नेता ली खछ्याङ: समृद्ध चीनको रोलमोडल

0
Shares

सन् २०२३ अक्टोबर २६ तारिखको बिहान एउटा समाचार पढेर मन चिसो र अमिलो बन्यो । जनवादी गणतन्त्र चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधनको खबर थियो त्यो । ली खछ्याङसँग मेरो भेटघाट वा चिनजान हैन, हुने कुरा पनि भएन । फेरि पनि उनको निधनको खबरले मुटु नै चिमोटिएजस्तो महसुस भयो ।

त्यसो त स्वर्गीय नेता ली खछ्याङ चीनको मात्र हैन विश्वकै थोरै महान् नेताहरुमध्येमै पर्ने व्यक्तित्व हो । चीनको समृद्धिमा राष्ट्रपति सी जिनफिङलाई साथ दिने एकजना विश्वासिलो सारथी । चीनलाई विश्वको शक्तिशाली राष्ट्र बनाउन सशक्त भूमिका खेल्ने पछिल्लो पुस्ताको एकजना सिद्धहस्त व्यक्तित्व ।

स्वाभाविक छ, ली खछ्याङको निधनमा मुटु चिमोटिएजस्तो महसुस हुनु । सम्मानित नेता ली खछ्याङसँग मेरो कुनै राजनीतिक वा पारिवारिक नाता थिएन । हामी कुनै पनि मानेमा निकट थिएनौँ तर हामी सबैभन्दा निकट थियौँ, किनभने हामीबीच समृद्धिको निःस्वार्थ नाता थियो । चीनको समृद्धि ली खछ्याङको सपना, दोलखा र सिंगो नेपालको समृद्धि मेरो सपना ! अब कसरी नहोस् हामीबीच निकटता र घनिष्टता ।

समृद्धि, मुलुक निर्माणको प्रमुख सूत्र, मुख्य सिद्धान्त र मुलुकको समृद्धिको लागि सकारात्मक र सक्रिय राजनीतिक नेतृत्व तथा क्रियाशील राजनेताको आवश्यकता । धेरै मुलुकका उदाहरण छन्, जहाँ नेताको सक्रिय र सकारात्मक भूमिकाले छोटो समयमा मुलुक समृद्ध बनेको छ । चीन त्यस्तै मुलुकमा पर्छ, जहाँ सन यात्सेन, माओत्सेतुङ, देङ सियाओ पेङ, सी जिनफिङ, जियाङ जेमिन र ली खछ्याङजस्ता सक्रिय र सकारात्मक नेता जन्मन सके ।

ली खछ्याङको अप्रत्यासित निधनले सिंगो चीन शोकमग्न छ । मेरो मन, मेरो मुटु चिमोटिएको छ, हामी सबैको मन, मुटु चिमोटिएको छ र सिंगो नेपालीको मन, मुटु चिमोटिएको छ । स्वाभाविक छ, उनको निधनले सिंगो चिनिया नागरिकको मन, मुटु चिमोटिएको छ । ली खछ्याङको जन्म सन् १९५५ मा भएको थियो । उनले चीन निर्माणको लागि १० वर्ष प्रधानमन्त्रीको भूमिकामा सक्रिय, सशक्त र सकारात्मकरुपमा काम गरेका थिए । सन् २०१३ मा जनवादी गणतन्त्र चीनको प्रधानमन्त्री बनेका स्वर्गीय नेता ली खछ्याङले २०२३ मार्चसम्म (चीनको बाह्रौँ र तेह्रौँ प्रधानमन्त्री) उक्त पदमा रहेर समृद्ध चीन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

चीनको समृद्धिको लागि मात्र हैन, ली खछ्याङले आफू प्रधानमन्त्री भएको बेला नेपालको समृद्धिमा दीर्घकालीन महत्व राख्ने केही योजनाहरु स्वीकृत गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७३ सालमा चीनसँग नेपालले पारवहन सन्धि, रेलमार्ग विस्तारजस्ता महत्वपूर्ण परियोजानमा सम्झौता गरिएको थियो । जसमा जनवादी गणतन्त्र चीनका तत्कालीन प्रधानमन्त्री सम्मानित नेता ली खछ्याङको महत्वपूर्ण भूमिका रहेको थियो ।

त्यसो त एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल, पानीजहाज, चीनसँगको पारवहन सन्धिजस्ता विषय उठाउँदा कतिपय जिम्मेवार नेता र बुद्धिजीवी भनिनेहरुले समेत त्यसको आलोचना गरेका थिए । तर यी विषय नेपालको समृद्धिसँग जोडिएको अत्यन्त आवश्यक र सम्भावना भएका विषय थिए । र, यो अभियान कुनै न कुनै दिन सम्भव हुने अभियान नै हो । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मुलुकको समृद्धिको विषयमा केही सपना देखेका थिए र उनको सपनामा चीनका राष्ट्रपति सी जिनफिङसँगै तत्कालीन प्रधानमन्त्री स्व. ली खछ्याङको सद्भाव, सहयोग र साथ रह्यो । त्यसैले उनका केही सपना पूरा भए, केही सपनामा सहमति भयो । त्यो सहमतिको विषय अहिले कहाँ पुगेको छ, खोजी गर्नु जरुरी छ ।

ली खछ्याङकै विषयमा चर्चा गरौँ, स्व. ली खछ्याङ चिनियाँ कम्युनिस्ट पार्टीको १७, १८ र १९ औँ केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिको सदस्य तथा राज्य परिषद्का पूर्वप्रधानमन्त्री थिए । १० वर्ष चीनको राज्य परिषद्को प्रधानमन्त्री हुँदा उनले समृद्धिको लागि जुन प्रकारको आर्थिक नीति अघि सारे, त्यसैको परिणाम हो अहिलेको चीन । राष्ट्रपति सी जिनफिङको सोच, दृष्टिकोण र जनताप्रतिको समर्पणमा ली खछ्याङको आर्थिक नीति एउटा दरिलो खम्बा थियो । उनले ल्याएको आर्थिक नीतिलाई चीनमा लिकोनोमिक्स नै भनिन्थ्यो । उनी बजारको अध्ययन गर्थे र सोही अनुसारको नीति ल्याउने गर्थे । लगानीकर्ताहरुलाई केन्द्रमा राखेर आर्थिक नीति बनाउने ली खछ्याङले प्रविधिलाई उच्च प्राथामिकता दिएका थिए ।

कोरोना भाइरस कोभिड–१९ को शुरुवात चीनको उहानबाट भएको थियो । कोरोना महामारीले चीनलाई निकै थकायो । दुई वर्ष कोरोना महामारीको सामना गर्नुपर्दा चीन आर्थिकरुपमा झन्डै–झन्डै तहसनहसको अवस्थामा पुगेको थियो । यस्तो विषम परिस्थितिमा उनै सरल तर महान् नेता ली खछ्याङको परिपक्व आर्थिक नीतिकै कारण चीनले समृद्धिको उचाइबाट तल झर्नुपर्ने अवस्था आएन ।

कोरोना महामारीपछि म चीनको उहान पुगेको थिएँ, जहाँबाट यो महामारीको शुरुवात भएको थियो । तर उहानको समृद्धि हेर्दा यस्तो लाग्थ्यो कि त्यहाँ कहिल्यै कुनै समस्या नै भएको थिएन । ली खछ्याङको प्रविधि मैत्री आर्थिक नीतिले उहानलाई यति छिटो रिकभर गरेको थियो कि कोरोना महामारीको भयङ्कर पीडा भोगेको त्यो शहरमा कहीँ–कतै पनि कोभिड–१९ को बाछिटा बाँकी नै थिएन ।

चलायमान बजार, सवारीसाधनको चाप, पार्क र रेस्टुरेन्टहरु आन्तरिक पर्यटकबाटै भरिभराउ, हँसिला र ऊर्जावान् नौजवानहरुको चहलपहल, स्वच्छ, सफा र हरियाली वातावरण, उहान साँच्चै समृद्धिको टावर बनेर चम्किरहेको थियो सिंगो चीनभरि, जसरी रात्रिकालीन समय उहानको चु नदी गोलघरको लाइटले चम्किरहेको हुन्थ्यो । अहिले हामी चीनको जुनसुकै प्रान्त वा स्टेटमा पुगौँ, ती हरेक प्रान्त र स्टेटका हरेक ठाउँ विश्वमै विकासको अनुपम उदाहरण बनेका छन् । धेरैलाई चीन कम्युनिस्ट शासन भएको मुलुक आर्थिक नीति, मानवअधिकार, राजनीतिक अधिकार सबै कुण्ठित छन् होला भन्ने लाग्ने गरेको छ । तर वास्तविकतामा त्योभन्दा भिन्न छ चीन । चीनमा हरेक नागरिक स्वतन्त्र छन्, आफ्नो अधिकारको विषयमा ।

उनीहरु अनुशासित छन्, आफ्नो काम, आफ्नो जिम्मेवारी पहिलो कतव्र्य ठान्छन् र आफ्नो जिम्मेवारी पूरा गरेपछि घुमफिर, रमाइलो र खानपिनमा समय खर्चन्छन् । मुलुकको समृद्धिको लागि अनुशासन, मेहनत, जिम्मेवारी र सम्मान तथा सद्भावको संस्कृति आवश्यक हुन्छ भन्ने कुरा चीनको चमत्कारी विकासले पनि देखाएको छ । चीनका हरेक नागरिक अनुशासित छन्, मेहनती छन्, सम्मान र सद्भावको संस्कृतिबाट प्रशिक्षित छन् ।

चीनमा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, प्रविधिको चमत्कारी विकासको नमुना प्रशस्तै छन् र ती ठाउँमा सयौँ, लाखौँ आन्तरिक पर्यटक पुगेका छन् । चिनियाँहरुलाई आर्थिक, सामाजिक, राजनीतिक विकासको लागि परनिर्भर बन्नुपर्ने आवश्यकता नै छैन । र, यो नमुनायोग्य विकासको मोडल तयार गरी कार्यान्वयन गर्ने कुरामा राष्ट्रपति सी जिनफिङलाई पूर्वप्रधानमन्त्री स्व. ली खछ्याङले साथ दिएका हुन् । वास्तवमा ली खछ्याङ समृद्ध चीनको रोलमोडल नै थिए ।

पूर्वप्रधानमन्त्री स्व. ली खछ्याङले सात वर्ष (सन् १९९८ देखि २००४ सम्म) हेनान प्रान्तमा काम गरेका थिए । हेनानको विकास र त्यहाँको जनताको जीविकोपार्जनमा ली खछ्याङले खेलेको भूमिका स्मरणीय थियो । जति बेला ली खछ्याङको मृत्युको खबर फैलियो, हेनानका जनता भर्खर क्षितिज पारिबाट उकालिँदै गरेको सूर्योदयलाई नियालेर आफ्नो दैनिकीमा लम्किरहेका थिए । उनीहरुको पाइला अनायासै गरुङ्गो भयो अनि हठात रोकिए ती पाइलाहरु । र, उनीहरुले धेरै दिनसम्म पीडाबोधका साथ कामबाट विश्राम लिए ।

हेनानमा सात वर्ष काम गर्दा ली खछ्याङले त्यहाँको प्रान्तीय पार्टी कमिटीको गभर्नर र सचिवको जिम्मेवारी पूरा गरेका थिए । उनलाई हेनानवासीले कमरेड केकियाङ भनेर चिन्दथे । उनको खुला आर्थिक नीतिका कारण हेनानले छोटो समयमा विकासका चमत्कारी उदाहरण प्रस्तुत गर्न सक्यो । र, त्यही अनुभवले ली खछ्याङलाई १० बर्से प्रधानमन्त्री कालमा परिपक्व नजिर बनेर साथ दिइरह्यो ।

हेनान एकेडमी अफ सोसल साइन्सका पूर्वअध्यक्ष यु सिनानले मार्च २०२३ मा एउटा लेख लेखेका छन्– ‘कमरेड केकियाङ केन्द्रीय मैदानको उदयका संस्थापकहरुमध्ये एक हुन्’ भन्ने शीर्षकमा । यु सिनानको उक्त लेखमा केकियाङ अर्थात् ली खछ्याङको विवेक, विशेषता र बुद्धिमताको मुक्तकण्ठले प्रशंसा गरिएको छ । किनभने स्व. ली खछ्याङले काम नै त्यस्तो गरेका थिए कि कोही पनि उनको प्रशंसा नगरी रहनै सक्दैनथे । म गम खाँदै छु, यु सिनानले जस्तै मैले पनि मेरो देशको नेताको बारेमा प्रशंसाका शब्दहरु खर्चंदै समृद्धिको उदाहरण कहिले लेख्न सक्छु होला !