सुरक्षित वैदेशिक रोजगारका सन्दर्भमा प्रहरीसँग अन्तर्क्रिया

६ महिनामा ४ वटा उजुरी 

0
Shares

काभ्रे।

प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आयोजना गरिएको छ । प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले वैदेशिक रोजगारका कारण हुने गरेका समस्याहरुको समाधान तथा गुनासो न्यूनीकरणका लागि अन्तर्क्रिया महत्त्वपूर्ण हुने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका सम्बन्धी जानकारी गराइन् । जिल्लामा वैदेशिक रोजगारीका कारण भएको ठगी र त्यसका बारेमा भएका अभ्यासका बारेमा जानकारी गराउँदै नागरिकहरुलाई सहज र सरल रुपले सिप सहितको वैदेशिक रोजगारमा जान र गएर फर्किएकाहरूलाई त्यसका बारेमा जानकारी दिन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताइन् । ‘आप्रवासी श्रोत केन्द्र र प्रहरी कार्यालय बीच सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा सहकार्यका लागि सम्भावनाहरुको पहिचान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो– कार्यक्रम संयोजक कुँवरले भने–‘विभिन्न क्षेत्रका ब्यक्तिहरुसँग छलफल गर्ने क्रममा जिल्लामा कार्यरत प्रहरीका विभिन्न तहका ब्यक्तिहरुलाई तालिम दिइएको हो ।’ सुरक्षित वैदेशिक रोजगारका सवालहरुमा प्रहरीसँग अन्तर्क्रिया गरिएको सामी कार्यक्रम काभ्रेका संयोजक एवं सिवीक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताए ।

वैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर तथा सवालहरु साथै सामी कार्यक्रमको मुख्य सेवा तथा गतिविधिका बारेमा सामी कार्यक्रमका कार्यक्रम अधिकृत भागीराम थारुले जानकारी गराएका थिए । सोही अवसरमा कार्यक्रम अधिकृत थारुले आप्रवासी श्रोत केन्द्रमा हालसम्म प्राप्त भएका मुद्दाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । जिल्लाबाट राहदानी बनाउने ब्यक्तिहरुको विवरण तथा सो सँग सम्बन्धित सवालहरु साथै वैदेशिक रोजगार ऐन २०६४ का विषयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रस्तुति गरेकी थिइन् । वैदेशिक रोजगार विभाग र प्रहरीबिच भएको सम्झौता बमोजिम सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा प्रहरीको भूमिकाका विषयमा प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

वैदेशिक रोजगार सम्बन्धी उजुरीहरु फस्र्याैट नहुनाका कारणका सन्दर्भमा सामी कार्यक्रमका सुशासन अधिकृत भक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दाहरु समाधानमा प्रहरी र आप्रवासी श्रोत केन्द्र बीच सम्भावित सहकार्यको क्षेत्रहरुका सन्दर्भमा पनि सोही अवसरमा कार्यपत्र छलफल गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालयमा सिफारिस भएका १३ वटा मध्ये अधिकांशमा प्रहरीले समन्वय गरेको प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।

 २०८० सालमा मात्रै चारवटा उजुरी दर्ता भएका छन् । महाभारत ६ का ङेमासाङ योञ्जनले थाइल्यान्ड लैजाने भन्दै गंगा वाइबालाई ठगी गरेको उजुरी असोज १ गते दर्ता भएको थियो भने भदौ ३ गते राजु घिमिरेले मण्डनदेउपुर घर भएका दिलबहादुर डोटेलले ठगी गरेको जाहेरी दर्ता भएको छ । रोशीका रामकुमार राना मगरलाई उदित रानाले पोल्याड लैजाने भन्दै ठगी गरेको र धुलिखेलका प्रभास तामाङलाई सन्देश चेपाङ र जीवन प्रजाले ठगी गरेको जाहेरी दर्ता भएको छ ।