सुदूरपश्चिममा असिनापानी, बालीनालीमा क्षति, केही दिन वर्षाको सम्भावना



काठमाडौं । सुदूपश्चिमका केही पहाडी जिल्लामा असिनापानी परेको छ । असिनापानीले पाकेको बालीनालीमा क्षति पुर्याको छ ।

हिजो (आइतबार) साँझ दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा असिनापानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

दार्चुलामा भने हावाहुरीसहित असिना पानी परेको थियो । बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ ।

कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिना पानीले क्षति पुर्याएको छ ।

दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ ।
पशुचौपायाका लागि फागलाहरुमा काटेर सुकाइएको खर पनि भिजेर नष्ट हुँदा किसान चिन्तित बनेका छन् ।

२८ गतेदेखि पश्चिमी वायु भारतको जम्मुकास्मिर हुँदै नेपालको दार्चुलामा प्रवेश गरेको थियो ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्