सडकबाट सत्ता पल्टाउन खोज्ने प्रसाईंको ‘धृष्टता’ !

अराजक भीड बल्खुबाट निषेधित क्षेत्रमा निस्कन थालेपछि भिडन्त

0
Shares

तस्वीर : अनिल आङदेम्बे

–बल्खु अशान्त, तीनकुने शान्त
–दर्जनांै सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार
–सिंहदरबारमा कडा सुरक्षा, रिङरोडभरि सशस्त्र प्रहरी तैनाथ
–बल्खुमा युवासंघ र अभियान कार्यकर्ताबीच ढुंगा हानाहान
–दुवै स्थानमा जामर भेइकल, मोबाइल नेटवर्क बन्द

काठमाडौं । 

विवादास्पद चरित्रका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले महाअभियानका नाममा सडक आन्दोलनबाट सत्ता पल्टाउने धृष्टता गरे पनि उनको आन्दोलन फिक्का भएको छ । शान्तिको राप जप्दै आएका प्रसाईंले नेतृत्व गरेको बिहीबारको बल्खु केन्द्रित प्रदर्शन अराजक बन्यो । सो भीड अराजक बन्दै गएको र त्यसले हिंसात्मक रूप लिन सक्ने आँकलन गर्दै सम्भावित दुर्घटना रोक्न प्रहरीले दमन गरेको थियो ।

सरकारले उपलब्ध गराएको प्रदर्शन स्थल छाडेर निषेधित क्षेत्र छिर्न खोज्ने प्रसाईं समर्थित अराजक समूह र प्रहरीबीच बल्खुमा पटकपटक झडप भएको थियो । दिउँसो बल्खुमा प्रदर्शन हुँदै गर्दा चावहिलबाट जुलुशसहित राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान संयोजक प्रसार्इंंले संक्षिप्त मन्तव्य राखेर हिँडेलगत्तै उहाँका समर्थकहरू बल्खु छाडेर कालिमाटी हँुदै निषेधित क्षेत्र जान लागेपछि प्रहरीले जुलशमाथि हस्तक्षेप गरेको थियो ।

सो अराजक समूह सिहदरबार घेर्ने भन्दै अघि बढेको थियो तर सरकारले यसअघि नै माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषणा गरेकाले प्रहरीले सो समूहलाई अगाडि बढ्न दिएको थिएन । बिहान एमाले निकट युवासंघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच ढुंगा हानाहान भएदेखि नै बल्खुको अवस्था तनावग्रस्त भएको थियो । दिउँसो प्रहरीले बल्खुमै बस्न पटकपटक आग्रह गर्दा प्रसार्इं समर्थकहरू प्रहरीमाथि नै जाइलागेका थिए । प्रसार्इंका समर्थकले साँझपख टायर बालेर विरोध गरेका थिए ।

त्यसक्रममा प्रहरी र प्रसाईं समर्थकबीच ढुंगा हानाहान भएको थियो । निषेधित क्षेत्र तोड्न जाने क्रममा भीड नियन्त्रण गर्न प्रहरीले सयौं सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । त्यसक्रममा प्रसाईंतर्फका २६ जना र दर्जनांै प्रहरी घाइते भएका थिए । महाअभियानका अध्यक्ष मण्डलका सदस्य एवं संगठन तथा कार्यक्रम विभाग प्रमुख हरि कार्कीले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाउनुभयो ।
झडपका क्रममा महाअभियान समर्थित धादिङका चिरञ्जीवी बस्नेत गम्भीर घाइते भएको कार्कीले बताउनुभयो । प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक दमन गरेको उहाँको आरोप छ ।

तर, सयौं प्रहरीको घेरा तोडेर कालिमाटी, त्रिपुरेश्वर हुँदै सिंहदरबार जाने तयारी गरेपछि निषेधित क्षेत्रमा प्रवेश रोक्न प्रसाईंका समर्थकमाथि प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको प्रहरीको भनाइ छ । प्रदर्शनपछि झडपका कारण बल्खुक्षेत्र दिनभर रणभूमिमा परिणत भएको थियो । प्रसाईं समर्थकले राज्यले आफूमाथि दमन गरेको आरोप लगाएको छ । संगठन विभाग प्रमुख कार्कीले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्नु सरकारको रबैया ठीक नभएको बताउनुभयो ।

युवा संघको प्रदर्शन शान्तिपूर्ण

उता एमाले भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध सभा शान्तिपूर्ण रूपमा सम्पन्न भयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको कमान्डमा रहेको चारैवटा सुरक्षा निकायको समितिले तय गरेको योजनाको आधारमा उपत्यकाको सुरक्षा योजना तयार पारेको थियो । प्रहरीले सम्भावित आक्रमण र झडप हुन सक्ने भन्दै रिङरोड क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मुख्य प्रशासनिक निकाय सिंहदरबार, बालुवाटार, शीतलनिवास, हरितगृह, पुल्चोकको मन्त्रीनिवास र संयुक्त राष्ट्रसंघ भवनलगायतका प्रशासनिक निकायमा व्यापक प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनको सुरक्षा दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गुप्तचर प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनको सूक्ष्म विश्लेषण गर्न करिब २ हजारको संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो ।
करिब १० हजारको संख्यामा सुरक्षाकर्मी परिचालित थिए भने ड्रोनबाट प्रदर्शनको निगरानी गरिएको थियो ।

अभियानका केही उग्र कार्यकर्ताले प्रसार्इंले सम्बोधन गरेलगत्तै ‘सिंहदरबार घेराउ गर्न जाआंै’ भनेपछि भीड उत्तेजित भएर कुलेश्वर हुँदै कालिमाटीतर्फ मोडिएको थियो । आन्दोलनका कारण उपत्यकाका अधिकांश विद्यालय बन्द भएका थिए र राजधानीमा सार्वजनिक र निजी सवारीसाधन फाट्टफुट्ट चलेका थिए ।

प्रदर्शनको कारण उपत्यकाको सवारी व्यवस्थापन बिथोलिएको थियो । ट्राफिक प्रहरीले अत्यावश्यक काममा मात्र सवारीसाधन सञ्चालन गर्न आग्रह गरेपछि अधिकांश पैदल र वैकल्पिक सवारीसाधन प्रयोग गरेर गन्तव्यमा पुगेका थिए ।
युवासंघ र दुर्गा प्रसाईं नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल प्रयोग गरेको थियो । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि प्रयोग गरिएको थियो ।
दुवै प्रदर्शन स्थानमा प्रहरीले १–१ थान जामर भेहिकल सञ्चालन गरेको थियो । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या भएको थियो । नेटवर्कमा समस्या भएपछि प्रदर्शनकारीले सामाजिक सञ्जाल प्रयोग गर्न पाएका थिएनन् ।

दुर्गा प्रसाईं नामको अराजकता सदाका लागि समाप्त: बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नामको अराजकता सदाका लागि समाप्त भएको दाबी गर्नुभएको छ । सम्बोधनका क्रममा बस्नेतले भन्नुभयो– ‘आजबाट दुर्गा प्रसाईं नामको अराजकता सदाका लागि समाप्त भएको छ ।’

साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको र मुलुकलाई प्रयोगशाला बनाउन लागिएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईंलाई अगाडि बढाइरहेका छन् । आज दुर्गा प्रसाईंले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रमलाई युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो ।’

बस्नेतले प्रसाईं बौलाएको टिप्पणी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन अग्रह गर्नुभयो । साथै उहाँले प्रसाईंलाई बैंक ठगेको र राजस्व छलेको आरोपमा गिरफ्तार गर्नसमेत सरकारको ध्यानाकर्षण गर्नुभयो । आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईंको कार्यक्रम कुकुरजस्तो भएको टिप्पणी गर्दै उहाँले प्रसाईंलाई पूर्व राजाको भूतको संज्ञा दिनुभएको छ ।

व्यवस्था परिवर्तन गरेर मात्र आन्दोलन रोकिन्छ : प्रसाईं
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसार्इंले वर्तमान राज्य व्यवस्था परिवर्तन गरेर छाड्ने बताउनुभएको छ । बिहीबार बल्खुमा शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले भन्नुभयो– ‘यो आन्दोलन त्यसै रोकिँदैन तपाईंहरूले बुझ्नुस् कि व्यवस्था नै परिवर्तन गरेर मात्र आन्दोलन रोकिन्छ । हामी त्यत्तिकै सडकमा आएका छैनौं । गरिब जनतामारा गणतन्त्र हामीलाई चाहिएको होइन, अब व्यवस्था परिवर्तन हुने कुरामा तपार्इंहरू ढुक्क भएर कार्यक्रमलाई सशक्त बनाउन लाग्नुपर्छ ।’

उहाँले संघीयता नचाहिने भन्दै आफूहरूले शुरू गरेको आन्दोलन जनव्रिदोह भएको दाबी गर्दै भन्नुभयो– ‘म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईं सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् ।’ प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको पनि कडा आलोचना गर्नुभयो । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोप लगाउँदै प्रसाईंले प्रश्न गर्नुभयो– ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ उहाँले नेपालमा विद्रोहको बिरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिनुभयो ।
प्रसाईंको कार्यक्रममा उपत्यका बाहिरबाट सहभागी भएकाहरूले पनि व्यवस्था परिवर्तन नहुन्जेल काठमाडौं नछाड्ने बताएका छन् । अभियानअन्र्तगत अध्यक्ष मण्डलका सदस्य हरी कार्कीले भन्नुभयो– ‘यो पहिलो प्रदर्शनपछि राजधानीमा भोलिदेखि एक सातासम्म विभिन्न ठाउँमा जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।’ यसैबीच आज शुक्रबारदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले तीनकुनेमा प्रदर्शन गर्ने जनाएको छ ।

प्रसाईंको कार्यक्रममा राप्रपाको समर्थन
काठमाडौंका विभिन्न आठ ठाउँबाट बिहीबार बिहान नारा जुलुससहित बल्खु पुगेका प्रसार्इं समिर्थित प्रदर्शनकारीहरूलाई राप्रपाको समेत समर्थन रहेको थियो । राप्रपाका नेता ज्ञानेन्द्र शाही कार्यक्रमस्थलमा पुगेर कार्यक्रमप्रति समर्थन जनाउनुभएको थियो भने राप्रपाका कार्यकर्ताहरू स्वःस्फूर्त कार्यक्रममा सहभागी भएका थिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाको एजेन्डासँग मिल्ने कार्यक्रम जोसुकैले गरे पनि राप्रपाको समर्थन रहने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दुर्गा प्रसाईंको आन्दोलनमा हाम्रो नैतिक समर्थन छ । उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन् । उनीहरूलाई पार्टीले नपठाए पनि किन गयौं भनेर खोजी गर्दैनौं ।’

राप्रपाले उठाउँदै आएको राजसंस्थाको स्थापना र हिन्दु राज्यको एजेन्डा प्रसाईं समूहले उठाएकोमा राप्रपाले समर्थन जनाए पनि प्रसाईंका कतिपय उच्छृङ्खल अभिव्यक्ति र गतिविधिमा भने साथ दिन नसकिने नेता तामाङको भनाइ छ ।