गरिखाने वर्गको आत्मबल बलियो बनाऊ

0
Shares

विगत केही महिनादेखि बुझक्कड अधिकांश मानिसको मुखबाट देशको अर्थतन्त्र खतरामा पर्दै गएको विश्लेषण सुनिदै आएको छ । उद्योगी–व्यवसायी, अर्थशास्त्रीदेखि लिएर दलका नेताहरूबाट समेत अर्थतन्त्र संकटमा पर्न थालेको तथ्य र तथ्यांकहरू प्रस्तुत गरिँदै आएका छन् । नेताहरूले अहिलेको आर्थिक विषयलाई राजनीतिक मसलाका रूपमा प्रयोगसमेत गर्न पछि परेका छैनन् ।

जताततै अर्थतन्त्र संकटमा पर्दै गएको विचार–विमर्श प्रस्तुत हुँदा आमजनतामा त्रास र भयले जरा गाड्न पुगेको छ । सार्वजनिक सञ्चारमाध्यममा प्रायः अर्थतन्त्रका बारेमा नकारात्मक चर्चामात्रै गरेको सुनिन्छ । साथै बजार भाउ पनि चुलिँदै गएको छ । एक वर्षअगाडिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य झन्डै दोब्बर भएको स्थिति छ । केही पौरख गरौं भन्ने सोच लिएका व्यक्तिलाई पनि लगानी अभाव भएको देखिन्छ । व्यापार व्यवसाय चौपट भई लगानी जोगाउन मुस्किल हुँदै गएको गुनासो सर्वत्र सुनिदा आम मानिसमा बिस्तारै अनिश्चित भविष्यको भयले तर्साउँदै गएको छ ।

एकातिर अर्थतन्त्र जटिल बन्दै गएको विश्लेषण गरिँदै आएको छ भने अर्कोतिर सरकारी तथ्यांकमा भने अर्थतन्त्रका बाह्य पक्षहरू अत्यन्तै सबल रहेको तथ्यांक प्रस्तुत गरिँदै आएको छ । उदाहरणका लागि पर्यटक आगमनको संख्या उच्च भई ऐतिहासिक रेकर्ड कायम गरेको, रेमिट्यान्स आप्रवाह पनि उच्च विन्दुमा रहेको, विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको, एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयातलाई धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेको, बैंकिङ प्रणालीमा तरलता सामान्य रहेको, कर्जा र निक्षेप अनुपात सहज रहेको, आयात नियन्त्रणमै रहेको, एकल अंकको हाराहारीमा ब्याजदर कायम रहेकोजस्ता तथ्य नेपाल राष्ट्र बैंकका तथ्यांकमा देखिन्छ । सामान्य अर्थमा नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार प्रायः सबै सूचक सकारात्मक नै छन् ।

अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक हुँदाहुँदै पनि अर्थतन्त्र गम्भीर बन्दै गएको कुरा किन उठ्छ ? सामान्य मानिसको मनमा सधैँ खड्किरहने प्रश्न हो ।‘मेडिकल रिपोर्टहरू सबै राम्रा छन् तर मानिस बिरामी छ’ भनेजस्तै नेपालको आर्थिक अवस्था पनि अहिले त्यस्तै रहेको सामान्य बुझाइ छ । सरकारी स्तरबाटै अर्थतन्त्रको संकटदेखि पार लाग्न राष्ट्रिय सहमतिको प्रस्ताव गरिएको प्रसङ्ग सार्वजनिक हुनु अनि पश्चिम नेपालमा भएको प्राकृतिक विपत्ति (भूकम्प) ले यतिखेर थप सन्त्रास उत्पन्न गराएको छ ।

सरकारको एउटा अंकको रिपोर्टमा सबै सूचकहरू सकारात्मक छन् भनिन्छ । तर, परिणामले त्यस्तो देखाउँदैन । राजस्व संकलनको अवस्था कमजोर छ । पुँजीगत खर्च न्यून छ । सरकारलाई भुक्तानी सन्तुलन मिलाउन कठिन भइरहेको छ, सार्वजनिक ऋणको भार बढ्दै गएको अवस्थामा अर्थतन्त्रका सबै सूचक सहज र सकारात्मक छन् भनेर विश्वास गर्न पनि सकिँदैन ।

अर्थतन्त्रका सूचकहरू जे–जस्तो भए पनि यति बेला देशका गरिखाने वर्गका निम्ति भने अवस्था निकै चुनौतीपूर्ण रहेकोचाहिँ सत्य हो । विशेष गरी स–सानो उद्यमशीलतामा रहेका सर्वसाधारणको मनोबल कमजोर भएको छ । जताततै निराशाका कुरा हुने र परिस्थिति पनि त्यस्तै देखा पर्न थालेपछि उनीहरूको आत्मबल कमजोर भएको हो । यो अवस्थामा सरकारले सबैभन्दा पहिला गरिखाने वर्गको आत्मबल बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा ‘कागले कान लग्यो भनेर सबै चिच्याउँदा कान नछामी दौडने’ जमात ठूलो छ । अन्ततः यसले दुर्घटना निम्त्याउन सक्छ ।