सत्तालाई खेलाइरहने भ्रष्टाचारयुक्त दुष्प्रयास



नेपालीहरुको महान् चाड दशैँको आगमनले जनजनलाई म आउँदै छु भनेर सुसूचित गरिसकेको छ । अब आउने हप्ताको पहिलो दिन हिन्दू धर्ममा आस्था राख्ने प्रत्येक जनजनहरुको घरघरको पूजाकोठामा दशैँको जमराले प्रवेश पाउनेछ । दशैँमा एकसरो नयाँ लुगा लगाउन र सामान्य मीठो पीठो खान संघर्षरत कुल जनसंख्याको अपवादबाहेक पूरै जनजन प्रत्येक वर्ष जतिसुकै पाँैठेजोरी खेल्दा पनि उल्लिखित एकसरो नयाँ लुगा लगाउन र सामान्य मीठो पीठो खान सदैव धौ–धौको अवस्थामा नै गुज्रिरहनुपरेको तथ्य सबैसामु छर्लंग भैरहेको छ । देशलाई विगतदेखि लागिरहेको श्रापबाट देश कहिले मुक्त हुने हो ? कुनै टुंगो छैन । भर्खरै दशैँको पूर्वसन्ध्यामा देशको पश्चिमका केही स्थानहरुमा भूकम्पले क्षतविक्षत बनाएको समाचार आयो । त्यसबाहेक बेलाबेलामा खबरबजारमा आइरहने भ्रष्टाचारका थप समाचारहरुले पनि जुनसुकै चाडबाड आए तापनि जनतामा कुनै खुशी र रौनकता देखिन छाडेको धेरै वर्ष भैसकेको छ । भई–नभई, सकी–नसकी वा ऋण लिएर भए पनि चाडबाड मान्नु वा स–साना छोराछोरी वा नातिनातिनाहरुलाई नयाँ लुगा किनिदिनु वा आफन्तहरुकहाँ आउजाउ गर्न खर्च जुटाउन हम्मेहम्मेको स्थितिबाट देश गुज्रिरहेको वर्षौं भइसक्यो । तर विडम्बना, यी कुराहरुमा सुधार आउने लक्षणहरु अहिलेसम्म देखा पर्न सकिरहेका छैनन् ।

गएको हप्ता केही भ्रष्टाचारका समाचार सार्वजनिक भएका थिए । तीमध्ये पशुपतिनाथमा लगाइएको जलहरीको सुनकाण्डमा डेढ किलो सुन लुकाइएको पुष्टि र विद्युतीय भुक्तानी प्रणाली खरिदमा करोडौँको हिनामिना प्रमुख समाचार हुन् । जनजनले फोन र एसएमएस गर्दा सबै कुरा रेर्कड गर्ने कुराको कानुन बनाउने भनिए तापनि कानुन बन्नुपूर्व नै अर्बौंको सो सम्बन्धी सामानहरु खरिद गरिएको समाचारले अपवादबाहेक प्रत्येक जनको मनमा संघीयता देशको लागि समस्या नै हो भन्ने निचोडमा पुग्न थप बल पु¥याएको छ । हिन्दुहरुले ठूलो श्रद्धा राख्ने पशुपतिनाथमा चढाइएको जलहरीमा समेत पापको अलिकति पनि भय नमानी आफ्नो सीमित आर्थिक स्वार्थको लागि सुन लुकाउने कार्य हुन पुग्छ र त्यसलाई ढाकछोप गर्ने प्रयासमा पूर्वसत्तासीनदेखि वर्तमान सत्तासीनका सदस्यहरु लागिपर्छन् भने देश र जनताकोे लागि त्यो भन्दा विडम्बना के हुन सक्ला ? करोडौँको हिनामिना राजनीतिक नेतृत्वहरुका लागि सामान्य हुन पुगेको छ । राजनीतिक व्यवसायीहरुका आफ्नै सन्तानदेखि राजनीतिक सन्तानसम्मको भ्रष्टाचारमा संलग्नताका समाचारहरु सार्वजनिक हुन पाएको हुँदैन, कसरी उनीहरुलाई जोगाउने भन्ने लडाइँमा नै राजनीतिक व्यवसायीको समय व्यतीत भइरहेको छ । त्यसैले उनीहरुबाट सत्कर्म होला र देशले अधोगतिबाट पार पाउला भन्ने कुरामा जनजनमा किञ्चित विश्वास छैन । राजनीतिक व्यवसायी, प्रशासक, कर्मचारी, ठेकेदारदेखि लिएर शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, न्यायाधीश कोही पनि यस मामिलामा अछूतो देखिन पुगेनन् । यिनीहरुका यी चर्तिकलाहरुले गर्दा समाजमा रहेका कतिपय यसै व्यवसायहरुसँग सम्बन्धित इमानदार व्यक्तिहरु समाजमा शिर ठाडो गरेर हिँड्न नहुने अवस्थामा पुगेका छन् । कुनै गल्ती नगर्दा पनि समाजमा शिर झुकाएर हिँड्नुपर्ने र बाँच्नुपर्ने अवस्थामा पुग्नु भनेको कम पीडादायी अवस्था पक्कै होइन ।

प्राणीदेखि लिएर सम्रग देश वा विश्वमै थरी–थरीका रोग लाग्नु विशेषता हो । यदि रोगै नलाग्ने भए रोग भन्ने शब्दको उत्पत्ति नै हुने थिएन । रोग विविध कारणले लाग्छ । रोगका लक्षण थरी–थरीका हुन्छन् र रोग यसलाई र यो देशलाई मात्र लाग्छ भन्ने छैन । बेलैमा विचार पु¥याउन सकिएन भने रोगले शरीरदेखि लिएर राष्ट्रलाई समेत च्याप्छ । रोगले च्यापेको शुरुवाती अवस्थामै उपचार गरेर रोगको जडलाई निर्मूल पार्न सकिएन भने त्यसले दिने नतिजा भनेको सबै क्षेत्र धराशायी हुनु नै हो । दक्षिण एसियाकै श्रीलंका पनि हाम्रो जस्तै भ्रष्टाचाररुपी रोगको कारणले धराशायी अवस्थामा पुगिसकेको छ । त्यहाँका नेताहरुलाई जनताले घेरेर कुटेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । वैदेशिक ऋणले हाम्रो देश पूरै ढाकिएको छ । देशका जमिनहरुमा कि त भवन ठडिएका छन्, कि त बाँभैm छन् । कुनै बेला खाद्यान्न वस्तु निर्यात गर्ने देश अहिले छिमेकी देश भारतलगायत अन्य देशहरुलाई सकेसम्म चाँडो चामल देऊ भनेर अनुनय विनय गरिरहनुपरेको छ । हो, एउटा कुरा सत्य के हो भने, भ्रष्टाचाररुपी रोगले विश्वका प्रत्येक राष्ट्रलाई गाँजेको कुरामा विमति छैन, मात्र प्रतिशतको तल–माथिमात्र हो । कुन–कुन देशको भ्रष्टाचारको प्रतिशत कति–कति छ भन्ने कुरा वार्षिकरुपमा निस्कने र निकालिने गरेका भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले बोलेका छन् । हाम्रो देशको बारेमा पछिल्लोपटक निस्किएको प्रतिवेदनले नेपाललाई भ्रष्टाचाररुपी रोगले डरलाग्दो किसिमले गाँजिरहेको कुरालाई नै इंगित गरेको छ । त्यसरी विदेश वा विदेशी संस्थाहरुका प्रतिवेदनले जिस्क्याइरहँदा हाम्रा शासकहरु ङिच्च दाँत देखाएर छलकपटमै लागिरहेर आ–आफना दलका सदस्यहरुलाई जोगाउने प्रयासमा यो वा त्यो बाटो लागिरहनु भनेको देशमा परेको अभिश्रापको निरन्तरताबाहेक केही होइन भन्न जनजन बाध्य भएका छन् ।

देशमा भ्रष्टाचारको मुद्दालाई प्रतिशतको आधारमा हेर्दा राजनीतिक गन्धमार्पmत कमजोर बनाउने प्रयासको प्रतिशत उच्च रहेको अनुभूति विगतदेखि नै भइरहेको हो । विगतमा संसारका विकसित कहलाइएका देशहरुमा पनि कुनै समय त्रूmर तानाशाहीहरुले शासन सत्ता सञ्चालन गरेका थिए । जनतालाई उनीहरु भेडाबाख्राभन्दा पनि तल्लो स्तरको दर्जामा राखेर व्यवहार गर्थे । वर्तमानमा विकसित कहलिएका देशका जनताले अयोग्य शासकहरुलाई फाल्न कम संघर्ष गर्नुपरेको थिएन । जनताको मतले यदि योग्य शासक छनौट गर्न सक्यो भने देशले काँचुली फेर्न समय लाग्दैन भन्ने उदाहरण हेर्न हामीभन्दा पनि अविकसित केही देशहरुले हासिल गरेका उपलब्धिहरुलाई हेरे पुग्छ । जुन सरकारले जनसवालको उपेक्षा गर्छ, उसले आफ्नो शासन सत्ता त गुमाउँछ नै, सँगसँगै देश र जनताले पनि असह्य पीडा व्यहोर्नुपर्दछ । यस्ता किसिमका घटना पटक–पटक हाम्रो देशमा पनि घटिसकेका छन् । मानवका न्यूनतम अधिकारहरु पनि संरक्षित हुन नसकेका थुप्रै घटना हाम्रै सामु लामबद्ध भएर बसिरहेका छन् । मानवअधिकारसँग सार्वजनिक भएका समाचारहरुलाई हेर्दा र पढ्दा के गणतान्त्रिक शासनमा हुने र घटित भैरहने मानवअधिकारविरुद्धका विभिन्न घटनाहरु सामान्य हुन् भनेर जनजनले मान्नुपर्ने हो ? भन्ने अहम् प्रश्न सदैव खडा भएर जिस्क्याइरहेको छ । यदि जनजनले गणतान्त्रिक शासनमा यस्ता घटनाहरु घट्ने सामान्य हुन् भन्ने शासकहरुले मान्यता राख्छन् भने जनजनलाई यो गणतन्त्र आवश्यक छैन भन्ने प्रायः जनजनको बुझाइ र भनाइ रहन पुगेको छ । यस मानेमा हाम्रो देशको चाहे दुई तिहाइको पगरी गुथेको सरकार होस्, चाहे सर्वसम्मतबाट चयन गरिएको भनेर भनिएको गठजोडको सरकार होस्, सबै सरकारका सदस्यहरु जनसवालको उपेक्षा गर्ने बाटोमा झन्–झन् अग्रसर हुँदै गइरहको त होइन भन्ने प्रश्नहरु पनि निरन्तर खडा भइरहेका छन् ।

त्यसै गरी देशमा बलात्कारका घटना चरमोत्कर्षमा पुगेको छ । के बालिका, के वृद्धा, के युवती, के आफ्नै श्रीमती, के बुहारी, के बहिनी, के छोरी, कोही कसैले सुरक्षित अनुभूति गर्न सकेका छैनन् । आफ्नै ससुरा र लोग्ने मिलेर बलात्कार गरी आफ्नै श्रीमती र बुहारीलाई वेश्यावृत्तिमा लगाउन लोग्ने र ससुरा ढोकामा पालो बसेर बाहिरका मानिसहरुलाई यौनसम्र्पक गराउँछन् भने देशमा मानवता कता हराउँदै छ भन्ने प्रश्न एकातिर छँदै छ, किन यस्तो भैरहेको छ भन्नेबारेमा सरकार न गम्भीररुपमा यसलाई लिन्छ, न त पीडितलाई सार्थक उपचार दिन्छ । पीडितलाई न्याय त कता–कता, उल्टो जनताको मतबाट चुनिएका जनप्रतिनिधिहरु नै मेलमिलापको नाउँमा स्थानीय न्यायिक समितिमार्पmत मेलमिलापको दुरुपयोग गर्दे जबर्जस्ती मिलापत्र गर्न र गराउन पीडित अनि पीडितका परिवारलाई साम, दाम, दण्ड, भेद सबै उपायहरु अवलम्बन गर्छन् । यति गर्दा पनि पीडित नझुकेको अवस्थामा पीडितको ज्यानमाथि नै असुरक्षाको वातावरण सृजना गर्नसमेत पछि पर्दैनन् । पछिल्लोपटक यससम्बन्धी समाचारहरु पनि व्यापकरुपमा खबरबजारमा सार्वजनिक भएका थिए ।

इमानदारी र जे कुरामा पनि विश्वास गर्ने सोझा जनजनको जनमत लिएर सत्तामा पुगेका सत्तासीनहरु अहिले जुनरुपले सत्तामोहमा डुबेर जे–जस्तो हर्कतले शासन सञ्चालन गरिरहेका छन् त्यो जनमतले पक्कै रुचाएका छैनन् । गणतन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने चाटुककारहरुको जमातले प्रत्येक जन, विशेष गरेर प्रत्येक युवाहरुको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् । दलीय चाटुककारहरुको क्रियाकलापलाई नियाल्दा वर्तमानका युवापुस्ताहरुलाई पनि अँध्यारोतिर धकेलिरहेको प्रतीत हुँदै छ । देशलाई सम्मुनतको शिखरमा पु¥याउन इमानदारीपूर्वक नेतृत्वहरु लागिपरेका हुन्थे भने यो अवधिमा देश कायापलट भई भविष्यको सन्तानको लागि मजबुत भएर उभिरहेको हुन्थ्यो । केही इमानदार नेतृत्वहरुले शासन सञ्चालन गर्न नपाएको होइन तर विडम्बना, छलकपटपूर्ण नीतिले गर्दा उनीहरु सफल हुन सकेनन् ।

पछिल्लोपटक नेतृत्वमा आएका नेतृत्वहरुले युवाहरुका जोश–जाँगरलाई भरमग्दुर उपयोग गरे । विविध आश्वासन बाँडे, जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाए । थुप्रैले यो वा त्यो नाउँमा आफ्नो जीवनको आहुति नै दिए । बेपत्ता पारिएका कतिपयको इतिहास नै हराइसक्यो । वर्तमानमा आएर युवाहरुलाई कि त विदेशिन बाध्य बनाइएको छ, कि त राजनीतिक व्यवसायीहरुले फालेको हड्डीमा मग्न हुन बाध्य बनाइएको छ । युवाहरुलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधैँ वञ्चित गरियो । यो प्रक्रिया वर्तमानमा पनि जारी छ । सकेसम्म आपूmले गरेको हालीमुहाली अकण्टक रहिरहे हुन्थ्यो भन्ने मृगतृष्णामा राजनीतिक व्यवसायीहरु अहिले पनि रमाइरहेका छन् । चिप्लो र आशारुपी आश्वासनको पोकोमात्र वितरण गरी युवाहरुलाई आफ्नो मोहजालमा फसाउन राजनीतिक व्यवसायीहरु प्रत्येकपल्ट सफल भइरहेका छन् । प्रायः सबै दलमा संलग्न युवाहरुको नियति, विवशता र बाध्यता यही नै देखिँदै आएको छ । अब पनि देश–विदेशमा रहेका युवाहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यिनै नेतृत्वको पछि लागिरहने हो र गम्भीररुपमा आफ्नै बारेमा नसोच्ने हो भने देश योभन्दा पनि कहाली लाग्दो अवस्थामा पुग्ने निश्चित छ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्