काठमाडौं।
गाजा क्षेत्रमा हमासविरुद्ध प्रतिआक्रमण गरिरहेको इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको न्युज च्यानल एबीसीलाई सोमबार दिएको अन्तर्वातामा हमाससँग युद्धविरामको सम्भावनालाई ठाडै अस्विकार गरेका हुन् । हमासले बन्धक बनाएकाहरूको रिहा नभएसम्म कुनै पनि हालतमा इजरायलले युद्धविराम नगर्ने बताउँदै उनले आपतकालिन् राहतका लागि भने केही बेर युद्ध रोक्न सकिने बताए ।
अन्तर्वार्ताको क्रममा उनले भने– ‘त्यहाँको अवस्था हेरी आपतकालिन मानवीय सहायता गाजामा पठाउन र त्यहाँ हमासले बन्धक बनाएकाहरूको सहज बहिर्गमनका लागि हामी एक या दुई घण्टा युद्ध रोक्न सक्छौं । यस्तो काम हामीले पहिला पनि गरिसेका छौं ।’
यसअघि नेपालस्थित इजरायली दूताबासका राजदूत खनान गोदेरले पनि हमासले बन्धक बनाएका इजरायली तथा अन्य देशका नागरिकहरूको रिहा गरेर हतियार नबिसाएसम्म युद्ध नरोकिने बताएका थिए ।
गाजामा युद्ध समाप्त भएपछि कसले शासन गर्छ भनी सोधिएको प्रश्नको उत्तरमा इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षा जिम्मेवारीका कारणले उचित व्यवस्था नभएसम्म इजरायलले नै त्यहाँको शासन व्यवस्था हातमा लिने बताए । यसैबीच अमेरिकाको राष्ट्रपति कार्यालयले पनि अमेरिकी राष्ट्रपति जो बाइडेन र नेतान्याहुबीच सोमबार गाजामा रणनीतिक विश्रामका बारेमा छलफल भएको जनाएको छ ।
अन्तर्वार्ताका क्रममा इजरायली प्रधानमन्त्रीले इजरायलको गुप्तचर विभागको असफलताका कारण हमासले आक्रमण गरेको स्वीकारेका थिए । उनले भने– ‘आफ्नो नागरिकको सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो, जुन हामीले पूरा गर्न सकेनौं।’
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता १४ सय भन्दा बढी इजरायली नागरिकको मृत्य भएको छ । त्यसपछि शुरु भएको इजरायल–हमास युद्धमा दुबै पक्षका गरी ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया