रोहित ७ विश्वकप शतक बनाउने खेलाडी बने



नयाँ दिल्ली, (एजेन्सी) । रोहित शर्मा एकदिवसीय क्रिकेट विश्वकपमा सात शतक बनाउने पहिलो खेलाडी बनेका छन् । भारतीय कप्तान तथा ओपनर रोहितले बुधबार अफगानिस्तानविरुद्ध शतक बनाएका हुन् । उनले भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई समेत पछि पारे । यसअघि रोहित सचिनसँगै ५० ओभरको विश्वकपमा सर्वाधिक शतक बनाउने सूचीमा सँगै थिए । सचिनलाई ६ शतकमै राखेर रोहित अहिले एकलरुपमा शीर्ष स्थानमा रहेका छन् ।

साथै जारी क्रिकेट विश्वकपमा सचिनको दोस्रो कीर्तिमान भंग भएको छ । यसअघि अस्टे«लियाका डेभिड वार्नरले सचिनको कीर्तिमान तोडेका थिए । वार्नरले भारतविरुद्धको खेलमा १९ इनिङमा छिटो १ हजार रन बनाउने कीर्तिमान बनाएका थिए । उनले सचिनको २० इनिङमा १ हजार रन बनाएको कीर्तिमान ध्वस्त बनाएका थिए । तर, वार्नरसँगै रोहितले यो कीर्तिमानमा आफ्नो नाम यसै खेलमार्फत् लेखाएका छन् । रोहितले १९ इनिङ खेल्दै विश्वकपमा १ हजार रन पुरा गरेका हुन् ।

रोहितले २०१५ को विश्वकपमा एक शतक बनाए भने गत विश्वकप २०१९ मा ५ शतक लगाएका थिए । समग्रमा यो रोहितको एकदिवसीय क्रिकेट करियरमा ३१ औं शतक समेत हो । एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउनेमा भने सचिनकै नाम शीर्ष स्थानमा छ । उनले ४९ शतक बनाएका छन् भने दोस्रो स्थानमा रहेका विराट कोहलीले ४७ शतक बनाएका छन् । विराटका लागि सचिनलाई पछि छाड्न ३ शतक जरुरी छ ।

रोहितले कपिलको कीर्तिमान तोडे

रोहित विश्वकपमा कम बलमा शतक बनाउने भारतीय क्रिकेटर समेत बने । उनले कपिल देवको कीर्तिमान तोडेका छन् । कपिलले १९८३ को विश्वकपमा जिम्बावेविरुद्ध ७२ बलमा शतक बनाएका थिए । रोहितले ६३ बलमै शतक प्रहार गरे । राशिद खानको बलमा १ सय ३१ रनमा आउट भएका रोहितले १६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

रोहितले गेलको कीर्तिमान तोडे

अफगानिस्तानविरुद्ध तेस्रो छक्का प्रहार गरेपछि रोहित अन्तर्राष्ट्रिय क्रिकेटका सिक्सर किंग बने । उनले तीनै फरम्याटमा (५०ओभर, टेस्ट र २० ओभर) गरी कूल ५ सय ५८ छक्का प्रहार गरेका छन् । उनले वेस्ट इन्डिजका विस्फोटक ब्याटर क्रिस गेलको कीर्तिमान तोडेका हुन् । गेलले ४ सय ५३ खेलमा ५ सय ५३ छक्का प्रहार गरेका थिए ।

भारतको लगातार दोस्रो जित

आयोजक भारतले जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । अफगानिस्तानको यो दोस्रो हार थियो । अफगानिस्तानले भारतकै भुमिमा २ सय ७३ रनको लक्ष्य दिन सफल भएको थियो । भारतले मात्र ३५ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य प्राप्त गरेको थियो ।

रोहित र इशान किशनले पहिलो विकेटका लागि विस्फोटक ब्याटिङ गरी लक्ष्यमा पुग्न टोलीलाई सहज बनाइदिए । खासगरी रोहित पुरै आक्रमकमा थिए । उनले ५० रन पुरा गर्दा किशन १० रन बनाउन पनि संघर्षरत थिए । उनीहरुले पहिलो विकेटका लागि १८.४ ओभरमा १ सय ५६ रनको साझेदारी गरेका थिए । यो साझेदारी नै भारतलाई सहजै जित दिलाउन कारक बनेको थियो ।

पहिलो खेलमा अस्टे«लियाविरुद्ध खाता पनि खोल्न नसकेका किशन ४७ रनमा आउट भएका थिए । उनलाई राशिदले आउट गरेका थिए । यस्तै विराट कोहली र रोहितले दोस्रो विकेटका लागि ३६ बलमै ५३ रनको साझेदारी गरेका थिए । रोहित पनि राशिदकै बलमा बोल्ड भएका थिए ।

यसपछि विराट र श्रेयस अय्यरले थप विकेट गुमाउन नदिइ भारतलाई जित दिलाएका थिए । उनीहरुले तेस्रो विकेटका लागि नटआउट ६५ रनको साझेदारी गरेका थिए । विराट ५५ रनमा र श्रेयस २५ रनमा नटआउट रहे । जारी विश्वकपमा विराटले लगातार दोस्रो अर्धशतक बनाए । उनले यसअघि अस्टे«लियाविरुद्ध ८५ रन जोडेका थिए । श्रेयस भने अस्टे«लियाविरुद्ध शुन्यमा आउट भएका थिए ।

अफगानिस्तानको ब्याटिङ

अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । टोलीका लागि कप्तान हशमातुल्लाह शहिदीले सर्वाधिक ८० रन जोडे । यस्तै अजमातुल्लाह ओमारजाईले ६२ रन जोडेका थिए । शीर्ष ३ विकेट ६३ रनभित्र पतन भएपछि उनीहरुले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । भारतीय बलरमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्