बनेपाको शिर मेमोरियल अस्पतालमा क्यान्सरको उपचार हुँदै

सचेतनाका लागि बृहत् र्‍यालीको आयोजना

154
Shares

काभ्रे। 

राजधानी पूर्वका जिल्लाहरुको सबै भन्दा पुरानो अस्पताल शिर मेमोरियलमा सबै प्रकारका क्यान्सरको उपचारका लागि तयारी गरिएको छ । अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतका अनुसार पहिलो चरणमा अस्पतालमा आएका विरामीहरुलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुचारु हुनेछ ।

‘२७ अक्टोवरबाट औपचारिक रुपमा क्यान्सर रोगको उपचार सुरु हुनेछ’–मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले भनिन–‘सुरुमा क्यान्सरको पहिचान गर्ने, क्यान्सर भएको प्रमाणित भएमा त्यसको उपचार गर्न किमो थेरापी लगायतका सेवाहरु सुचारु गर्ने छौं । १२ शय्या क्यान्सरका बिरामीका लागि व्यवस्थापन गरिएको छ ।’ आईसियु बेड, किमोथेरापी सेवा, विशेषज्ञ डाक्टर, नर्सहरुलाई तालिम दिई सकेको डा. बस्नेतले बताइन् । क्यान्सर भए पछि हुने शारीरिक, मानसिक, आर्थिक तनाव कम गर्न घर परिवारका सदस्यहरुलाई समेत सहज हुने गरी नजिकै रहेको अस्पतालबाट सेवा लिन सक्ने गरी क्यान्सरको उपचार सुरु गरिएको उनले बताइन् । यो उपचार सेवामा शुल्क महँगो नहुने डा. बस्नेतले जानकारी दिइन्।

अस्पतालमा कार्यरत डा. धुर्व कँडेलले विरामीहरुमा देखिएको समस्याबाट अस्पतालले सेवाको भावले क्यान्सरको उपचार सेवा सुरु गरेको बताए । ‘हरेक दिन बिरामीहरू अन्यत्र रिफर गर्नु पर्ने समस्या समाधान गर्न यो उपचार सेवा सुरु गरिएको हो’–डा. कँडेलले भने–‘उपचारसँगै नागरिकहरुलाई क्यान्सरका बारेमा सचेतना फैलाउने अभियान सुरु गरिन्छ । महिलाहरुका हकमा हरेक महिनाको एक पटक आफै ब्रेस्ट परीक्षण गर्न अनुरोध गरिन्छ भने खानपान र रहनसहनमा ध्यान दिन अनुरोध गरिन्छ ।’ यो सेवाबाट जिल्लाबासीहरु लाभान्वित हुने उनले बताए । अहिले क्यान्सरको उपचार नीजि अस्पतालहरुमा पुग्दा महँगो हुने गरेको छ भने भएका अस्पतालहरु पनि समयमा उपचार सेवा दिन बिरामीको चापका कारण सकिरहेका छैनन् । त्यही अवस्थालाई मध्यनजर गर्दै शिर मेमोरियल अस्पतालमा क्यान्सर सम्बन्धी रोगको उपचार सेवा सुरु गरिएको डा. कँडेलले बताए ।

विभिन्न अस्पतालमा कार्यरत डा. पुष्प खरबुजाका अनुसार क्यान्सरका बिरामीहरू हरेक दिन बढिरहेका छन् । उनीहरुलाई नियमित उपचार सेवा सहज रुपमा दिन नसक्दा मानसिक र शारीरिक रुपमा थप अशक्त हुँदै गएको अवस्थामा आर्थिक रुपले समेत संकट पर्ने अवस्था बढिरहेको उनले बताए । यस्तो अवस्था न्यूनीकरण गर्न शिर मेमोरियल अस्पतालमा आएका क्यान्सर रोगका विरामीहरुको उपचार नियमित गर्ने प्रयत्न गरिएको बताए । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा मगरले शिर मेमोरियल अस्पतालले सुरु गर्न लागेको यो सेवाबाट जिल्लाबासीका अलावा छिमेकी जिल्लाका नागरिकहरु समेत लाभान्वित हुनेछन् ।

जनचेतनाका लागि बृहत् र्‍याली

विश्वव्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाको रुपमा लिने गरिएको छ । सोही महिनालाई अझै प्रभावकारी रुपमा स्तन क्यान्सरका बारेमा सचेतना फैलाउने उदेश्यले नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रे शाखा सहितको सहकार्यमा शिर मेमोरियल अस्पताल बनेपाले आगामी कार्तिक ३ गते शुक्रवार बिहान बनेपामा बृहत् जनचेतनामुलक ¥याली आयोजना गर्ने भएको छ । अक्टोवर २० का दिन बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आम जन समुदाय प्रति स्तन क्यान्सर सम्बन्धी रोगको पहिचान र हेरचाह गर्नका लागि जानकारी मूलक सन्देश प्रवाह गर्न ¥याली आयोजना गरेको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले जानकारी दिए ।

रोग लाग्नै नदिने, रोग लागि सके पछि समयमै उपचार गरी त्यसको व्यवस्थापन गर्ने तथा रोग लागिसकेका ब्यक्तिहरुलाई हौसला प्रदान गरी सहज र सरल जीवनयापनका लागि उत्प्रेरणा प्रदान गर्ने उक्त ¥यालीको उद्देश्य रहेको छ । अस्पताल परिसरबाट निस्कने बृहत् ¥याली बनेपा पुरानो बजार हुँदै लायकु दरबारबाट बनेपाको अरनिको राजमार्ग हुँदै पुनः रेडक्रस अघिबाट स्मार्ट पार्टी प्यालेसमा पुगेर सभामा परिणत हुनेछ । पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेत, क्यान्सर रोग विशेषज्ञ डा. पुष्प खरबुजा, डा. धु्रर्व कँडेल, अस्पतालका निमत्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा, नेपाल क्यान्सर रोग निवारण संस्थाका अध्यक्ष हर्षनारायण कर्माचार्य लगायतले क्यान्सर जस्तो प्राणघातक रोग लाग्नै नदिन र लागि सकेकाहरुलाई उपचारसँगै हौसला प्रदान गर्नु पर्ने बताएका थिए ।