भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण

0
Shares

जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुका लागि सहयोगस्वरुप भारतले नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते नेपाल आइपुगेको अत्यावश्यक चिकित्सा सामग्री सहितको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाएको हो ।

नेपाल चिकित्सक संघको मागअनुसार भारतले राहत सामग्री उपलब्ध गराएको राजदूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् ।

जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने समेत राजदूतावासले जनाएको छ ।