जलवायु परिवर्तनलाई रोक



जलवायु परिवर्तनका कारण नेपाललगायत विश्वले भोग्नुपरेको पीडाका बारेमा ठूला–ठूला छलफल भए पनि त्यसको समाधानमा भने कसैले चासो दिएको पाइँदैन ।

नेपाल जलवायु परिवर्तनको मारमा परेको छ । दुई छिमेकी मुलुक चीन र भारतमा उत्पादन भएको कार्बनका कारण नेपाल त्यसको मारमा परेको छ ।

नेपालमा ठूला उद्योग, कलकारखाना नभए पनि दुई ठूला छिमेकी मुलुकले उत्पादन गरेको कार्बनका कारण नेपालका हिमताल तथा हिमालहरुमा प्रत्यक्ष असर परेको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउन आग्रह गर्नुले पनि नेपाल यसबाट पीडित बन्दै आएको प्रस्ट हुन्छ ।

चार दिने नेपाल भ्रमणका क्रममा एन्टोनियोले ठूला राष्ट्रले उत्पादन गरेको कार्बनका कारण नेपाललगायतका गरिब राष्ट्रहरु मारमा परेकाले जलवायु परिवर्तनलाई कम गर्न सबै एक भएर अघि बढ्न आग्रह गरे पनि ठूला भनिएका मुलुकहरु भने यसको रोकथामका लागि तयार भएको नदेखिनुलाई दुःखद पक्ष मान्नुपर्दछ ।

ठुला मुलुकहरुले कार्बन उत्सर्जन गर्ने मुलुकलाई दिने सहायतामा समेत पक्षपात गर्ने गरिएकाले नेपालजस्ता मुलुक पीडित बन्दै आएका छन् । जलवायु परिवर्तनका कारण विश्वको तापमानमा समेत वृद्धि भएको छ । यसले विश्वलाई पारेको असरका बारेमा छलफल भए पनि यसको प्रभावकारी नियन्त्रणका लागि भने खासै पहल भएको पाइँदैन ।

कार्बन उत्पादन गर्ने मुलुकले यसमा ध्यान नदिने हो भने विश्वमा एकदिन ठूला महाप्रलय नआउलान् भन्न सकिँदैन । जलवायु परिवर्तनका कारण विश्वभर नै भिन्न–भिन्न प्रकारको समस्या देखा पर्दै आएकाले यसको रोकथामका लागि राष्ट्रसंघले पहलकदमी लिए पनि यसका लागिगर्नुपर्ने काममा खासै अघि बढेको देखिँदैन ।

जलवायु परिवर्तनबाट पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनका लागि धेरै कोष भए पनि त्यसको उचित प्रयोग नहुनु, त्यस्ता कोषहरुको प्रयोगमा देखिएको बेथितिले गर्दा पीडितहरु थप पीडामा परेको अहिलेको अवस्थालाई राष्ट्रसंघले पहलकदमी लिनुपर्ने देखिन्छ ।

नेपाल भ्रमणमा रहनुभएका महासचिव एन्टोनियोले नेपालका हिमालहरु संकटमा परेको र यसलाई बचाउनका लागि आफूले पहलकदमी लिने कुरा बताउनुले नेपाल यसको मारबाट बच्न सक्छ कि भन्ने झीनो आशा गर्ने ठाउँ पलाएको छ । जे होस्, नेपालजस्ता मुलुक जलवायु परिवर्तनको मारमा पर्न नदिन विश्व समुदायले फेरि एकपटक आवाज उठाउनुपर्ने बेला आएको छ ।

यसका लागि नेपाली शासकहरुले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्ना भनाइहरु दर्बिलोरुपमा राख्नुपर्ने देखिन्छ । ठूला र धनी राष्ट्र रिसाउलान् कि भन्ने भ्रमबाट मुक्त भएर देश जोगाउने काममा शासकहरु लाग्न सके नेपालका हिमताल र हिमालको संरक्षण गर्न सकिने थियो कि !

प्रतिक्रिया दिनुहोस्