विश्वमा बर्सेनि १ करोड ५० लाख मानिस मष्तिष्कघातबाट पीडित 



काठमाडौँ। 

विश्व मष्तिष्क घात दिवस नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइयो ।

दिवसका अवसरमा आइतबार रत्नपार्कको शान्ति वाटिकामा नेपाल पक्षघात संघ, नेपाल स्ट्रोक प्रोजेक्ट र ग्राण्डी इन्टरनेशनल अस्पतालले जनचेतनामूलक कार्यक्रम रत्नपार्कबाट प्रभातफेरि शुरुगरि टुँडिखेलको परिक्रमा गरी रत्नपार्क शान्ति बाटिकामा पुगी अन्तर्क्रियामा परिणत भएको थियो ।

कार्यक्रममा मस्तिष्कघात तथा स्ट्रोक के हो भन्ने बिषयमा वरिष्ठ न्यूरोलोजिष्ट डा.लेखजंग थापाले मष्तिष्कघातले रक्त प्रवाहमा अवरोध भएपछि हुने समस्या हो भने । उनले मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुटेर स्ट्रोक हुने बताए ।

डा.थापाले सन् २००४ को अक्टोबर २९ बाट नेपालमा मनाइँदै आएको मष्तिष्क दिवस पहिलो पटक सार्वजनिक थलोमा गर्दा यथार्थ जनचेतना मूलक भएको भान भयो भने । उनले भने, मष्तिष्कघातको अवस्था केही मिनेटसम्म रहिरहेमा मस्तिष्कका कोशिकाहरु मर्छन् र समयमै उपचार नपाएको खण्डमा बिरामीको ज्यान समेत जान सक्दछ ।

मस्तिष्कघात भएका धेरै जसो बिरामीलाई पक्षघात पनि हुने हुँदा यस रोगलाई पक्षघात, लकुवा अथवा प्यारालाइसिस जस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ ।
यस्ता बिरामीलाई जति सक्दो छिटो उपचार गर्न सके मात्रै ज्यान बँचाउनु साथै मष्तिष्कघातको जटिलताबाट जोगाउन सकिन्छ ।

वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड ५० लाख मानिस मष्तिष्कघातबाट पीडित हुन्छन् । प्रभावित मध्ये ५० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने ५० लाख बिरामी अशक्त जीवन जिउन बाध्य छन् । अमेरिका जस्तो विकसित मुलुकमा ४ मिनेटमा १ जनालाई गम्भीर खालको मष्तिष्कघात हुन्छ । ४ जना मध्ये १ जनामा कुनै न कुनै प्रकारको मष्तिष्कघात हुने गरेको पनि उनले बताए ।

वीर अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा.अविनाश चन्द्रले मष्तिष्क घातको बढ्दो क्रमसँगै विश्वमा मृत्युको दोस्रो ठूलो कारण मष्तिष्कघात बन्दैछ । मष्तिष्कघात, पक्षघातलाई पनि हार्टयाट्याकलाई जस्तै प्राथमिकतामा राखी उपचार गर्नका लागि जनचेतना र सरकारको आर्थिक सहयोगको खाँचो रहेको बताए ।
उनले मष्तिष्कघातका बिरामी मुटुको समस्या जस्तो समयमै अस्पताल पुग्दैनन् र उपचार समयमा नहुँदा पक्षघात हुने र ज्यानै समेत जाने गरेका घटना बढ्दो क्रममा रहेकाले जनचेतनाका लागि सबैले लाग्नुपर्ने बेला आएको बताए ।

 दुईप्रकारको मष्तिष्कघात हुने र त्यसमा पनि पहिलो,  ‘स्केमिक स्ट्रोक’ जहाँ मस्तिष्कमा भएका रक्तनलीहरुमा अन्य कुराहरु जस्तै बोसो (कोलेस्टेरोल), रगतको ढिक्का जम्मा हुने र त्यसले रक्तनली बन्द गर्ने हुनाले मष्तिष्कको तन्तु मर्छ र मष्तिष्कघातको लक्षण देखापर्छ ।

त्यस्तै दोस्रोमा ‘हेमोरेजिक स्ट्रोक’ ले रक्तनली बेलुन जसरी फुल्ने या फुट्ने हुन्छ । यस्ता समस्या विशेषगरि उच्च रक्तचाप भएका व्यक्तिहरुमा हुने जानकारी गराइयो ।

विज्ञहरुका अनुसार पक्षघातका बिरामीमध्ये ८० प्रतिशतलाई ‘स्केमिक स्ट्रोक’ हुने गर्दछ भने २० प्रतिशतलाई हेमोरेजिक स्ट्रोक हुने गर्छ ।

मष्तिष्कघातका लक्षणहरु

शारीरिक सन्तुलन गुम्नु, आँखा धमिलो हुनु, ज्योती गुम्नु, मुख बाँगो हुनु, शरिरको एकतर्फ लुलो हुनु, दुख्नु, झमझमाउनु, बोली लरबराउनु र रोकिनु प्रमुख कारण हुन । यस्ता लक्षण देखिनासाथ तत्काले चिकित्सकको सल्लाह लिई सुविधा सम्पन्न अस्पताल लैजानुले बिरामीलाई प्यारालाईसिस ( पक्षघात हुनबाट जोगाउन सकिने स्वास्थ्य विज्ञहरुले जानकारी गराएका थिए ।

मस्तिष्क भित्रको रगतको नशा धमनी बन्द भएर या फुटेर दिमागमा रगत बगेर रक्तकोषमा क्षति पुग्ने क्रमलाइ ब्रेन अट्याक्ट भनिन्छ । ब्रेन अट्याक्ट दुई प्रकारको हुन्छ । हेमरेज स्ट्रोक र  स्केमिक स्ट्रोक । हेमरेज स्टोक भनेको उच्च रत्तचाप भएर ब्रेनभित्र रगत जमेर हुने स्ट्रोक हेमरेज स्ट्रोक हो भने रगतको नशा बल्क भएपछि रगत जान नपाएर  अक्सिजन ब्रेनको सेलमा नपुगेपछि सेलहरु ड्यामेज भएर मर्दै जानुलाई विज्ञानको भाषामा स्केमिक स्ट्रोक भन्छौ डा.थापाले भने ।

प्रतिक्रिया दिनुहोस्