बालापनको दशैँको रौनक र हराउँदै गएको संस्कृति

0
Shares

चरिकोट अब त शहर भएको छ । उप्m ! धुवाँ, धूलो, असरल्ल सवारीसाधन, मानिसको भीड । म रमाउने गरेको चरिकोट अब कहाँ रह्यो र ? झन् अहिले त दशैँको रौनक । फूलपातीसम्म त मानिस छलेर हिँड्नै हम्मेहम्मे पर्छ चरिकोटमा, त्यसपछि पूर्णेसम्म सुनसान ।

चरिकोटमा आजकालको भीडभाड देख्दा म ४० वर्षअघिको पाइप गुडाएर हिँड्ने त्यो गोरेटो खोजिरहेको छु । अनि त्यति बेलाको दशैँको दैनिकी सम्झिरहेको छु । कक्षा चारबाट उकालो लाग्दै जाँदा मेरो दैनिकी घरको आँगनीमा आमाको फेरो समाएर भाँडाकुटी खेल्ने रहरबाट पाइपको मोटर बनाएर मध्यसडकमा गुडाउने तहमा विकास भैसकेको थियो ।

गोरेटोलाई खोस्रिएर सडक बनाउने जमर्को भैरहेको चरिकोटमा निस्फिक्री पाइपको मोटर गुडाउन पाउँदा न भोकको आभास, न भविष्यको त्रास । चार बजे घण्टीको आवाजसँगै स्कूलबाट खुरुरुरु दौडँदै घरको छिँडीमा आएर फ्यात्त झोला फ्याँक्यो अनि पाइपको मोटर टिपेर कुलेलम । पाइप गुडाएर सातदोबाटो र पशुपति डाँडाको फन्को लगाउँदा गलेर लखतरान । के के न काम गरेर आएजस्तो घरमा आमालाई दङ्गाएर सके दूध–भात नै खान खोज्ने । अहा ! कति लोभ लाग्दो समय । खेल्नलाई साथी नि नचाहिने, समय नि नचाहिने । पाइप नै साथी, पाइप नै संसार !

दशैँको त झन् कुरै नगरौँ । वर्षदिनमा एकपटक नयाँ लुगा लगाउन पाउने खुशीले पूरै शरीरमा अनौठो कम्पन । आमाले कता–कताबाट पैसाको जोहो गरेर मलाई प्रत्येक वर्ष नयाँ लुगा किनिदिनुहुन्थ्यो । तर समयमा नयाँ लुगा तयार नहुँदा भने बाल आक्रोश खपिनसक्नु । घरबाट त्यही सय मिटरको दूरीमा हामीलाई नयाँ लुगा सिलाइदिने मामाको घर थियो । नयाँ लुगा सिलाउन जति दिनअगाडि दिए पनि टीकाको दिन बिहानैबाट केही घण्टा ती मामाको घरमा धर्ना नदिँदासम्म लुगा तयार हुन्छ भन्ने नचिताए पनि हुन्थ्यो ।

रिसले ¥याल–सिँगान हुँदै नयाँ कपडा च्यापेर घरतिर दौडँदा मनमा बिस्तारै खुशी फर्कन्थ्यो । अनि नयाँ कपडा फेरेर पैसाको आशमा पुरानो बजारको घर–घर टीका थाप्न जाँदाको रमाइलो शब्दमा कसरी बयान हुन्छ र ? खासमा बाल अवस्थामा नाता न गोता घर–घरमा पुगेर टीका थाप्नुको अर्थ ठूलासँग आशिर्वाद थाप्ने कुरासँग सम्बन्धित हुँदैन थियो । कसरी हुन्छ धेर पैसा बटुलेर चकलेट खाने, नयाँ कपडा किन्ने, खेलौना किन्ने कुरासँग सम्बन्धित हुन्थ्यो । तर त्यसले कता–कता समाजका सबैसँग एक प्रकारको आत्मीय सम्बन्ध विस्तार गरिरहेको हुन्थ्यो । संस्कारको निरन्तरता, सभ्यताको विकास र संस्कृतिको संरक्षणमा टेवा पुगिरहेको हुन्थ्यो ।

अहिलेको दशैँमा म बजारलाई नियाल्छु । नयाँ कपडा लगाएर हातेमालो गर्दै हिँड्ने युवतीहरुको हूलले बजार छपक्क छोप्छ । दशैँको उत्साह त अहिले पनि देखिन्छ, बालबालिका र युवायुवतीहरुमा । तर त्यति बेला रिसले ¥याल–सिँगान हुँदै घण्टौँ पर्खिएर लगाएको नयाँ कपडा र अहिले फेन्सी पसलमा पसेर किनेको रेडिमेड कपडाको मोह अनि महत्व आकाश–जमिन फरक छ । आफ्नो शरीरको नापमा टिमिक्क मिलाएर सिलाएको कपडा र कसको–कसको नाममा तयार गरिएको रेडिमेड कपडाले दिने चमक कहाँ उस्तै हुन्छ र ?

अहिले त संस्कार, सभ्यता र संस्कृतिमा समेत स्खलन आइसकेको छ । टोलभरिका आफन्त भेला भएर पुरानो बजारको ठूलो पाटो भएको बारीमा राँगो काटेर भाग लगाएको देख्दा सामाजिक एकता झल्कने आभास हुने त्यो समय र पसलमा पुगेर फ्रिजमा भएको मासु किनी दशैँ मनाउने यो समय कसरी एउटै हुन सक्छ ? समयलाई रोक्न सकिन्न, परिवर्तनशील छ । तर परिर्वतनले सामाजिक एकता, सांस्कृतिक विचलन र आपसी वैभव निम्त्याउँदा नेपालीपन हराउँदै जाने डर भएको छ ।

त्यति बेलाको दशैँमा चरिकोटमा सबै आफन्त जम्मा हुन्थे । चहलपहल बढ्थ्यो । आफन्तहरु भेटघाट गर्थे र आफ्नो कर्मको फेहरिस्त सुनाउँदै आत्मीयता साट्थे । अब त चरिकोटमा दशैँ बोलाउन आउने मानिसले फूलपातीसम्म झिझारिलो भीड बडाउँछ अनि अष्टमी, नवमी हुदै दशैँको टीकाको दिनसम्ममा सुनसान । अब त चरिकोटका घरहरुमा अष्टमी तथा नवमीमा बोका काट्ने प्रचलन लगभग निमिट्यान्न भैसकेको छ । दशैँमा सुकाएर राखेको खसीको मासु तिहारमा मूलासँग मिसाएर खान्थे भन्दा अहिलेको पुस्ताले सत्य युगको कुनै दन्तेकथा सुनाएजस्तो ठान्न थालिसकेका छन् ।
लिङ्गे पिङ र लोटेपिङ पनि अब कहानी हुन थालिसकेको छ चरिकोटमा । बच्चाहरुले पिङको साह्रै हत्य गरे बरण्डामा डोरी टाँगेर मच्चिने व्यवस्था गरिएबाहेक टोल–छिमेकका सबै जम्मा भएर आपसी सद्भाव बाँड्दै टीकाको दिन भुइँ छोड्ने परम्परा त हराइसकेको छ ।

म हुर्केको, बढेको मामाघरमा हरेक दशैँमा कमेरो छ्याप्दा कस्तो रौनक छाउँथ्यो । घरमा सखारै कमेरो आइपुग्दा अब दशैँ आउन लागेछ, नयाँ लुगा र पैसा आउने भयो भनेर बाल मस्तिष्क साह्रै रमाउँथ्यो । कमेरो छ्याप्ने बेला एउटा कोठाको सामान अर्कोतिर सार्न कति रहर लाग्ने । आमाले तँ जान्दैनस्, सक्दैनस् भनेर हकार्दा पनि जबर्जस्ती गर्नुपर्ने । सानुबुबा, मामा, दाजुहरुसँग बसेर भुटेको मकै र मूला खाँदै पारिलो घाममा तास खेलेको सम्झना पनि कम्ती प्रिय छैन । विशेष अवसरमा रमाइलोको लागि खेलिने तासले विकृति हैन, विश्वास बढाउँथ्यो ।

अहिले त दशैँ आउनै पर्दैन, दशैँको नाममा सधैँ दशा निम्त्याउन तल्लीन हुन्छन् नौजवानहरु । विश्वास बढाउने हैन, विकृति बढाउने तहमा पुगेको छ खेलबाड । दशैँ अहिले पनि आउँछ प्रत्येक वर्ष त्यसै गरी, जसरी विगतका वर्षहरुमा आउने गथ्र्यो । चरिकोट शहर भएको छ, म प्रौढ भएको छु । त्यसैले दशैँको परम्परा फेरिएको छ । अब मलाई घर–घरमा पुगेर मान्यजनको हातबाट टीका थाप्ने जाँगर छैन ।

किनभने अहिले हामीसँग सभ्यता र संस्कार छैन । पर्वलाई परम्परासम्म पनि ठान्न छाडिसकेका छौँ हामीले । ऊ बेला चरिकोटको सातदोबाटोमा रहेको लाँकुरीको रुखले सभ्यता प्रतिविम्बित गथ्र्यो । अब लाँकुरीको रुखमात्र ढलेको छैन, सातदोबाटो हुँदै भित्रिएको विकृतिले सभ्यतालाई थिलथिलो बनाएको छ, संस्कारलाई विकृत र संस्कृतिलाई विचलित पारिदिएको छ ।

दशैँमा घर पोत्न कमेरो बोक्ने ती पौरखी हातहरु कहाँ गए होलान् ? घण्टौ कुराएरै भए पनि नेपालीपनको सुहाउँदो पहिरन बनाउने ती मामाको सीप किन बाँडिएन होला ? ठूलो बारीको पाटोमा जम्मा भएर राँगो भाग लगाउने एकता किन हराएको होला ? त्यो समय त फर्कंदैन, त्यो दशैँ त फर्कंदैन । के त्यो सभ्यता, संस्कार, संस्कृति र एकता फर्काउन सकिन्न ? अबका हरेक दशैँमा म चरिकोट शहरको खुला सडकमा त्यसै गरी पाइपको मोटर गुडाउन चाहन्छु । आत्मीयता बढाउन प्रत्येक मान्यजनको घरमा पुगेर टीका थाप्न चाहन्छु । पैसा जोहो गरिदिन मेरी आमा छैनन्, त्यसैले नयाँ लुगा नभए पनि सभ्यताको दशैँ मनाउन चाहन्छु ।