विदेश जान छोडेर फूल खेती

चार महिनामा झन्डै ८ लाख आम्दानी 

42
Shares

दोलखा। 
दोलखाको शैलुङ– ७ फस्कुमा पाँच जना युवा मिलेर फूल खेती सुरु गरेका छन् । स्थानीय भूषण कार्की, सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङले २०८० साउनबाट शैलुङ– ७ फस्कु निमाटारमा फूल खेती सुरु गरेका हुन् ।

फूल खेती सुरु गरेकोे चार महिनाको अवधिमा विभिन्न जातको सयपत्री फूल बिक्री गरेर झन्डै आठलाख कमाई भएको भूषण कार्कीले बताए । पाँच जना मिलेर १० लाख ऋण लिई ६५ रोपनी जग्गामा फूल खेती सुरु गरेका छौ, पाँच भाइ मध्यका भूषणले भने– चार महिनाको अवधिमा झन्डै आठलाखको फूल बिक्री भएको छ । मेहनत गर्ने हो भने फूल खेती आम्दानीको राम्रो स्रोत बन्न सक्ने भूषण बताउछन् ।

फूलखेतीको योजना भूषणले नै बनाएका हुन् । एक बर्ष अघिमात्र नेपाल आर्मीको जागिरबाट अवकास भएका भूषण अब के गर्ने भन्ने सोचमा थिए । आफूले नेपाल आर्मीमा जागिर खाएकै बेला कृषि सम्बन्धी विभिन्न तालिम लिएकोले कृषिसँग सम्बन्धित फूल व्यवसाय राम्रो हुन्छ भन्ने लागेर चार जना साथीहरूसँग सल्लाह गरी काम सुरु गरेको भूषणले बताए ।

उनीबाहेकका चार जना सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङ रोजगारीको लागि विदेश जाने तयारीमा थिए । आफूले फूल खेतीसम्बन्धि योजना बनाएर उनीहरुलाई सुनाउदा सहमत भै विदेश जाने तयारी छोडेर यसैमा लागेको भुषणको भनाई छ । चार जना मध्य दुई जना साथीहरु रोजगारीको लागि एक पटक विदेश गै सकेको पनि उनले बताए ।

विदेशमा जतिनै मेहनत आफ्नै घर– गाउँमा गर्ने हो भने परिवारसंग रमाएरै राम्रै आम्दानि गर्न सकिने विश्वास आफुहरुमा रहेको फूल खेतीमा सहभागी अर्का युवा सागर वस्नेतले बताए ।

उनीहरुले फूल खेतीको लागि अनुभव कृषि तथा पशुपंक्षि कृषि फर्म दर्ता गरेका छन् । अहिले कलकत्ते टेन्स बल सयपत्री र स्थानीय रैथाने जातको सयपत्री गरी आफूहरूसँग ८५ हजार भन्दा बढी बिरुवा रहेको भूषणले बताए । कलकत्ते टेन्सबल सयपत्री एक केजीको ६५ हजार तिरेर भारतको कलकत्ताबाटै ल्याइएको भूषणले बताएका छन् ।

उनीहरुले एक केजी सयपत्री फूलको दुई सय रुपैयाँमा बिक्री वितरण गर्दै आएका छन् । तयारी माला भने एक मीटरको एक सय रुपैयाँमा र लगाउने माला प्रतिगोटा एक सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने उनीहरुले बताएका छन् । तिहारमा ४० हजार केजीसम्म बिक्री गर्न सकिने अनुमान गरेको उनीहरुको भनाई छ । आफ्नो फर्ममा नर्सरी समेत रहेको र कटिङ गुलाफ, बेमौसमी सयपत्री लगायतका फूल समेत हुने भूषणले बताए ।

पाँच भाइ मध्यका भूषण कार्कीले फूलखेतीसंगै १५ सय बोट सुन्तला, अलैची र रातो च्याउको खेती समेत सुरु गरेका छन् ।