एरिकाले नेपालको इज्जत राखिन्



हाङझाउ । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा एरिका गुरुङले नेपालको इज्जत राखिन् । जम्बो नेपाली टोली हान्झाउ पुगेकोमा पहिले महिला कबड्डी टोलीले नेपालको इज्जत राख्यो । यसपछि एरिकाले रजत नै जितेर नेपालको इज्जत एशियाडमा राखेकी हुन् ।

क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी विश्व कराते महासंघको वरीयतामा पाँचौ स्थानमा रहेकी खेलाडी थिइन् । जापानी प्रतिद्धन्दी एजुकी जापान कराते प्रिमियर लिग तथा कन्टिनेन्टल च्याम्पियनसिपमा स्वर्ण विजेता थिइन् । जसले गर्दा एरिकाको पहिलो खेल निकै चुनौतीपूर्ण हुने ठानिएको थियो ।

तर, उक्त खेलमा साहसिक प्रदर्शन गरेर निर्धारित समयको खेलमा दुबैले १–१ अंक प्राप्त गरेपछि प्रतिस्पर्धा बराबरी भएको थियो । त्यसपछि खेल विजेताको निर्णय ’सेन्सु’ को आधारमा भयो। जसमा एरिकाले बाजी मारिन् ।

उक्त जितपछि उनले सेमीफाइनलमा हङकङका खेलाडीलाई उत्कृष्ट खेल पस्किँदै पराजित गर्न सफल भइन् र नेपाललाई ऐतिहासिक रजत पदकको सामू पुर्याइन् । फाइनलमा कजाककी खेलाडीसँग पराजित भएपछि एरिकाले भनिन्,–“ मैले आफुले सकेको प्रयास गरें । फाइनल जित्ने प्रयास पुरा हुन सकेन ।“

नौ वर्षअघि मनमैजु डोजोमा कराते खेल्न सुरु गरेकी एरिकाले यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएकी हुन् । रजत पदक जितेपछि खुसी हुँदै एरिकाले देशको लागि रजत जित्न सकेकोमा निकै खुसी भएको बताइन् ।

उनले भने–“फाइनलमा पनि सक्दो प्रयास गरेको थिएँ । छोटो अवधिको तयारीका बावजुद पनि देशको लागि रजत जिते, धेरै खुसी लागेको छ । यो जितको श्रेय म मेरो बुवा आमा, मेरो गुरु र सम्पुर्ण नेपालीहरुलाई दिन चाहन्छु । “–उनले भनिन्–“मैले आफ्नो प्रतिद्वन्द्वीहरुले खेलेको भिडियो हेरेर नै सिक्ने मौका पाएको थिएँ । त्यसैको आधारमा खेल्ने रणनिति पनि बनाएको थिएँ ।“ केहि समय अघि इन्डोनेसियामा भएको प्रतियोगिताले गर्दा पनि तयारीको लागि प्लस प्वाइन्ट भयो ।

करातेका प्रशिक्षक कुशल श्रेष्ठले छोटो अवधिको प्रशिक्षणका बावजुद पनि पदक ल्याउन सकेकोमा खुसी लागेको बताए । उनले भने–“ काजकस्तानका खेलाडी विश्वस्तरकै शिर्ष स्थानका खेलाडी हुन् । वरियताका खेलाडीविरुद्ध एरिकाको प्रदर्शन प्रशंसायोग्य छ । तयारी अवधि छोटो भएपनि कुनै दिन पनि खेलाडीले ट्रेनिङ रोकेनन् ।“

यसअघि एसियाडमा नेपालले हालसम्म व्यक्तिगत स्पर्धामा एक पटक मात्र रजत पदक जितेको थियो । सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोतर्फ सबिता राजभण्डारीले नेपाललाई पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।

यो समेत एसियाली खेलकुदमा नेपाली खेलाडीले प्राप्त गरेको यो तेस्रो रजत पदक हो । यसअघि गत २०१८ को जाकार्ता एसियाडमा पाराग्लाइडिङमा टिममा नेपालले रजत जितेको थियो ।

एशियाड करातेतर्फ भने नेपालले जितेको यो पहिलो रजत पदक हो । एसियाडमा करातेमार्फत नेपालको यो चौथो पदक हो । यसअघि नेपालले करातेबाट ३ कांस्य पदक जितेको थियो । जसमध्ये सन् १९९४ मा सीता राई, १९९८ मा सम्बरबहादुर गोले र २०१४ मा विमला तामाङले कांश्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्