उद्योग दिवसमा उद्योगी सम्मानित

0
Shares

काभ्रे ।

उत्कृष्ट उद्योगीहरूलाई सम्मान र सिप सिकेकाहरूलाई प्रमाणपत्र वितरण गर्दै काभ्रेपलान्चोक जिल्लामा नऔ उद्योग दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र घरेलु अधिकृत यज्ञबहादुर वलीले उद्योगीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।

‘उत्पादन, रोजगार, आर्थिक समृद्धिको महत्त्वपूर्ण क्षेत्र हो’–प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले भनिन–‘देशको आयातलाई विस्थापित गर्दै निर्यातलाई प्रवर्द्धन गर्न उद्योग सञ्चालन गर्नु अपरिहार्य छ ।’

सरकारले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउने बताउँदै प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सिप, श्रमको भरपुर उपयोग गरी नेपाललाई समृद्ध बनाउन सबै क्षेत्रको उत्तिक्कै सहयोग आवश्यक रहेको बताइन् । ‘सिप बढाउँदै लैजान आवश्यक छ’–प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले भनिन–‘घर घर सिप र उद्यमी उत्पादन गरी मुलुकलाई आत्मनिर्भर केन्द्रित अभियानमा जुटौं ।’

उद्योगी व्यवसायीका केही समस्या भए समाधानको बाटो पहिल्याउँदै उद्योग र उद्यममैत्री वातावरण निर्माणका लागि सदैव तत्पर रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।  कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख घरेलु अधिकृत यज्ञबहादुर वलीले जिल्लाका सबै क्षेत्रमा रहेका घरेलु तथा साना उद्योग तथा अन्य उद्योगहरूको संरक्षण, प्रवर्द्धन गरी रोजगार, उत्पादन र आर्थिक समृद्धिका लागि वातावरण बनिरहेको बताए ।

 स्थानीय सरकारले घरेलु उद्योग दर्ता गर्ने र सिप सिकाउन सक्ने बताउँदै घरेलु अधिकृत वलीले घरेलु तथा साना उद्योग कार्यालयले सिप, प्रविधि र सामाग्री समेत उपलब्ध गराउने गरेको बताए । घरेलु तथा साना उद्योग कार्यालय मार्फत सञ्चालन गरिएका हेयर कटिङ तथा सेल्फ मेक अफ तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सहभागीहरूले सिप सिकेर विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्न राज्यले उत्पादन गरेका सामाग्रीहरूको बजारीकरण गर्न सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य मञ्जुकुमार कोँजु, जिल्ला उपाध्यक्ष कैलाश पालञ्चोके, घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समूहकी अध्यक्ष निरु बैदार, प्रशिक्षक रामेश्वरी मानन्धर र प्रशिक्षार्थी प्रल्हाद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

घरेलु कार्यालयका इश्वरकुमार पाण्डे, रविन्द्र चौलागाई लगायतले घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त सेवाका बारेमा जानकारी गराएका थिए ।  उद्योग दिवसमा जिल्लाका विभिन्न स्थानमा विमला श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, सुनेना श्रेष्ठ, सम्झना तामाङ, सोमोमाया बल र रविन्द्र हुमागाई लगायतलाई सम्मान गरिएको थियो ।