डिल्लीराम मिश्र ‘कलमजीवी’
जहाँ जब मर्यादा पालन हुन्छ, त्यहाँ कानुन चाहिँदैन वा आवश्यकता पर्दैन, जब मर्यादा पालन हुँदैन तब कानुन लागू हुँदैन, अझ भनौँ कानुनको हदैसम्म उपहास हुन्छ । नेपालको आजसम्मको इतिहासमा मर्यादाको पतन अहिलेजति कहिल्यै पनि भएको थिएन । नेपाली समाजको राज्यसत्तामा अहिलेजति बेथिति, भ्रष्टाचार, दलालीतन्त्र, कमिसनखोर, राजनीतिक अपराधीककरण र अनुशासनहीनता कहिल्यै पनि भएको थिएन । यस अवस्थाको प्रमुख जिम्मेवार वर्ग भनेकै भ्रष्ट, दलाली र विभेदकारी सत्तासीन वर्ग नै हो, जो सधैँ राज्यसत्ता र यसको नजिक रहन्छ । एउटा शाश्वत कथन छ– माछा टाउकोबाटै कुहिन्छ र रुख टुप्पोबाटै मर्छ भनेजस्तै नेपालमा मर्यादा र नेतृत्ववर्गको पतन पनि राज्यसत्ताका उच्चतम वर्ग जसलाई नेपाली जनता हेर्न, देख्न र उनीहरुका बोली सुन्नसमेत चाहँदैनन् तर आज उनीहरु नै राज्यसत्तामा रजगज गरेर देश लुट्ने र जनतामाथि शोषण गर्न उद्यत् रहेका छन् । सङ्घीयताको यो नौटङ्की शासनसत्ताबाट पनि आम नेपाली जनताले कुनै प्रकारको सेवा–सुविधा प्राप्त गर्न सकेनन् ।
राज्यसत्ता सधैँ सीमित आफन्त र दलगत गुट–उपगुटहरुको लागि मात्र फलदायी भएको छ । अब यी गतिछाडा र मतिछाडा नेतृत्ववर्गको आयु धेरै लामो छैन भन्दा पनि हुन्छ । प्रजातन्त्रमा मतदाता कसैका दासदासी, कसैका एकलौटी पेवा र कसैका बिर्ता बन्न सक्दैनन् । उनीहरु जहिले पनि परिवर्तनकारी हुन्छन् । यसकारण नेपाल र नेपाली जनताको हितविपरीत भारतीय आँगनमा उनीहरुकै दासत्वमा प्रताडित १२ बुँदे दिल्ली सम्झौताको उपज आज देश लथालिङ्ग एवम् दर्दनात्मक अवस्थामा लरबराएको छ । विश्व इतिहासकै घटनाक्रम र निर्माणको पक्षमा एउटा दरिलो आधार के हो भने कुनै पनि क्रान्ति, जनक्रान्ति र प्रतिक्रान्तिको सङ्घर्षद्वारा विजय प्राप्त गरेका सबल शक्तिहरुले देशको राज्यसञ्चालनको नेतृत्व लिएका हुन्छन् ।
तिनै शक्तिहरुले देशमा राज्यसंरचनाको दिगो आधारशिला निर्माण गर्छन् । यस सबल पक्षमा धेरै पर नगए पनि नेपालका दुई छिमेकी मुलुक चीन र भारततर्फ एकपटक फर्केर हेरौं त– एकै दशकको हाराहारीमा स्वतन्त्र भएका भारत, चीन र नेपालमध्ये भारत र चीन यावत् विकासको दृष्टिमा आज कहाँ पुगे ? चीनले गरेको भौतिक र आर्थिक विकासले विश्वलाई नै चुनौती दिएको छ भने अङ्ग्रेजहरुले निर्माण गरेको दरिलो जगमा भारतले पनि चमत्कारी शैलीमा विकास गरेको छ । यतिखेर यहाँ उठान गर्न खोजिएको सवाल के मात्र हो भने भारत स्वतन्त्र भएपछि मुलुकको सबल नेतृत्व भारतीय नेता पं. जवाहरलाल नेहरु र लालहादुर शास्त्रीजस्ता विराट व्यक्तित्वले लिएका थिए ।
विचार र चिन्तनका प्रतिमूर्ति महात्मागान्धीले सत्ता सम्हालेनन् तर पं. नेहरु र शास्त्रीले झन्डै २० वर्षसम्म भारतमा राज्य सञ्चालन गरेर दिगोरुपमा प्रजातान्त्रिक संस्कार, संस्कृति, मूल्य–मान्यता र कानुनी राज्यको अवधारणालगायत विकासका थप पूर्वाधारको राम्रो स्थिति बसाले । त्यसै गरी चिनियाँ जनसांस्कृतिक क्रान्तिद्वारा चीनले स्वतन्त्रता प्राप्त गरेपछि महान् चिनियाँ नेताहरु माओत्सेतुङ, देङ्सियाओ पिङ र चाउएनलाएजस्ता युगपुरुषहरुको नेतृत्वमा चीनले सफलता प्राप्त ग¥यो ।
आज चीनले गरेको आर्थिक विकासको वृद्धिदर विश्वमै सबैभन्दा बढी छ । यसो हुनुमा पनि चीनमा युवा–जनशक्तिको सही परिचालन नै हो । यी मुलुकहरुमा पनि सक्षम र प्रभावकारी नेतृत्व वर्गकै सफलताको कुरा आउँछ । अहिलेका चिनियाँ राष्ट्रपति सी जिङपिङको सक्षम र सफल नेतृत्वले चीनलाई चमत्कारी मार्गमा अघि बढाएको छ । उनको नेतृत्व कति सन्तुलित र प्रभावकारी छ, जसलाई विश्व जनमतले नै स्वीकार गरेको तथ्य हो । २००७ सालमा जनक्रान्तिद्वारा संसदीय प्रजातान्त्रिक युगमा प्रवेश गरेको नेपालले २०४६ सालको जनआन्दोलनद्वारा पुनः बहुदलीय शासन व्यवस्था प्राप्त ग¥यो । जनआन्दोलनपश्चात् २०४८ सालमा सम्पन्न पहिलो संसदीय आम निर्वाचनमा नेपाली जनताको व्यापक समर्थनमा काङ्ग्रेसले बहुमत प्राप्त ग¥यो, तर देशकै अशुभ व्यक्ति गिरिजाप्रसाद कोइरालाकै कारण बहुमत प्राप्त दलभित्र उत्पन्न आन्तरिक कलह हुँदा जननिर्वाचित सरकार र संसद् विघटन हुन पुग्यो ।
देश, समाज र राष्ट्रको हितविपरीत जननिर्वाचित संसद् विघटनका कारण २०५१ सालपछिको राजनीतिक विकृतिको कारण आज निर्दोष नेपाली जनताले अझै पनि यो दुर्दिन भोगिरहनुपरेको छ । त्यसैले आजको देशको विकृतिको सम्पूर्ण सूत्राधार गिरिजाप्रसाद नै हुन् । कुनै पनि शासन व्यवस्थाले जनतालाई तीन कुराको प्रत्याभूति गरेको हुन्छ– पहिलो शान्तिसुरक्षा, दोस्रो आर्थिक विकास र तेस्रो सामाजिक न्यायजस्ता आधारभूत मानवीय पक्षमा सरकारले ध्यान केन्द्रित गरेको हुनुपर्छ, तर विगतका वर्षहरुमा जनताका समस्या समाधान गर्नेतर्फ कसैको पनि ध्यान गएन । नेपाली जनताको व्यापक जनसहभागितामा सम्पन्न जनआन्दोलन २०६२–०६३ पछि पनि नेताहरुको नियत, चरित्र र संस्कारमा खासै सुधार हुन सकेन ।
पात्रहरु फेरिए तर प्रवृत्ति, नियत र चरित्र भने उस्तै । देशले कहाँ गएर कस्तो निकास लिने हो, त्यो अझ पनि अन्यौलकै स्थितिमा छ । देशको दलगत संस्कृतिले नै यस्तो गुट–उपगुटको विकास गरेको छ । राज्यसत्ता दुरुपयोगकै कारण देशमा केही प्रगति गर्न सकिँदैन भन्ने निराशावादी सोच पठित अपठित युवाहरु ठान्छन् तर यो कस्तो विडम्बना ? नेताहरुको गलत चिन्तनको कारण समाज झनै अराजक बन्दै गएको छ । देशनिर्माणको सुदूर र निकट भविष्यमा पनि युवावर्गको भूमिका अझ बढी प्रभावकारी रहन्छ । आज देशमा नीतिहीन नेतृत्ववर्ग र गतिहीन
गन्तव्यका कारण युवा–जनशक्ति विदेश पलायन तीव्र समस्याको रुपमा देखा परेको छ । देशको अर्थतन्त्रमा चमत्कारी विडम्वनाको विकास के भएको छ भने प्रतिवर्ष विनियोजित विकास बजेट अर्थात पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको सावाँब्याज भुक्तानीमा बढी रकम खर्च हुने गरेको छ । यसैले यो मुलुकको अर्थतन्त्र असफलतातिर गएको नकारात्मक सङ्केत हो । सङ्घीय सरकारले हरेक आर्थिक वर्ष बजेट सार्वजनिक गर्दा घाटाबजेट प्रस्तुत गर्ने प्रवृत्ति कहाली लाग्दोरुपमा बढ्दै गएबाट मुलुकमा सार्वजनिक ऋणसमेत तीव्रगतिमा बढ्दै गएको छ ।
अहिलेको सरकारले चालू आवको लागि कुल बजेटमा स्रोत नपुग हुने रकम ४ खर्ब ५२ अर्ब ७५ करोड रुपियाँ ऋणमार्फत पूर्ति गर्ने लक्ष्य राखेको छ, तर विनायोजना यो कार्यान्वयन हुनेतर्फ सम्भव देखिँदैन । यस बजेटको नपुग स्रोत आपूर्ति गर्न २ खर्ब १२ अर्ब ७५ करोड रुपियाँ वैदेशिक ऋण र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाउने सरकारी लक्ष्य छ, तर पनि गत आवको गतिमतिको अवस्थालाई हेर्दा लक्ष्य पूरा नहुने निश्चित छ ।
यसबाट चालू आवमा झन्डै ५ खर्ब सार्वजनिक ऋण थपिने भएको छ । चालू आवको भदौ मसान्तसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड पुगेको छ । यसरी सरकारले तिर्ने सार्वजनिक ऋणभारलाई हेर्दा अहिले हरेक नेपालीको थाप्लोमा ८१ हजार रुपियाँ बराबर ऋण छ । यस्तो सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन जीडीपीको अनुपातमा निकै बढी हुनुको कारण यसले आफ्नो सीमा नाघिसकेको छ । सरकारले पछिल्ला वर्षहरुमा राज्यलाई ऋणको भार बढ्दै गएकाले देशको विकास निर्माणभन्दा ऋणको सावाँब्याज भुक्तानीलाई पहिलो प्राथमिकता दिनु आत्मघाती कदम हो ।
देश निर्माण र विकासको क्रममा एउटा गर्विलो प्रसङ्ग– आजका सत्तासीनहरु जुन आफ्नो ३४ बर्र्से शासनकाललाई पर पन्छाएर राणाशासन र पञ्चायत व्यवस्थालाई गालीगलोज गर्दै सत्तो सराप गरेर नथाक्ने वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीका दास मनोवृत्तिका खेतलाहरुले के बुझ्नु जरुरी छ भने श्री ५ महेन्द्रको ११ बर्से छोटो तर सक्रिय शासनकालमा नेपालको भौतिक पूर्वाधार विकासमा अद्वितीय योगदान भएको छ । उनले नेपाली राष्ट्रियताको संवद्र्धन र राष्ट्रिय एकताको निमित्त इतिहास–स्मरणीय कार्य गरेका छन् ।
उनको शासनकालमा नेपालले अन्तर्राष्ट्रिय जगत्मा स्थापित गरेको सन्तुलित कूटनीतिले एउटा स्वर्णयुग नै निर्माण ग¥यो । तत्कालीन नेपालको अन्तर्राष्ट्रिय शान–मान सरमाथाजस्तै उचो छ, तर अहिले समग्र नेपाल र नेपालीको हितका पक्षमा इमानदार एवम् आम नेपाली नागरिक उभियो भने उनीहरुलाई महेन्द्रवादीको दोषारोषण गर्ने क्रममा रामचन्द्र पौडेल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. प्रकाशशरण महत, डा. बाबुराम भट्टराई, अमिक शेरचन, रामनारायण विडारी, आङ्काजी सेर्पा, गोपाल गुरुङलगायतका दर्जनौं व्यक्तित्वहरुबाट अपमान भैरहेको छ ।
देशमा अर्बौंको भौतिक क्षतिमात्र हैन, गाउँ रित्तो बनाउनुको साथै १७ हजार निर्दोष नेपाली नागरिकलाई बलिको बोको बनाएर राष्ट्रको सम्पत्ति दोहन गर्न उद्यत्, तर देश र जनताको लागि केही नगर्ने यी कुलङ्घारहरुले एउटा तथ्यलाई बुझ्नु के पनि जरुरी छ भने श्री ५ महेन्द्रको शासनकालमा निर्माण भएका यावत् भौतिक पूर्वाधार विकासका संरचना अन्तर्गत पूर्व–पश्चिम राजमार्ग, पृथ्वीराजमार्ग, कोदारी राजमार्ग, सिद्धार्थ राजमार्ग र त्रिभुवन राजपथ देशको विकास मानचित्रबाट हटाइदिने हो भने अरु के नै पो रहन्छ र ? त्यसैले श्री ५ महेन्द्र जो एक महान् देशभक्त नरेश थिए, नेपालको रक्षाको खातिर उनले अविष्मरणीय देन दिएका छन् ।
उनी नेपालका मात्र हैन, परन्तु अन्तर्राष्ट्रिय जगत्का समेत राजनेता थिए । आज देशमा राजनीतिक पतनको अपराधीककरण उत्कर्षमा पुगेको छ । हरेक राजनीतिक दलहरुमा कुलिनहरुको दबदबा बढेको कारण तीनै तहका अदालतले गरेको सर्वस्वहरणसहित आजीवन जन्मकैदको सजाय तोकेका हत्याराहरुलाई राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठमा संविधानको उपहासस्वरुप आममाफी दिनुजस्तो आपराधिक कार्य भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेल नेपाली जनताका नजरमा कलङ्कित भएका छन् । दिउँसै मान्छे काट्ने हत्याराहरुको आम माफीमा पनि पैसाकै चलखेलको प्रसङ्ग छापाहरुमा उठ्ने गरेको छ ।
नेपालगन्ज धम्बोझी चोकमा दिउँसै खुँडा हानेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा १२ वर्ष सजाय माफी पाएका हत्यारा योगराज ढकाल अर्थात् गुण्डा नाइकेको प्रसङ्गसँगै सर्वोच्चको आँगनमा ढलिन् भारती, राष्ट्रपति रामचन्द्र पौडेलको दैलोमा ढल्यो देशको कानुन, यस आम माफीबाट पीडित महिला भारती चेतन मानन्धरकी पत्नी हुन् ।
मूलतः राजनीति देशको मूलनीति हो, तर नेपालमा यो नीति यति धेरै बदनाम भैसकेको छ, जसबाट नेपाली जनताले सुन्दर भविष्यको कल्पनासम्म गर्न छोडिसकेका छन् । राजनीतिले सम्मानजनकरुपमा सबै पक्षलाई माथि उठाउन सक्नुपर्छ, तर यहाँको नेतृत्ववर्गले देश र जनतामाथि घोडा चढेर निचोर्ने काममात्र गरिरहेको छ । निजी स्वार्थ, सत्तासङ्घर्ष र आ–आफ्नै आडम्बरको नाउँमा देश र जनताको महत्व नबुझेका लठुवाहरुले जनता भनेका केही पनि होइनन्, जनतामाथि जति शोषण गरे पनि हुन्छ भन्ने मानसिकताद्वारा ग्रस्त आजका जनप्रतिनिधिहरुबाट नेपाली जनताले के आशा गर्ने ? मुलुकको कुनै पनि क्षेत्रमा यहाँ त राम्रो काम भयो भनेर सन्तोष लिने र चित्त बुझाउने ठाउँ नै छैन । आज देशमा सङ्घीय लोकतन्त्र स्थापना भएको पनि १७–१८ वर्ष नाघिसकेको छ, तर नेपाली जनताको जीवनस्तर र देशको प्रगतिमा केही पनि सुधार हुन सकेन ।
अहिले देशमा भ्रष्टाचार यति मौलाएको छ, जुन ३४ वर्षको नेपालको इतिहासमै कहिल्यै भएको थिएन, आज अर्बौं अर्बको सङ्ख्यामा भ्रष्टाचार हुने गरेको छ । त्यसलाई नियन्त्रण गर्ने बाटोमा कुनै पनि सरकार हिँडेका छैनन् । एउटा चाखलाग्दो तथ्य के भने सन् १९६१ तिर दक्षिण कोरिया र नेपालको प्रतिव्यक्ति आय बराबर थियो, तर आज कोरियाको यावत् विकासका साथै प्रतिव्यक्ति आय झन्डै ३५ हजार अमेरिकी डलर पुगेको छ । प्रश्न उठ्छ, यतिखेर नेपाल कहाँ छ ? आज ५० हजारभन्दा बढी नेपाली युवाहरु कोरियामा गएर त्यहाँको विकासको निमित्त रगत–पसिना भिजाएका छन् ।
कस्तो विडम्बना हो यो ? सरकारको सत्ता उन्माद र विनायोजना कोरा भाषणबाट जनता आज आक्रान्त बनेका छन् । त्यो भन्दा पनि दुःखको कुरा पञ्चायत व्यवस्थाले आफ्नो विरासतको रुपमा जम्मा २९ अर्ब रुपियाँ वैदेशिक ऋण नेपाली जनतालाई छोडेर गएको थियो, तर आज २०४७–२०८० सम्म नेपालको विदेशी ऋण २ हजार ४ सय अर्बभन्दा बढी पुगेको छ, शायद गणतन्त्रको उपलब्धि यसैलाई भनिन्छ होला । त्यसैले एकल बहुमतको सरकार वा संयुक्त सरकार बने पनि आखिर सबैको उद्देश्य र नियत आफ्नो निजी स्वार्थ पूरा गर्नमा नै राष्ट्रको सम्पूर्ण समय र स्रोत परिचालन भएको तथ्य अब त सबै पठित–अपठित नेपाली जनताका सामु घामजस्तै छर्लङ्ग भैसकेको छ । त्यसैले जतिसक्दो चाँडो यी भ्रष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिदा गर्नु नै देश र जनताको लागि कल्याण छ ।
प्रतिक्रिया