मृतक परिवारलाई दुई लाख राहत वितरण


जाजरकोट । 

भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई दुई लाखका दरले रकम वितरण गरिएको छ । विनाशकारी भूकम्पबाट मृत्यु भएका घरपरिवारलाई सरकारले राहत दिने घोषणा गरेपछि दुई लाख वितरण गर्न थालेको हो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिकाका ४९ घरपरिवारका ७७ जना मृतक परिवारका आफन्तलाई १ करोड २७ लाख रुपियाँ वितरण गरिएको छ । नेपाल सरकारबाट स्थानीय प्रशासनको दैवी प्रकोप समितिमा जम्मा भएको रकम भेरी नगरपालिकाका १४ घरपरिवारका २० जना मृतकका परिवारलाई ३५ लाख, नलगाड नगरपालिकाका ३२ घरपरिवारका ५० जना मृतक परिवारलाई ८२ लाख, छेडागाड नगरपालिकाका १ घरपरिवारका १ जना मृतकका परिवारलाई २ लाख, कुशे गाउँपालिकाका २ घरपरिवारका ६ जना मृतक परिवारलाई ८ लाख गरी जम्मा १ करोड २७ लाख रुपियाँ वितरण गरिएको छ । भूकम्पका कारण एउटा घरमा दुई जनाभन्दा बढीले ज्यान गुमाएको हकमा प्रति मृतक थप एक लाखका दरले बुझाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताउनुभयो ।

त्यसै गरी बुधबार भेरी नगरपालिकाका १५ घरपरिवारका २१ मृतकका परिवारलाई ३७ लाख, नलगाड नगरपालिकाका ३६ घरपरिवारका ५५ मृतकका परिवारलाई ९१ लाख, छेडागाड नगरपालिकाका १ घरपरिवारका १ जना मृतकका परिवारलाई २ लाख, कुशे गाउँपालिकाका ३ घरपरिवारका ७ जना मृतकका परिवारलाई १० लाख रुपियाँ वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । भेरी, नलगाड, छेडागाड र कुशे गाँउपालिकाका ५५ घरपरिवारका ८२ मृतकका परिवारलाई १ करोड ४० लाख वितरण गरिएको छ ।

भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका लागि रकम नआएपछि दिन सकिएको छैन । स्थानीय सरकारले घरको क्षतिको विवरण संकलन दैवी प्रकोप समितिमा नआएपछि अस्थायी बासका लागि दिने ५० हजार रुपियाँ वितरण भएको छैन । स्थानीय सरकारले घरको सम्पूर्ण क्षति जिल्ला प्रशासन कार्यालयमा पेस भएपछि मात्र वितरण गरिने प्रमुुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

सरकार र दातृ निकायबाट जिल्ला दैवी प्रकोप राहत तथा उद्धार समितिमा संकलन भएको सामग्री प्रभावित क्षेत्रमा पठाइएको बताउँदै, अत्यधिक चिसो हुने लेकाली भेगका नागरिकलाई चिसोबाट बचाउन कोषमा भएको बाँकी राहत सामग्री मागको आधारमा पठाइराखेको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । त्रिपालमुनिको चिसोमा राहत पाएको एकसरो कपडाले चिसो नछल्ने भएपछि समस्यामा परेका नागरिकहरू न्यानो बासका लागि अस्थायी टहरा निर्माण गरिदिन आग्रह गरेका छन् ।