गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक 

0
Shares

काठमाडौँ। 

गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक दिइने भएको छ । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ ।

गत २२ कात्तिकमा बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ । ‘गर्भवती अवस्थामा महिला प्रहरीलाई अहिलेकै पोसाक लगाएर काम गर्न गाह्रो हुने भएकाले सहज हुने पोसाक दिन लागेका हौँ,’ प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले भने, ‘कतिपटक दिनेलगायतका विषयमा भने अझै छलफल हुँदै छ ।’

नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरीका अन्य पोसाक वितरणलाई थप व्यवस्थित गर्न पनि छलफल थालेको छ । सिभिलमा काम गर्ने प्रहरीलाई अन्य कपडा खरिदका लागि नगद नै दिने तयारी छ । साथै, कतिपय चुस्त र कार्यालयको काममा लगाउने कपडा पनि आवश्यकताअनुसार वैज्ञानिक ढंगले वितरण गर्ने तयारी रहेको बताइएको छ ।