आयात घट्नु हर्ष न बिस्मात

0
Shares

भन्सार विभागले हालै चालू आर्थिक वर्षको पहिलो चार महिनाको प्रतिवेदन सार्वजनिक ग¥यो । विभागको तथ्यांकलाई अध्ययन गर्दा गतवर्षको तुलनामा वैदेशिक व्यापार खुम्चिँदा आयात–निर्यातका साथै व्यापार घाटा पनि कम रहेको देखिन्छ ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ५ खर्र्ब १२ अर्ब ५० करोड रुपियाँको वस्तु तथा सेवा आयात गरेको छ । यस वर्षको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब रुपियाँले कम हो । त्यस्तै चालू आवको कार्तिकसम्म ५० अर्ब ५६ करोड रुपियाँको वस्तु निर्यात भएको छ ।

यो गत आवको तुलनामा ७ दशमलव ६८ प्रतिशत कम हो । गत आर्थिक वर्ष ५४ अर्ब ७७ करोड रुपियाँको निर्यात भएको थियो । गत आवको चार महिनामा ४ खर्ब ७७ अर्ब ९१ करोड व्यापार घाटा रहेकोमा चालू आवको सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ रुपियाँमा झरेको थियो । सामान्य अर्थमा आयातसहित व्यापार घाटा पनि न्यून हुनु अर्थतन्त्रका लागि सकारात्मक रहे पनि त्यसको साथसाथै निर्यात पनि घट्नुचाहिँ गम्भीर विषय हो ।

सरकारले अत्यावश्यकबाहेकका वस्तु तथा सेवाको आयातमा कडाइ गरेका कारण आयात कम हुनु स्वाभाविक छ । तर, निर्यात घट्नुका पछाडि कुनै आन्तरिक कारण देखिँदैन । नेपालबाट निर्यात हुने वस्तुमा हस्तकला, ऊनी, पस्मिनाका कपडालगायतका उत्पादन हुन् । जुन वर्षौंदेखि निर्यात हुँदै आएको थियो । विगतमा केही पाम तेललायतका वस्तुको निर्यात हुँदा नेपालको निर्यातको आँकाडा बढेको थियो । तर, भारतको नयाँ आर्थिक नीतिका कारण पाम तेलको निर्यातमा कमी हुन पुग्यो ।

साथै नेपालको निर्यातसम्बन्धी स्पष्ट नीति नहुँदा पनि समग्र निर्यात बजार प्रभावित बन्दै गएको छ । विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापार कमजोर बन्दै गएको संकेत गरेको छ । वैदेशिक व्यापार घट्दा सम्रग भन्सार राजस्व प्रभावित हुने र यसले देशको अर्थतन्त्रमाथि समस्या उत्पन्न गराउने अवस्था छ । नेपालको अर्थतन्त्र आयातमुखी रहेको छ । आयातबाट उठ्ने राजस्वलाई मुख्य आधार बनाएर सरकारले आफ्नो वार्षिक बजेट निर्माण गरिरहेको हुन्छ । तर, आयात नै कमजोर हुँदा भन्सार राजस्व न्यून भई बजेट कार्यान्वयनमा समस्या रहेको स्थिति छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारलाई झन्डै ८० अर्ब रुपियाँ नोक्सान रहेको छ । २५ अर्ब रुपियाँको हाराहारीमा मात्रै पुँजीगत खर्च हुँदा त्यसको दोब्बरभन्दा बढी अर्थात् ५४ अर्ब रुपियाँ सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा खर्च भएको छ ।

उक्त तथ्यांकलाई हेर्दा सरकारले गरेको आम्दानीबाट साधारण खर्च धान्न मात्रै पर्याप्त रहेको देखिन्छ । पुँजीगत खर्च र सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा भएको खर्च नै सरकारलाई घाटा भइरहेको छ । तसर्थ, आयात न्यून हुँदा खुशी हुनुपर्ने अवस्था छैन । जबसम्म निर्यातको हिस्सा बढाएर राजस्व संकलनमा बढाउन सकिँदैन तबसम्म आयातमुखी अर्थतन्त्र रहेको देशको राजस्वको सन्तुलन मिलाउन आयात आवश्यक छ । चालू आर्थिक वर्षको आयात घट्दा हर्ष न बिस्मातको स्थिति उत्पन्न भएको छ ।