भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिनुभएको छ ।

मंगलबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन गर्दछौं । हालसम्म भएको उद्दार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौं ।’

उहाँले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्