घाउ बल्झाउने दीपावली : डा. ओम मूर्ति अनिल 

5.17k
Shares

दीपावलीको झिलिमिलीसँगै बाल्यकालमा हामीले उत्सव मनाइरहँदा दियोको उज्यालोभन्दा अलि टाढा, आँगनको कुनामा एक जना व्यक्ति सधैँ   टोलाएर बसिरहेको म देख्थे । मौन र मलिन अनुहार बनाएर आफ्नो मनको व्यथा मनभित्रै लुकाएर टोलाइरहने उहाँ स्वयम् मेरो बुबा हुनुहुन्थ्यो । यस्तो घटना प्रायः म हरेक दीपावलीको साँझ देख्ने गर्थे । घर, परिवार तथा छरछिमेक सबै दीपावलीको रमझममा उल्लासमय हुँदा बुबा भने किन सधैँ  गम्भीर भएर बस्नुहुन्छ ?

मेरो बाल मस्तिष्कले त्यस बेला सोच्न सक्दैथ्यो । म मेरो बालसुलभ व्यवहारअनुसार दियो बाल्ने, पटाका पड्काउनेजस्ता काममा रमाइरहेको हुन्थे“ । तथापि, बुबाको त्यो गम्भीर मुद्राले भने मलाई सधैँ प्रभावित गरिरहेको हुन्थ्यो ।

दीपावलीको रमाइलोमा पनि सधैँ  शान्त र उदास भई अतीतका यादमा हराएझैँ  बुबा किन टोलाएर बस्नुभएको होला ? यसको कारण त्यस बेला मैले कहिल्यै बुझ्न खोजिनँ । त्यसतर्फ मेरो ध्यान पनि गएन । समय बित्दै जाँदा बुबाको त्यो निराश अनुहारका बारेमा बल्ल थाहा पाएँ । दीपावलीकै दिन उहाँको बुबा अर्थात् मेरो हजुरबुबाको निधन भएको रहेछ । त्यसैले हरेक दीपावलीको उज्यालोले उहाँलाई बुबासँगको बिछोडको घाउ बल्झाइदिने रहेछ । त्यसकारण चाडपर्वमा परिवारका अरु सदस्य रमाए पनि उहाँको मन रमाउन नसक्दोरहेछ । उहाँ त्यसै टोलाएर मनको पीडा मनमै दबाएर राख्नु हुँदो रहेछ ।

विधिको कस्तो विडम्बना !

बुबालाई पीडा दिने त्यस्तै चोटले हिजोआज मलाई पनि दुःख दिन थालेको छ । संयोग पनि कस्तो दुःखद ! हिजो दीपावलीले बुबाको खाटा बसेको घाउलाई कोट्याइदिन्थ्यो, आज मेरो घाउ कोट्याउने भयो । किनकि बुबाको स्वास्थ्य बिग्रिएर दीपावलीकै राति हामीले बुबालाई अस्पताल पु¥याउनुपरेको थियो ।
बुबाको स्वास्थ्य अलि बिग्रिएपछि उहाँलाई धेरै गाह्रो नहोस् भनी पूर्व सावधानीका लागि उहाँलाई दीपावलीको राति अस्पतालमा भर्ना गरिएको थियो । प्रायः चाडपर्व वा कुनै उत्सवका बेला बिरामीलाई ढिलो अस्पताल पु¥याउँदा भएका स्वास्थ्य जटिलताका कैयौँ  घटना म आफैँले  देखेको हुँदा, म आफैँले  ढिलासुस्ती गर्ने अवस्था थिएन ।

दीपावलीको दिन बिहानदेखि नै म बुबासँगै बसेको थिएँ, घरमा चाडपर्वको रौनक थिएन । दिनभर बुबालाई अक्सिजन र नेबुलाइजेसन दिंदै  बशे  । बुबाको अवस्थामा अपेक्षित सुधार नभएकाले मलाई दीपावलीको कुनै ‘फिलिङस्’ नै भएन ।

बुबाको स्वास्थ्य स्थितिका कारण घरमा सबै जना चिन्तित हुनुहुन्थ्यो । दिन ढल्दै गएर जब साँझ पर्न थाल्यो, काठमाडौँ  सहर क्रमशः दीपावलीको उज्यालोमा धपक्क बल्दै थियो । तर हाम्रो घरलाई भने पीडाको अँध्यारोले छोप्दै थियो । तथापि, छोरीसँगै मेरी पत्नीले घरमा भारी मनले दियो बालेकी थिइन् ।

हाम्रो परम्पराअनुसार आफ्नो कार्यालयमा पनि आफैँ दीपावली र पूजा गर्ने चलन भएकाले म घरबाट ७–८ मिनेट टाढा रहेको ‘नेशनल कार्डियक सेन्टर’मा जानुपर्ने थियो । मन भारी थियो, जाँगर पनि थिएन, इच्छा पनि भएन ।

मैले– ‘भो जान्नँ’ भने“ । तर सानो दाइले ‘म बुबालाई हेर्छु, तिमी गएर पूजा गरी चाँडै आऊ’ भन्नुभयो । बुबाको स्वास्थ्य त्यति बेला अलि स्थिर भएको थियो । र, बुबाले पनि ‘म ठिक छु जाऊ’ भन्नु भएकाले मन नलागी–नलागी घरबाट हिंडे  । ‘नेशनल कार्डियक सेन्टर’मा दीपावली र पूजा गरेर एक घण्टाभित्रै घर फर्किएँ ।
घरमा मलाई बुबाको अवस्था सन्तोषजनक लागेन । अस्पताल लैजानुपर्छ कि भनेर विचार गर्न थालें  । हामीले बुबालाई स्वास्थ्य सुरक्षा र पूर्वसावधानीका लागि भए पनि अस्पताल लैजाने निर्णय ग¥यौ“ । बुबाले पनि ‘हुन्छ, तिमीहरुलाई जे ठिक लाग्छ गर’ भनेर सहमति जनाउनुभयो तर उहाँको अन्तर्मनले दीपावलीको दिन अस्पताल जानु राम्रो सङ्केत होइन भन्ने बताइरहेको आभास मलाई भइरहेको थियो । त्यही विचार परिवारका सबैका मनमा पनि चलिरहेको थियो । बुबाले केही नभन्दै पनि उहाँको मनको भाव त्यस्तै झल्किन्थ्यो ।

वैज्ञानिक आधार तथा मेडिकल ज्ञानले त्यस रात बुबालाई घरमा राख्नु सुरक्षित हुँदैन भन्ने मेरो बुझाइ थियो । कहिलेकाहीँ“ मनले भन्दा मस्तिष्कले काम गर्नुपर्ने हुन्छ । मेरो मस्तिष्कमा मेडिकल ज्ञानले त्यस दिन बुबालाई घरमा राख्नु हुँदैन भन्ने बताइरहेको थियो । त्यहीँ  भएर मनले नमान्दा नमान्दै पनि राति ११ बजेतिर हामीले बुबालाई अस्पताल लाग्यौँ ।

दुर्भाग्य, जुन कुराको डर हामी सबैलाई थियो आखिरमा त्यही नै भयो । बुबा घरबाट निस्केको त्यो यात्रा जीवनको अन्तिम यात्रा साबित भयो । त्यो दीपावली नै उहाँको अन्तिम दीपावली भयो । त्यसपछिका कष्टपूर्ण दुई साताको अस्पताल बसाइपश्चात् अन्ततः बुबाले देहत्याग गर्नुभयो । अहिले मलाई त्यस रातको सम्झना पटक्कै मन पर्दैन । केही गरी सम्झियो भने मुटुमा गाँठो पर्छ, मन विचलित हुन्छ । अब मेरा लागि पनि दीपावालीले शोक दिने भयो । अब प्रत्येक दीपावलीले बुबालाई जस्तै मलाई पनि चिमोटिरहनेछ । बुबाको सम्झनाले पिरोलिरहनेछु । उहाँसँगका सम्झना मेरो मानसपटलमा सप्तकोशीका छालजस्तै उर्लिरहन्छन् ।

दीपावलीको त्यो ‘कनेक्सन’ अर्थात् मेरो भोगाइ मेरा लागि दुःखद साबित भएको छ । तर बिस्तारै मेरो मनमा दुई विकल्पसहितको फरक भावना पनि जागृत भएको छ । पहिलो विकल्पका रुपमा त्यस दुःखद रातलाई सम्झेर प्रत्येक दीपावलीमा शोक मनाउने वा दीपावलीका दिन बुबाको स्मृतिलाई झन् ताजा गर्ने र त्यस दिन बुबासँग बिताएका जीवनका सुन्दर पललाई स्मरण गर्दै अन्तर्मनलाई तृप्त पार्ने ।

मेरो मनले दोस्रो विकल्प रोजेको छ । अब मैले बुबालाई दीपावलीका दिन अझै बढी स्मरण गर्नेछु । त्यस दिनलाई म शोकलाई शक्तिमा बदल्दै सकारात्मकतातर्फ अगाडि बढ्ने दिनका रुपमा लिनेछु । यसो गर्दा बुबा र दीपावलीसँग जोडिएका अनगिन्ती सम्झनालाई पुनर्जीवित बनाउनेछु । उहाँको मार्गनिर्देशलाई पालना गर्दा बुबालाई अझ बढी समीपमा पाउने अवसर मिल्ने मलाई विश्वास छ ।

केही दिनअगाडिसम्म दीपावली मेरा लागि कति पीडादायी होला भन्ने लाग्थ्यो तर अब त्यो शोक, डर र पीडाबोध विलीन भएको महसुस हुँदैछ । दीपावलीका दिन शोक मनाउनेभन्दा पनि उहाँको पदचापलाई पच्छ्याउँदै सत्कर्मको उत्सव मनाउँदा उहाँको आशीर्वाद प्राप्त हुनेछ भन्ने मलाई लाग्छ । जसले उहाँको सम्झनालाई चिरस्थायीसमेत बनाउनेछ ।

जन्म र मृत्यु मानव जीवनको स्वाभाविक पक्ष हो । मृत्यु कसैको चाँडो त कसैको ढिलो हुन्छ, बाँच्ने त केवल सम्झना मात्रै हो । यही सत्यलाई स्वीकार गर्दै आगामी दिनमा सम्झनाबाट ऊर्जा प्राप्त गर्न सिक्नुपर्ने रहेछ । दिवङ्गत प्रियजनसँगको भौतिक साथ नभए पनि उहाँहरुसँगको सुन्दर स्मृतिले अन्तर्मनलाई पीडाबोधबाट मुक्त गर्न सकिन्छ । यसबाट जीवनमा मार्गनिर्देशसमेत प्राप्त हुन सक्छ भन्ने चेतना मेरो मनमा पलाएको छ ।

उक्त भावनापश्चात् अबदेखि दीपावलीमा बुबाको सामीप्यको बढी महङ्खव हुनेछ । दीपावली बुबाको स्मृति ताजा गर्ने अवसरको रुपमा रहने छ । अबदेखि लक्ष्मी माता र पिताजी दुवैलाई पूजा गर्ने साइत एउटै भएको छ । तथापि, बुबाको अनुपस्थितिमा पहिलो दीपावली कस्तो होला भनेर गाउँको दीपावलीको पुराना र धमिला दृश्यहरु मेरो स्मृतिपटलमा ताजा भएर घुम्दैछन् । त्यसैले बुबाको मृत्युपछिको पहिलो दीपावली दशकौँपछि बुबाको स्मृतिसँगै यसपटक गाउँमै गएर मनाउने सोचेको छु ।

जीवन र मृत्युलाई शाश्वत तथ्य मान्ने हो भने हामीले जीवनलाई बढी प्राथमिकता दिनुपर्दछ । म पनि बुबाको निधनलाई अन्तिम सत्य स्विकारेर शक्ति सञ्चय गर्न चाहन्छु । त्यस्तो शक्ति जसले बुबाको सम्झना चिरस्थायी बनाउन सकोस्, बुबाको आत्माले गर्व गर्न सकोस् ।

(प्रस्तुत अंश मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको हालै प्रकाशित पुस्तक ‘जीवन्त सम्बन्ध’बाट लेखकको अनुमतिमा प्रकाशित गरिएको हो ।