औषधी कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

0
Shares

एजेन्सी।

भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधी कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

आगलागीमा परी कैयौँ व्यक्ति हराइरहेको बताइएको छ । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भएपछि आगलागी भएको थियो ।

यस घटनापछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार्यका लागि घटनास्थलमा पठाएका थिए ।

“आज बिहानसम्म सात जनाको शव निकालिएको छ”, एक अधिकारीले भने, “घाइते भएका सात जनालाई अस्पताल भर्ना गरिएको छ । यसबाहेक बेपत्ताको खोजी कार्य जारी छ ।” अनुसार विस्फोटको समयमा औषधि कारखानामा करिब दुई दर्जन मानिस उपस्थित थिए । घटनाको सम्बन्धमा अनुसन्धान शुरू भइसकेको प्रहरीले जनाएको छ ।