राजधानीमा प्लास्टिकका फूल धमाधम जफत गरिँदै

0
Shares

काठमाडौं।

काठमाडौं महानगरको प्रहरी टोलीले राजधानीको विभिन्न स्थानबाट तिहारको लागि बिक्री गर्न राखिएको प्लास्टिकको फूल धमाधम जफत गरेको छ । कामपा महानगरको टोलीले राजधानीको सबै क्षेत्रमा अनुगमन गरी करिब दुई दर्जन बोरा प्लास्टिकको फूल र घर पसलमा सजाउने सजावटका सामग्री जफत गरेको हो । व्यापारीले दशँै, तिहार र छठ लक्षित प्लास्टिकका फूलमाला र सजावटका सामग्री बिक्री गर्दै आएका छन् ।

वन तथा वातावरण मन्त्रालयले कार्तिक पहिलो साता प्लास्टिकका फूल तथा माला बिक्री वितरणमा प्रतिबन्ध लगाएको सूचना जारी गरेको थियो । सोही सुचनाको आधारमा कामपाको प्रहरी टोलीले अनुगमन शुरु गरेको थियो । महानगरको मध्य, पूर्व, उत्तर र पश्चिम क्षेत्रको नेतृत्वको टोलीले राजधानीको झण्डै सयभन्दा बढी फूलमाला र सजावटका सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो– ‘अनुगमनको क्रममा बिक्री गर्न राखिएका करिब दुई दर्जन जति प्लास्टिकका फूलमाला र साजवटका सामग्री जफत गरेका छौं ।’ उहाँले तिहारको लक्ष्मी पूजाको दिनसम्म अनुगमन जारी राखिने बताउनुभयो ।

कामपाले नयाँ बानेश्वरदेखि पुुरानो बानेश्वरसम्म, कालिमाटी, असन, इन्द्रचोक, भोटाहिटी र महाबौद्धमा दर्जनौं पोका प्लास्टिकका माला र अन्य सजावतका सामग्री बरामद गरी जफत गरेको थियो । कामपाका प्रहरी प्रमुख पाण्डेका अनुसार महाबौद्ध र कालिमाटी क्षेत्रबाट सबैभन्दा बढी प्लास्टिकको माला भेटिएको थियो ।
कामपा प्रहरी उपरीक्षक दिनेश अर्यालले चारै क्षेत्रमा अनुगमनलाई जारी राखेको र टोलीले तिहारलगत्तै छठपछि पनि अनुगमन जारी राख्ने बताउनुभयो । कामपासँगै वाणिज्य विभागको टोलीले पनि अनुगान जारी राखेको छ ।

वातावरण विभागका सुचना अधिकारी सरोजा अधिकारीले विभाग र स्थानीय तहको संयुक्त टोलीले अनुगमन जारी राखेको जानकारी दिँदै अनुगमन गर्दा थोरै माला खरिद गरेर गुजारा चलाइरहेका व्यापारीलाई भन्दा पनि नेपालमा प्रतिबन्धित प्लास्टिकको फूलमाला र सजावटका सामग्री भित्र्याउने व्यापारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो।

यसअघि सरकारले गत वर्ष १२ साउनमा राजपत्रमा सूचना जारी गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो । त्यसलगतै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगका साथै प्लास्टिकको मालामा समेत पुर्ण प्रतिबन्ध लगाइएको थियो । त्यसैबेलादेखि प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयपछि पनि खुलम्खुला प्लास्टिकजन्य फूलमाला र सजावट सामग्री बिक्री भइरहँदा पनि खासै अनुगमन हुन नसकेको भन्दै सरकारी निकाय वातावरण विभाग र वाणिज्य विभागले असन्तुष्टि जनाएको छ ।

झण्डै ८ वर्षअघि पनि २०७२ साल बैशाख १ गतेदेखि लागु हुनेगरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो । तर, भूकम्पको कारण उक्त कार्यान्वयन हुन सकेको थिएन । गत वर्षबाट सो नियम पुनः लागु गरिएको हो ।

सर्वोच्च अदालतले २०७८ साल साउन २८ मा ४० माइक्रोनभन्दा कमका प्लास्टिकमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै मन्त्रालयले सो सम्बन्धी कार्यविधि तयार गरेको थियो ।

वातावरण विभागले २०७८ सालमा प्लास्टिक झोला र फूलको प्रतिबन्धसम्बन्धी कार्यायोजन तयार गरेको थियो । वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी नेपालभर ४० माइक्रोनभन्दा पातलो प्लास्टिकजन्य फल ीज्ञद्दगुच्छाको उत्पादन, आयात बिक्री वितरण र भण्डारण गर्न पूर्ण रोक लगाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न कामपाले अनुगमनलाई तीव्रता दिएको हो ।