विभिन्न स्थानबाट २६ जुवाडे पक्राउ, साढे पाँच लाख बरामद

0
Shares

काठमाडौं ।

प्रहरीले गएराति झापा, लमजुङ र काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट ठूलो संख्यामा जुवाडे पक्रेको छ । झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेपलाञ्चोकबाट चार जना गरी २६ जना जुवाडे समातिएको बताइएको छ ।

झापाको दमक नगरपालिका–७ हाटखोलामा जुवा खेल्दै गरेको अवस्थामा ११ जना पक्राउ परेका हुन् । ४१ वर्षीय कर्णबहादुर राईको घरमा जुवा खेलिरहेका उनीहरुलाई तीन लाख ५३ हजार ६०० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरिएको हो ।

उता लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रिठाटीमा पनि ११ जना पक्राउ परेका छन् । स्थानीय ४३ वर्षीय शुभाष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक लाख २४ हजार २९५ रूपैयाँ, छ बुक तास, एक सेट पासा, १६ थान कौडासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी काभ्रेको भुम्लु गाउँपालिकामा चार जना जुवाडे प्रहरी नियन्त्रणमा छन् । भुम्लु ७ का ३९ वर्षीय भरत गिरीसहित उनीहरुलाई भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित रित्तो घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ७९ हजार ४७५ रूपैयाँ र एक सेट कौडासहित जुवाडेलाई पक्रेको हो ।