जनप्रतिनिधि र कर्मचारीको सुविधामै सकियो दुई करोड ८७ लाख

0
Shares

राजविराज । 
 जनताको सेवा–सुविधा र समृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधिले आफ्नै सेवा–सुविधामा दुई करोड ८७ लाखभन्दा बढी रुपियाँ खर्च गरेको पाइएको छ ।  नेपाल समाचारपत्रलाई प्राप्त विवरणअनुसार गत वर्ष जनप्रतिनिधिको सेवा–सुविधामा २ करोड ८७ लाख ५ हजार ७ सय ३४ रुपियाँ खर्च भएको छ । जसअनुसार सुविधा र भत्ता शीर्षकमा मात्रै झण्डै दुई करोड रुपियाँ सकिएको छ ।
नगरपालिकामा पदाधिकारीको अन्य सुविधातर्फ तीनवटा शीर्षकमा १ करोड ३५ लाख २५ हजार ६६ रुपियाँ, पदाधिकारीको बैठक भत्तातर्फ दुईवटा शीर्षकमा ३४ लाख ५६ हजार, जनप्रतिनिधिको भ्रमणतर्फ दुईवटा शीर्षकमा ७ लाख ४७ हजार ३ सय ९५, महँगी भत्तामा ११ लाख २ हजार २ सय ६६, स्वास्थ्यकर्मीहरूको लागि फिल्ड भत्ता ४ लाख ९ हजार ६ सय र कर्मचारीको बैठक भत्तामा ३ लाख ४३ हजार र अन्य भत्तामा १५ हजार रुपियाँ गरी कुल १ करोड ९५  लाख ९८ हजार ३ सय २७ रुपियाँ खर्च गरेको छ ।
त्यस्तै, नगरपालिकामा इन्धन र मर्मतमै ९१ लाख ७ हजार ४ सय ७ रुपियाँ खर्च गरेको छ । विवरणअनुसार इन्धनतर्फ कार्यालय प्रयोजनका लागि ३५ लाख १८ हजार ६ सय ३३ रुपियाँ १५ पैसा, जनप्रतिनिधि (पदाधिकारी)ले ९ लाख ७५ हजार ५ सय ११ रुपियाँ खर्च गरेको छ ।
त्यस्तै, स्वास्थ्य शाखाले ५६ हजार २ सय ६७ रुपियाँ, पशुपंक्षी विकास शाखाले २८ हजार ७ सय ८७ र कृषि विकास शाखाले १३ हजार ८ सय २८ गरी इन्धनमा कुल ४५ लाख ९३ हजार २६ रुपियाँ खर्च गरेको छ ।
त्यस्तै, सवारी साधन मर्मत खर्चतर्फ दुईवटा शीर्षकमा गरी १८ लाख ५९ हजार २ सय ९९ र सवारी साधन खरिद २ लाख ५६ हजार ९ सय रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ । त्यस्तै, मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्चतर्फ दुई वटा शीर्षकमा १५ लाख ९५ हजार २ सय २०, फर्निचर तथा दराज मर्मत सम्भारमा दुईवटा शीर्षकमा ६ लाख ४९ हजार ७ सय ५५, निर्मित सार्वजनिक सम्पतिको मर्मत सम्भारमा ५३ हजार ९ सय ३४ र अन्य सम्पतिको मर्मत सम्भार तथा सञ्चालनमा ९९ हजार २ सय ७३ गरी कुल २३ लाख ९८ हजार १ सय ८२ रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ ।
नगर प्रमुख गिता चौधरीले गाडी अलि बढी प्रयोग भएर इन्धनमा बढी खर्च भएको दाबी गर्दै भन्नुभयो– ‘दुरूपयोगै त भएको छैन । यसअघि पाँच वर्षमा ६० हजार किलोमिटर गाडी गुडेको थियो । म जितेपछि डेढ वर्षमै ४० हजार किलोमिटर गुडिसक्यो तर कहीँ पनि दुरूपयोग भएको छैन । राजमार्गमै पालिका रहेकोले पनि कहिलेकाहीँ बाहिरका मान्छे पनि माग्न आइपुग्छन्, त्यसैले पनि अलिक धेरै खपत भएको होला ।’ उहाँले आफूहरूले भत्ता ३ पटक मात्रै बुझेको जिकिर गर्दै भन्नुभयो– ‘अरू के रहेछ, कहाँ, कसलाई के गरेको रहेछ, म प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्छु ।’उक्त विषयमा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।