जनता तर्साउने खेल बन्द गर

0
Shares

विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो । संविधानको धारा २७ ले पनि यसलाई प्रत्याभूत गरेको छ । तर यसको प्रतिरक्षाको लागि खटिनुपर्ने जिम्मेवार पक्षहरु यस हकका विरुद्ध उत्रिन्छन् भने त्यसले संवैधानिक प्रावधानलाई कमजोर तुल्याउनेछ ।

लोकतन्त्रमा कसैको विचार तथा अभिव्यक्तिप्रति असहमति प्रकट गर्न पाइन्छ तर आफूलाई मन नपर्ने विचार बोल्नै नपाउने वा बोल्नै दिन्न भन्न पाइन्न । कसैले त्यस्तो भन्छ भने त्यसलाई लोकतान्त्रान्त्रिक मूल्य र मान्यताको बर्खिलाप मानिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शासन व्यवस्थामा देखिएका बेथिति र संविधानकै प्रावधान विपरीत अभिव्यक्ति दिँदै बिहीबार गरेको प्रदर्शनका विरुद्ध नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले गरेको प्रदर्शनलाई यही दृष्टिले हेर्नु उपयुक्त हुनेछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध युवा संघले तय गरेको कार्यक्रम लोकतान्त्रिक हिसाबले त ठीक छैन, साथै एउटा जिम्मेवार राजनीतिक दलको भ्रातृ संगठनको एउटा अपरिपक्व राजनीतिक व्यवहारका रुपमा पनि लिन सकिन्छ । शान्ति सुव्यवस्थाका हिसाबले यो कसैको हितमा छैन । विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतान्त्रिक शासन व्यवस्थाको प्राणवायुको रुपमा लिइन्छ । बह्ुदलीय लोकतान्त्रिक व्यवस्थामा भिन्न–भिन्न समूह वा दलले फरक–फरक विचारको प्रतिनिधित्व गरेका हुन्छन् । तिनै विभिन्न विचार जनताबाट अनुमोदन गराई शासन व्यवस्थामा सहभागी हुने प्रणालीमा स्वाभाविकरुपमा विचारको विविधता रहेको हुन्छ ।

प्रत्येक विचार राख्न पाउने, फुल्न र फल्न पाउने हक प्रत्याभूत गर्ने विषय नै लोकतान्त्रिक शासन व्यवस्थाको एउटा विशेषताको रुपमा लिइन्छ । त्यसरी अभिव्यक्ति गरिएका शासन व्यवस्थाविरुद्ध नै किन नहोस्, शान्तिपूर्णरुपमा भेला भएर त्यसलाई राख्न दिनुपर्दछ र राख्न पाउनुपर्दछ । द्ुर्गा प्रसाईंले गरेको प्रदर्शनको प्रतिक्रियामा युवा संघको प्रदर्शनले अरुको हकलाई सम्मान नगरेको मात्र नभई शान्ति व्यवस्थामा पनि चुनौती थपिदिएको छ । आफ्रूलाई चित्त नबुझेका विचार शान्तिपूर्णरुपमा राख्ने तरिकाहरु धेरै छन् । तर अरुको सभा बिथोल्ने हिसाबले प्रतिवादमा उत्रिनु कदापि राम्रो होइन ।

पटक–पटक सरकारको नेतृत्व गरिसकेको दल, त्यसमाथि लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको जिम्मेवार प्रतिपक्ष दलले आफ्नो भ्रातृ संगठनलाई लोकतान्त्रिक संस्कारमा डो¥याउने जिम्मेवारी रहेको कुरो कहिल्यै बिर्सनुहुन्न । यस्ता चरित्रले समाजमा उत्तेजना र त्रास फैलाउन मद्दत पु¥याउने पक्षलाई नजरअन्दाज गर्नुहुन्न । हो, गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समावेशी विकास अहिलेको संविधानको मुख्य आधारस्तम्भ हुन् । कसैले यसको विरोध प्रदर्शन गर्दैमा आत्तिने, त्रसित हु्ने प्रवृत्तिले यसको जग र अभ्यास नै कमजोर छ भन्ने देखाउँछ । एउटा समूह, पक्षले विरोध गर्दैमा व्यवस्था नै उल्टिन लागेकोझैँ ठान्नु वा प्रतीत गराउनुमा यो व्यवस्थाका पक्षधरहरुको हतास र हीनताबोध मानसिकताको उपजका रुपमा लिन सकिन्छ ।

हो, अहिलेको शासन व्यवस्थामा विकृति–विसंगतिहरु प्रशस्तै छन् । राज्यसंयन्त्रमा बिचौलियाको पकड मौलाएको र भ्रष्टाचारले जनताको जीवन कष्टकर बन्दै गएको छ । नेपालमा भविष्य नभएको भनी प्रत्येक दिन हजारौं युवाहरु विदेशिनुपरेको छ । यस्तो अवस्थामा व्यवस्था विरोधको आन्दोलनमा दुर्गा प्रसाईं मात्र होइन, व्यवस्थाका पक्षधरहरु पनि उत्रिनुपर्ने स्थिति छ । यस्तो अवस्थामा संविधानको उपलब्धिको बलियो कार्यान्वयन, राज्यसंयन्त्रलाई जनमुखी, जनताका पिरमर्काप्रति संवेदनशील बनाउने, सेवाप्रवाहलाई चुस्त बनाउने कार्यले मात्र व्यवस्थालाई बलियो बनाउनेछ । यसलाई सबैले आत्मसात् गर्नु जरुरी छ ।