प्रधान सेनापति ट्रफी शुरु



काठमाडौं । प्रधान सेनापति ट्रफि–२०८० खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन प्रधान सेनापति महारथी प्रभुराम शर्माले गरेका हुन् । आश्विन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित उद्घाहटन समारोहमा स्वागत मन्तव्यको क्रममा श्री सैनिक तालिम महानिर्देशक, उपरथी श्री सन्तोष कुमार ढकालले खेलकुद मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने नेपाली सेनाका ओलम्पियनहरू संस्थागत स्मृतिको पुञ्ज रहेको बताए । समारोहमा प्रधान सेनापति ट्रफिमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।

नेपाली सेनाले यस वर्षको बाघ गणनामा बाघको सङ्ख्या दोब्बर भन्दा बढी भएको उत्साहपूर्ण उपलव्धिको स्मरणमा यस वर्षको प्रधान सेनापति ट्रफिमा बाघलाई मास्कटको रूपमा राखिएको छ । समारोहमा सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी भएका नेपाली सेनाका ओलम्पियन जमदार जीत बहादुर के.सी. (अ.प्रा.) लाई पदक प्राप्त गरेको स्वर्ण जयन्तीका उपलक्ष्यमा प्रधान सेनापतिले कदर पत्र प्रदान गरियो ।

बिहीबार पहिलो दिन सम्पन्न महिला ८ सय मिटर दौड तथा पुरुष ४ गुणा ४०० मिटर रिले दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण समेत गरे । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्