लमजुङमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु



लमजुङ ।

लमजुङमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले ‘पशुमा पूर्ण खोप कार्यक्रम’ अन्तर्गत मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकामा पशुमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरेको हो ।

पशुलाई सम्भावित रोग संक्रमण लाग्नबाट जोगाइ किसानको पशुधनको रक्षा गर्ने उद्धेश्यले उक्त अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त प्रमुख तथा पशु विकास अधिकृत डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो । अभियान गत विहिबारबाट सुरु भएको हो । खोरेत रोग लाग्दा पशु चौपायामा १ सय ४ देखि १ सय ६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्ष्यण देखा पर्ने निमित्त प्रमुख डा. न्यौपानेले बताउनु भयो ।

रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उनले सुझाव दिए । निलो तुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउनु पर्ने डा. न्यौपानेको भनाई छ ।
यस अभियान अन्तर्गत वडागत रुपमै खोप लगाउनका लागि ४९ जना खोपकर्ताहरु खटिएका उहाँले बताउनुभयो । १५ दिनभित्रमा ती पालिकाहरुमा पालिएका गाइभैँसी र बंगुरमा खोरेत रोग विरुरद्धको खोप लगाइसक्ने विज्ञ केन्द्रले जनाएको छ ।
डा. न्यौपानेका अनुसार गाईभैँसी र बंगुरमा लगाइने खोरेत रोग विरुद्धको खोप ६÷६ महिनामा लगाउने गरिन्छ । हाल जिल्लाका नगरपालिकाहरुमा मात्रै यस अभियान सञ्चालन गरिएकोमा आगामी पुस देखि जिल्लाका सबै स्थानीय तहमा पशु पूर्ण खोप कार्यक्रम संचालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्