पटक-पटक भित्रिएको थियो दोलखा नाकाबाट सुन



दोलखा  ।

चीनको तिब्बतसंग सिमा जोडिएको दोलखाको फलाक नाकाबाट विगतमा तिब्बती शरणार्थी प्रवेश गर्ने समाचारले चर्चा पाउने गथ्यो । कैले कहि त अवैध रुपमा प्रवेश गरेका तिब्बती नागरिकलाई उतै फर्काउन खोज्दा प्रहरीसंग झडप समेत हुने गरेको थियो ।

तर यो पटक तिब्बती शरणार्थी प्रवेश गरेको विषयले हैन ११ केजी सुन अवैध ढङ्गले भित्रिएको विषयले फलाक नाकाको चर्चा भै रहेको छ । कसैले अनुमान र आशंका समेत नगरेको दोलाखको फलाक नाकाबाट ११ केजी सुन भित्रिएपछि अहिले दोलखा प्रहरी र सिआईवी ले समेत यो घट्नाको सुष्म अनुसन्धान गरिरहेको छ ।

तीन पटक गरेर ११ केजी सुन बरामद गरेको दोलखा प्रहरीले सिआईवीको समेत सहयोगमा अहिलेसम्म तस्करीमा संलग्न रहेको आशंकामा दुई चिनिया नागरिक सहित ११ जनालाई पक्राउ गरेको छ । अहिलेसम्मको अनुसन्धानमा पछिल्लो पटक असोज १७ गते बुधवार काठमाडौँबाट पक्राउ परेका चीनको सिचुवान घर भै काठमाडौँको स्वयम्भु वस्ने आगर लामानै फलाकबाट सुन तस्करी गर्ने गिरोहको मुख्य नाईके भएको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।

आगर लामासंग अर्का चिनिया नागरिक ग्याङ रोउ र दोलखा लामाबगर घर भै काठमाडौँ बस्ने नुर्वुछिरीङ शेर्पाको समेत सुन तस्करीमा मिलेमतो र लगानी हुनसक्ने देखिएको प्रहरी नायव उपरीक्षक दिपक खड्काको भनाई छ । यो पटक ठूलो परिमाणमा सुन तस्कर गरेको आगर लामा समूहले ६-७ महिनाको अवधिमा दोलखाको फलाक नाकाबाट थप ३-४ पटक सुन तस्करी गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । ठ्याक्कै कति भन्ने नखुले पनि यो अवधिमा आगर लामा समूहले फलाक नाकाबाट ३५-४० केजी सुन भित्राएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउछन् ।

अहिले हामी मुख्य दुई विषय तस्करीमा अन्य चिनिया या नेपाली नागरिकको संलग्नता भए-नभएको र यस अघि भित्राईएको सुन भारत वा नेपालको कुन–कुन ठाँउमा बिक्रि गरीयो भन्नेमा केन्द्रीत भएर अनुसन्धान गरीरहेका छौ– प्रहरी नायव उपरीक्षक खड्काले भन्नु भयो ।

अहिलेसम्मको अनुसन्धानमा ब्रेक– सु मार्फत भएको सुन तस्करी र भेपमा राखेर गरिएको सुन तस्करी ग्रुमसंग आगर लामा समूहको कनेक्सन नदेखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेका दुई चिनिया नागरिक मध्य आगर लामासंग तिब्बती शरणार्थी कार्ड रहेको र ग्याङ रोउसंग पासर्पोट रहेको अनुसन्धानमा संलग्न दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।

सुरुमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का र ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाको टोलीले सुराकीको आधारमा असोज १० गते राति दोलखाको विगु गाँउपालिका वडा नम्बर ३ जामुने स्थित सिता तमाङको घरमा डेरा वस्ने केशर तमाङको कोठाबाट चार केजी सुन बरामद गरेको थियो ।

अवैध चार केजी सुन सहित असोज १० गते रातिनै विगु गाँउपालिका वडा नम्बर १ लामाबगरका १९ बर्षको पेम्बा तमाङ, २८ बर्षको केशर तमाङ र २० बर्षको माधव मगरलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका केशर तमाङको बयानको आधारमा प्रहरीले असोज १३ गते उनको अर्को कोठाबाट थप तीन केजी सुन बरामद गरेको थियो भने असोज १४ गते विगु १ लामाबगरमा ढुङ्गाको चेपमुनी घाँसको चपरीले छोपेको अवस्थामा जनपथ प्रहरीका प्रहरी निरीक्षक बिक्रम लामा र शसस्त्र प्रहरी निरीक्षक जयन्त केसीको टोलीले चार केजी सुन बरामद गरेको थियो ।

लगतै सुन तस्करीको आरोपमा प्रहरीले विगु १ लामाबगरको ५५ बर्षको नुर्वुछिरीङ शेर्पा र ३० बर्षको सुनमाला तमाङलाई सदरमुकाम चरिकोटकाको एक होटलबाट पक्राउ गरेको थियो भने लामाबगरको राज तमाङ, चिनिया नागरिक ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनद प्रधानलाई काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसैगरी लामाबगरका ३० वर्षको च्याङबा भन्ने चसमान तमाङलाई घर नजिकबाटै पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार तिब्बतीहरुले चीनपट्टीको रोङ्सा नाकासम्म ल्याएको ११ केजी सुन बिभिन्न सङ्केतको आधारमा मानिस पहिचान गरी ब्यागमा राखेर सिमा खोलाबाट डोरीको माध्यमले दोलखाको फलाक पट्टी पठाएका थिए । त्यसरी आएको सुन चसमान तमाङ र पेम्बा तमाङले लामाबगर ल्याएर आलुको बोरामा राखी स्थानीय युवाहरुको सहयोगमा चरिकोटमा भएका नुर्वुछिरीङ शेर्पालाई दिने योजना बनाउदै गर्दा बिशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्