यक्रममा  छलफल हुने बताइन् ।

सामाजिक सञ्जालका कारण बढेका अपराधको अनुसन्धान र त्यसका नियमनका बारेमा प्रहरी अधिकारीहरू सक्षम हुनु पर्ने राणाले बताइन् । गोष्ठीको समापन कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ लगायतले सम्बोधन गर्नेछन् ।