डडेल्धुरा सदरमुकाममा नगरपालिकाको डोजर

0
Shares

डडेल्धुरा। 

डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्रका सबै घर संरचना हटाउन सोमबार डोजर चलाइएको छ ।
सडक विभागबाट मुआब्जा रकम बुझेर पनि घर धनी र व्यवसायीहरुले सडक क्षेत्रमा रहेका संरचना हटाउन अटेरी गरेपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटीले सडक क्षेत्राधिकार भित्र रहेका घर, टहरा, सिढी लगायतका सबै संरचना डोजर लगाएर भत्काउन थालेको हो । अमरगढी नगरपालिकाले बसपार्कमा रहेको तीन सटर भएको आफ्नै घर तोडेर अरुका संरचना समेत भत्काउन थालेको नगरपालिकाका सामाजिक शाखा प्रमुख लालबहादुर साउँदले बताए ।

सडकको बिच भागदेखि १५-१५ मिटर दायाँ-बायाँ भित्र बनेका घर, टहरा र अन्य संरचनाहरु डोजर लगाएर हटाउन सुरु गरेको अमरगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए । बागबजार क्षेत्रमा सर्वोच्च अदालतको फैसलापछी सडक डिभिजन कार्यालय डोटीले मुआब्जा बाँडेको थियो । मुआब्जा पाएका घरधनीहरुले संरचना  नहटाएपछि भत्काउन थालिएको हो ।

अमरगढी नगरपालिका, डिभिजन सडक कार्यालय डोटी र वडा कार्यालयले बारम्बार सूचना गर्दा समेत घरधनी र व्यवसायीहरुले अटेरी गर्दै आएका थिए । सडक छेउमा खोका छाप्रा बनाई फलफूल, तरकारी र दैनिक उपभोग्य सरसमान बेच्दै आएका व्यापारीका टहरा र सडक क्षेत्राधिकार भित्र बनेका संरचनाको मुआब्जा प्राप्त गरेका घरधनीहरुले संरचना नहटाएकाले डोजर लगाएर भत्काउनु परेको अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।

सोमबार बिहान साढे १०ः०० बजेदेखि अवैध संरचना हटाउन थालिएको उनले जानकारी दिए । डोजर लगाएपछि भने स्थानीयले संरचना भत्काउन सहयोग गरिरहेको अमरगढी नगरपालिकाले जनाएको छ । सडक छेउाका व्यवसायीहरुका लागि डडेल्धुरा उद्योग बाणिज्य संघको भवन नजिक सटरहरु निर्माण गरिन थालिएको छ ।

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपुर्जा पनि आइसकेको छ । बागबजार क्षेत्रमा ३०० मिटरमा सडक फराकिलो बनाउन सरकारले मुआब्जा बाँडेको थियो । तर घरपेटीले १५ मिटिर भित्रै सिढी राखेका थिए भने सटर अगाडी पुरानो सडक सम्ममै व्यापार व्यवसाय गर्दै आइरहेका थिए ।

पहिलो चरणमा एक सय छ जना र दोस्रो चरणमा दुई सय ८४ गरी कुल तीन सय ९० जनालाई मुआब्जा वितरण गरिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय डिभिजन प्रमुख सिनियर डिभिजनल ईन्जिनियर रमेश भट्टराईले जानकारी दिए । मुआब्जा बुझेर पनि सडक क्षेत्रमा रहेका संरचना नहटाइएकाले अमरगढी नगरपालिकासँग सहकार्य गरेर डोजर प्रयोग गरी संरचना हटाइएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।