नेता र पैसा प्यारो कि आफ्ना सन्तानको भविष्य ?

0
Shares

जनसंख्या वृद्धि र राजनीतिक अस्थिरताले अहिले देशको हालत खस्केको छ । यसको असरले गर्दा मानिसहरुको जीवनस्तर तथा व्यवसायहरु पनि धराशयी हुन पुगेको छ । यसको खास कारण नै शासन चलाउनेहरु गतिलो नहुनाले र खराब बिचौलियाहरु एवं हुनमानहरुको बिगबिगीले हो भन्न सकिन्छ । कुर्सीमा बस्नेहरुले राम्रा काम गर्नुको बदला शुरुदेखि नै नदीनालामा राजनीति, व्यापारीहरुसँग साँठगाँठ, मान्छे भर्ती, कालोबजारीलाई साथजस्ता कार्यहरुलाई प्रश्रय दिए । मुलुक बिग्रनुको शुरुवात यसरी भएको हो । नेताहरुले यसको परिणाम देशमा पछि गएर के हुने हो भन्ने सोच्न नै सकेनन् । यसको उदाहरण राजमार्ग, पुल, बाँध, जलविद्युत्का कार्य अधुरो हुनु अनि पर्यटन, कृषि, धराशयी हुनु हो । यस्ता कुराका विकासहरु सबै अधुरो रहेकोले यसको असर नराम्ररी सर्वसाधारणमा प¥यो । जसको असरले गर्दा यो मुलुकमा मानिसहरु यहाँ बस्न चाहेनन् । यही कारणले गर्दा नेपाली युवापुस्ता बिस्तारै विदेश पलायन भए । बेरोजगार र देशको हालतले यिनीहरु विदेश जान बाध्य भए । देशलाई रेमिट्यान्स ल्याए तापनि एकहिसाबले देशले ठूलो घाटा बेहोर्नुपरेको अवस्था छ ।

हाम्रो मुलुकमा चार दशक हुँदा पनि देशले द्रुत विकासको फड्को मार्न सकिराखेको छैन । यसको कारण आफ्नो ठाउँमा सबै पक्षको उत्तिकै दोष भएर होला कि भन्छु । यसबाहेक हामी नेपालीको समय नै नआएको हो कि, ईश्वरको आशिर्वाद नभएको हो कि, नेता खराब र जनता लाटो भएर हो कि ? यी कुराहरु भने बुझ्न सकिएन । यो देशमा सरकारहरुबाहेक खराब मानिसहरुका थरी–थरीका अवगुणहरुले गर्दा पनि हाम्रो मुलुक पछि परेको मान्न सकिन्छ । देश असफल हुनुको एउटा कारण हामी नेपालीहरुको खराब आदत हो । त्यो के भने, मेहनत नगर्ने, सकभर चाकडी गरेर खाने । यो देशमा यस प्रकारका मानिसहरु धेरै छन् । चार दशकको दौरानमा चाकडी संस्कारको धेरै विकास भयो, जसले गर्दा द्रुत विकास तथा आर्थिक विकासलाई धेरै असर ग¥यो । हाम्रो देशमा मानिसहरुको आ–आफ्नै अवगुणहरु छन् । मुलुकले उन्नति हासिल गर्न नसक्नुमा मानिसहरुको बढी लालच स्वभाव पनि हो । शायद मानिसहरुमा यो रोग नभइदिएको भए देश राम्रो हुन्थ्यो होला । तर लालच नगर्ने, दह्रो, इमानदार मानिसहरुको जन्म नै भएन कि क्या हो यो देशमा ? यसको असरले गर्दा जनताले अनेक किसिमका कठिनाइहरु भोग्न बाध्य हुनुप¥यो, जुन भनिराख्नु पर्ने कुरा होइन ।

स्वार्थ एक यस्तो रोग हो, जसले आफ्नो मात्र सोच्ने गर्दछ र राम्रो मानिसलाई पनि खराब बनाइदिन्छ । यो रोग प्रायः द्रव्यबाट सर्ने रोग हो । अहिले देशमा छलकपट, मर्ने, मार्ने, लुट्ने, गाली, कलहजस्ता कुराहरु सामान्यसरह भइराखेका छन् । यो सब हुनुको कारण विलासी जीवन, दुई–तीन पुस्ताको लागि रकम आर्जन तथा देखावाले निम्त्याएका उपज हुन् । यस्ता कार्य गर्नेहरु प्रायः लालची र अशिक्षितहरु नै हुन्छन् । अहिलेको परिप्रेक्ष्यमा सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि लिएर एउटा नाङ्लो पसलेसम्मको चाहना हो कसरी बढी रकम आर्जन गर्ने ? यसका लागि यिनीहरुले हुने, नहुने जति पनि काम गरिराखेका हुन्छन् । त्यसकारण यस्तो बेलामा हामीले राज्यबाट के अपेक्षा गर्ने ?

यो देशमा अल्लारे मानिस पनि एउटा यस्तो प्राणी हो, जसको काम खालि दालभात खाने हो । बाँकी समय आफूले गर्नुपर्ने दायित्वभन्दा अनावश्यक कुराहरुमा समय बिताइराख्नु हो । जस्तै– अन्धविश्वासमा अल्झिराख्ने, अरुको कुरा काटिराख्ने, खुट्टा तानिराख्ने, देखासिकी गर्ने, गाली–कलहमा रमाउने आदि हुन् । आजभोलि यस्ता मानिसहरुको पनि समाजमा निकै नै वृद्धि भइराखेको छ । यस्ता मानिसहरु पनि मुलुकका लागि हानिकारक हुन् । शायद यसैले होला, यस्ता मनुष्यहरुलाई देशका नेताहरुले आफ्ना फाइदाका लागि तोडफोड, डाङडुङ, हाहुका लागि हनुमानका रुपमा अपनाइराखेका हुन्छन् । उनीहरु पनि यस्तै नेताका पछि लाग्ने गरेका छन् । यो हाम्रो लागि विडम्बना हो ।

संसारमा नकारात्मक मानिसहरु यस्ता प्राणी हुन्, जसका विचारहरु साना र संकुचित हुन्छन् । यिनीहरु पनि हाम्रो जस्तो समाजमा घातक छन् । जसले राम्रो मानिसलाई पनि नराम्रो बनाइदिन्छन् । जस्तै– यिनीहरुको दृष्टि नै लडाउने, शंका गर्ने आदि हुन्छन् । यहाँनिर एउटा कुरा व्याख्या गर्न चाहन्छु । अहिले हाम्रो मुलुकमा दुईवटा राज छ । त्यो हो एउटा दानवराज र अर्को मुर्दाराज । दानवराज भन्नाले प्रायः मानिसले कुकर्म गरिराखेका हुन्छन्, जुन भनिराख्नुपर्दैन । यिनीहरुको कुकर्मको सजाय हमीले सधैँ मुख दुखाएर गाली गरिराख्नुभन्दा माथिको बाउले बिस्तारै सबैलाई हिसाबकिताब गरी पनि राखेको छ । मुर्दाराज भन्नाले नक्कली गौ प्राणीजस्ता हुन् । जस्तै– जसले जे गरे पनि सहेर बस्ने । मेरा यस्ता आचरणले गर्दा देशमा पछि गएर समाज र देशलाई कस्तो असर गर्ला भन्ने यिनीहरुमा सोचको कमी हुन्छ ।

अहिले देशको परिस्थितिलाई हेर्दा सरकारहरु एकोहोरो हुनुभन्दा आफ्नो परिवारलाई छोटो बनाएर संविधान संशोधन गर्नु जरुरी छ । यसै गरी समाजमा बसेका मानिसहरुले पनि सबै नेपालीहरु आफ्नै दाजुभाइ हुन् भन्ने सम्झी जातीय द्वन्दको अन्त्य गर्नुपर्दछ । खप्परमा यो कुरा घुसाउनुपर्दछ कि हामीलाई आखिर कसले लडाइराखेको छ । यसबाहेक आउने चुनावमा जनताले स्वार्थी, अल्लारे, अल्छी नगरी राम्रा नागरिकलाई चुनेर जिताउने हो । तर यसमा खराब हनुमानहरु अलि घातक छन् । यसमा विचार पु¥याउनुपर्छ ।

समग्रमा भन्नुपर्दा, पहिला हरेक कुरामा राजनीतीकरण हुनुभएन । मुलुक बिग्रिराखेको कारण पनि यही नै हो । अर्को कुरा, सर्वसाधारणले पैसामा बिकेर खराब नेताको पछि लाग्नुभएन । पैसा र नेता प्यारो कि सन्तानको भविष्य ? त्यसकारण हामीले आफ्ना अवगुणहरुलाई सच्याउनु जरुरी छ । जस्तै– स्वार्थी संस्कार, दास संस्कार, अल्लारे संस्कार आदिलाई बदल्नु जरुरी छ । त्यसो भयो भनेमात्र देश राम्रो हुने हो र आउने पुस्ता पनि राम्रो हुन्छ ।