महानगरको स्वर्णिम स्वास्थ्य योजना- ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ ।

कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ । कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ । ती केन्द्रको सेवा थप गरी सर्वसाधारणलाई समेत उपचार सेवा दिने भएको छ । ती केन्द्रलाई केही दिनपछि उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो ।

–ओपीडी, ल्याब प्याथोलोजी, एक्सरे, जनचेतना कार्यक्रम सञ्चालन
–सबै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र

कामपा जनस्वास्थ्य विभागका निर्देशक रामप्रसाद पौडेलले महानगरवासीलाई निःशुल्क सेवा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । केन्द्रहरू सञ्चालन भएपछि निजी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा कामपाको छ । विभागीय निर्देशक पौडेलले कार्यालय आधुनिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले अस्पतालसरह सुविधा दिने गरी सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केन्द्रलाई चिकित्सकले बिरामी परीक्षण गरेपछि थप जटिल रोग भएमा रिफर गर्नेसम्मको अधिकार हुनेछ ।’

केन्द्रमा एक जना चिकित्सक, १ जना स्वास्थ्य सहायक, २ जना स्टाफ नर्ससहित ११ जना कर्मचारी हुनेछन् । विभागीय निर्देशक पौडेलले सबै प्रकारका रगत परीक्षण, फिजीयोथेरापी, जनरल रेडियोलोजी, ओपीडी, परिवार कल्याण, एचआईभीलगायतका एक दर्जन उपचार सेवा एउटै केन्द्रबाट उपलब्ध हुनेछ । स्वर्णिम योजनाअन्तर्गत प्रवद्र्धन केन्द्र स्थापना गर्न ३५ करोड रुपियाँ विनियोजन भएको छ ।

कामपाले वडा नम्बर २ लाजिम्पाट, ५ को हाँडीगाउँ, ६ को रामहिटी, १० को लाखेचौर, ९ को पुरानो बानेश्वर, ११ को बबरमहल, १२ को टेकु, २० को भीमसेनस्थान, २२ को सुन्धारा, २८ वडाको बागबजार, उपलब्ध हुनेछन् । विभागीय प्रमुख पौडेलले स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन भएपछि महानगरमा बसोबास गर्ने करिब २२ लाखले सेवा पाउनेछन् ।

केन्द्रमा वडाबासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, टोलटोलमा स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुनेछ । सहरबासीले आधारभूत सेवाका लागिसमेत ठूला अस्पताल धाउनुपर्ने अवस्था नियन्त्रण गर्न प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको हो । केन्द्रमा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवा र वृद्धवृद्धाका लागि परामर्शसमेत यस्ता केन्द्रबाट प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्