दशैँ पर्व हिन्दू धर्मावलम्बीको मात्र भनिए तापनि अहिले दशैँ पर्व अधिकांश नेपालीहरुले मनाउने गरेको पाइन्छ । विजया दशमी आश्विन शुक्ल पक्षमा धूमधामका साथ मनाइन्छ । यस पर्वको महत्व एवं ऐतिहासिकता धर्म विशेषसँग जोडिए तापनि आजको सन्दर्भमा यसलाई त्यतिसम्म सीमित राख्न न्यायोचित देखिँदैन । नेपालको सन्दर्भमा आज दशैँ एउटा राष्ट्रिय पर्वकै रूपमा संस्थागत भइसकेको छ । मार्कण्डेय पुराणको कथाका अनुसार पनि त्यति बेला विभिन्न नाम गरेका शुम्भ, निशुम्भलगायत राक्षसहरूबाट अति नै दुःख दिने काम भएपछि शक्तिको रूपमा देवीको उत्पत्ति भई ती देवी दुर्गा माताले सम्पूर्ण राक्षसहरूको विनाश गरी राक्षस प्रवृत्तिको अन्त्य गरेकोले पनि यस पर्वलाई विजयका रूपमा समेत लिइएको पाइएको छ ।
विशेष गरी विजया दशमीलाई हिन्दू धर्मावलम्बीहरुले आसुरी शक्तिमाथिको विजय प्राप्त गरेको सुखद अवसरलाई प्रतीक पर्वको रुपमा मनाउँदै आइरहेको पाइन्छ । घटस्थापनाका दिनदेखि नै नेपाली हिन्दू धर्मावलम्बीहरु आफ्नो घरनजिकै रहेको शक्तिपीठ (मन्दिर) मा गएर पूजा गर्ने गर्छन् । त्रेतायुगमा भगवान् श्रीरामले आफ्नी श्रीमती देवी सीतालाई राक्षसहरुका राजा रावणले अपहरण गरेर लंका लगेपछि कसरी ती राक्षसको हातबाट उनलाई मुक्त पार्न सकिन्छ भन्दै देवी दुर्गा भगवतीको शरणमा गएर पूजा गरी विजय प्राप्त गर्ने शक्ति मागेको र पछि विजया दशमीको दिन भगवान् श्रीरामले विजय प्राप्त गरेको हुनाले यस दिनलाई राक्षसहरुमाथि विजय प्राप्त गरेको दिनका रुपमा मनाइने किंवदन्ती छ । राक्षसी प्रवृत्तिबाट मुक्त पाउन सकून् भनेर नै देवी–देवताहरुको पूजा गर्ने चलन छ ।
हिन्दूहरुको महान् चाड विजया दशमीको मुलुकभरि नै रौनक शुरु भइसकेको छ । विजया दशमी विशेष गरी हिन्दूहरुको मात्र चाड भनिए तापनि अहिले अधिकांश नेपालीले निकै तामझाम र धूमधामसँग बडो हर्षोल्लासका साथ मनाउने गर्छन् । सम्पन्न र हुनेखानेलाई जति दशैँ सहजरुपमा आउँछ त्यसको दाँजोमा हुँदा खाने वर्गलाई दशैँ वज्रपातको रुपमा आएको भान हुन्छ । उच्च र मध्यम आयस्तरका मानिसहरुका लागि दशैँ आरम्भैदेखि हर्षोल्लासको पर्व भए पनि गरिब, निमुखा, निम्न आयस्तरका हुने वर्गका जनतालाई बाहिर हर्षोल्लास र मनभरि पीडाबोध गराउने पर्वका रुपमा दशैँ आउने गर्छ ।
धार्मिक, सांस्कृतिक पर्व भए पनि निरन्तररुपमा सम्पन्नहरुको आरक्षित पर्वको रुपमा परिवर्तन हुने संकेत देखिएको छ । सम्पन्नहरुले यस्ता पर्वलाई विलासिता र सम्पन्नताको होडबाजी गर्ने साधनका रुपमा परिवर्तन गराइदिँदा दशैँ निम्नवर्गका निम्ति दशा नै बन्ने गरेको छ । एकातिर दशैँमा विभिन्न मठमन्दिरमा राँगा, बोका, कुखुराजस्ता निर्दोष प्राणीहरुको बीभत्स तरिकाले बलि दिने चलन छ भने अर्कोतिर शान्ति र अहिंसाको माला जपेर हिंसाको खेती पनि चलाउनुपर्ने बाध्यता नेपालजस्ता धर्मभीरु साना देशहरुमा विद्यमान छ । त्यसले मानवताभित्र अझै राक्षसीपन रहेको झल्को देखाउँछ । एउटा निर्दोष पशुलाई देवी–देवताको नाममा बीभत्स तरिकाले काटेर खान सक्ने यो कस्तो मानव सभ्यता हो ? यो कस्तो धार्मिक परम्परा हो ? यसलाई रोक्नका लागि पशु अधिकारकर्मीहरुले वकालतको मुद्दा बनाएर अभियान सञ्चालन गर्न थालिसकेका छन् ।
दशैँको अवसरमा विभिन्न शक्तिपीठ तथा देवी–देवताको मन्दिरमा दिइने निरीह पशुहरुको बलि रोक्ने अभियानमा क्रियाशील पशु अधिकारकर्मीहरुले धार्मिक कार्य नभई मानवभित्र भएको हिंसाको भाव रहेको बताएका छन् । यसले मानवीय हिंसात्मक व्यवहारको उदाहरण दिएको भन्दै उनीहरुले दशैँमा असामाजिक व्यवहारहरुको त्याग गर्नु नै सही हुने बताएका छन् । बलि प्रथाको नाममा हुने पशु अधिकार र बाँच्न पाउने अधिकारको ठाडो हस्तक्षेपका कुरालाई उनीहरुले जोडतोडका साथ उठाइरहेका छन् । तर पनि बलि दिने क्रम भने घटेको पाइएको छैन । भगवान्हरुका पालामा शुम्भ, निशुम्भलगायत राक्षसहरुबाट अति नै दुःख दिने काम भएपछि शक्तिको रुपमा देवीको उत्पत्ति भई ती देवी दुर्गा माताले सम्पूर्ण राक्षसहरुको विनाश गरी राक्षस प्रवृत्तिको अन्त्य गरेकोले पनि यस पर्वलाई अन्धकारमाथि प्रकाशको विजयका रुपमा समेत लिइएको पाइएको छ । भनिन्छ, जसरी भगवान् रामले देवी सीताको अपहरण गर्ने राक्षसहरुलाई मारेर देवी सीतालाई राक्षसहरुबाट मुक्त गरेका थिए । तर अहिले २१ औं शताब्दीमा आइपुग्दा नेपालीहरुले विजया दशमीको दिनलाई नै विभिन्न देवी–देवताको नाममा विजय प्राप्त गर्न होस् या आफ्नो स्वार्थपूर्तिका लागि होस्, निर्दोष प्राणीहरु बोका, राँगा, कुखुरा, हाँसको बलि चढाउने गर्छन् । २१ औं शताब्दीमा आएर निर्दोष प्राणीहरुलाई राक्षसका रुपमा मारिरहेका छन् । अखिर के ती प्राणीहरु राक्षस नै हुन् त ?
दशैँ पर्व मेलमिलाप तथा हार्दिकता, एक–अर्काको उन्नतिको कामना गर्ने, शुभकामना आदानप्रदान गर्ने, सुख–शान्ति र समृद्धिको कामना गर्ने साझा पर्वका रुपमा मनाउनुपर्छ । मुख्यतया यो पर्व आश्विन शुक्ल पक्षको प्रतिपदादेखि शुरु हुन्छ । जुन दिनलाई हामी घटस्थापना पनि भन्छौं । यसरी घटस्थापनादेखि नवमीसम्म जगत् जननी माता दुर्गा भवानीको पूजा–आराधना गरिन्छ । महाकाली, महालक्ष्मी, महासरस्वतीको रुपमा इष्टदेवीको पूजा गरिन्छ । शक्ति, समृद्धि, बुद्धि प्राप्तिका लागि देवीको आराधना गरिन्छ । त्यसैले यस पर्वलाई शक्तिको पर्व पनि भनिन्छ । दशैँमा राम्रा–राम्रा कपडा लगाई टाढा–टाढा रहेका आफन्तहरु, इष्टमित्रहरुदेखि लिएर विदेश तथा स्वदेशमा रहेका सबै आफन्तहरु भेला भई आफूभन्दा ठूला, गन्यमान्य, पूजनीय व्यक्तिका हातबाट टीका थापी आशिर्वाद लिने चलन छ । विजया दशमीलाई असत्यमाथि सत्यको विजयको पर्वको रुपमा लिएको छ । तर विजयको नाममा निर्दोष पशुपक्षीलाई बलि दिने चलन यस चाडको नकारात्मक पक्ष हो । त्यसैले हामी सबैले पशुबलि दिने चलन त्याग्नु जरुरी छ ।
प्रतिक्रिया