समाजमा सद्भाव फैलाउँदै आर्ट अफ लिभिङ (भिडियो सहित)



वासिङ्टन डिसी, अमेरिका।

आर्ट अफ लिभिङका संस्थापक श्री रविशंकर तथा भारतका विदेशमन्त्री यस जया शंकरले समाजमा सद्भाव र असल काम गर्न आर्ट अफ लिभिङको स्थापना भएको बताउनुभएको छ । वासिङ्टन डिसीमा आर्ट अफ लिभिङले आयोजना गरेको विश्व संस्कृति महोत्सवलाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

चुनौतीलाई व्यावहारिकरूपमा स्वीकार गरेर राम्रो भविष्यको सपना देख्नुपर्ने उहाँको कथन छ । ‘आगामी पुस्ताले पनि एक परिवारमा खुसी नहुने व्यक्तिले सिंगो परिवारलाई दुःखी बनाउन सक्छ र यस्ता कैयौं परिवारले सिंगो राष्ट्रलाई दुःखी बनाउँछ’, रविशंकर भन्नुहुन्छ– ‘यस अवसरमा थप खुसी ल्याउने प्रतिबद्धता गरौं र समाजमा खुसी बाढौं ।’

संसारभरि छरिएर रहेका हामी एउटै परिवारका हौं भन्दै उहाँले द्वन्द्वका लागि जीवन निकै छोटो भएको र विश्वलाई व्यावहारिक रूपमा विभिन्न चुनौतीको सामना गर्न र राम्रो भविष्यको सपना देख्न आह्वान गर्नुभएको छ । ‘विश्व संस्कृति महोत्सवको उद्देश्य सम्पूर्ण विश्व एउटै परिवार र हामी सबै आफ्नो भिन्नताका साथ मिलेर बस्न सक्छौं भन्ने सन्देश दिनु हो’, रविशंकर भन्नुहुन्छ– ‘समाजका सबै क्षेत्रका मानिसले एकसाथ राम्रो काम गर्न सके विश्वको कल्याण हुने थियो ।’

झन्डै विश्वका १ सय ८० देशबाट दश लाखभन्दा बढीको सहभागितामा सो कार्यक्रम भएको थियो । उक्त महोत्सवमा विश्वका १ सय ८० देशका १७ हजार कलाकारले आ–आफ्नो देशको कला प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुनले यस्ता खालको संस्कृतिले विश्व निर्माणमा पुलको काम गर्ने बताउनुभएको छ ।

नेपालमा दशकौंदेखि आर्ट अफ लिभिङ पछ्याउने गरिरहेका विमल केडियाले आर्ट अफ लिभिङले तनाव डिप्रेसन कम गर्ने र सकारात्मक सोचको विकास गर्ने बताउनुभएको छ ।

फाइदा देखिएकै कारण करिब १ सय ८० देशमा करोडौं मानिसले आर्ट अफ लिभिङ अभ्यास गर्ने गरेका छन् । नेपालमा पनि यसको अनुयायी बढ्दो क्रममा छन् ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वरकुमार सिंह, माननीय विनोद चौधरी र निभा प्रधान लगायतका प्रतिनिधिहरूको सहभागिता थियो ।

विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ संस्थाले विश्व संस्कृति महोत्सव सम्पन्न गरेको छ । सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म वासिङ्टन डिसीस्थित नेसनल मलमा महोत्सव आयोजना गरेको हो।

विश्वका १ सय ८० भन्दा बढी देशकाबाट उक्त कार्यक्रममा सहभागी हुन विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा फिजीका राष्ट्रपति रातु विलियम काटोनिभेरे, सुरिनामका राष्ट्रपति चान सान्तोखी, संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वानकी मुन, भारतका पूर्वउपराष्ट्रपति बेंकैया नायडू, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, भारतका विदेशमन्त्री यस जयशंकर, अमेरिकी सिनेटकी पूर्वसभामुख न्यान्सी पेलोसीलगायत विश्वका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्