बहुउपयोगी योग विधि: ध्यान



डा. क्षितिज बराकोटी

ध्यान अष्टाङ्ग योगको सातौं अङ्ग एवं एउटा अन्तरङ्ग योगविधि हो । यो अष्टाङ्ग योगको अन्तिम अङ्ग समाधिमा पुग्ने अन्तिम खुड्किलो हो । जब धारणा प्रक्रियामा मन बस्छ अर्थात् यताउति गइरहने अस्थिर मन एकाग्र बन्दै स्थिरतातिर अग्रसर हुन्छ तब ध्यानको वातावरण तयार हुन थाल्छ । महर्षि पतञ्जलिले ध्यानको पूर्वावस्थालाई परिभाषित गर्दै भनेका छन्, ‘विभिन्न स्थान, क्षेत्र वा विषयतिर आकर्षित भइरहने अस्थिर एवं चञ्चल इन्द्रिय, मन र चित्तलाई आफ्नो वशमा राख्नको लागि एकै वस्तुमा टिकाउने अभ्यास नै धारणा हो ।’ महर्षि पतञ्जलिले ध्यानका बारेमा योगसूत्र (३.२) मा तत्र प्रत्यैक तानता ध्यानम् अर्थात् धारणाको निरन्तरता नै ध्यान हो भनी व्याख्या गरेका छन् । पतञ्जलि (योगसूत्र १.२) का अनुसार चित्तका वृत्तिहरु रोकिनु नै योग हो भने ध्यानले चित्तमा स्थिरता कायम गर्दछ र यही चित्तवृत्तिको निरोधपछि योगसाधक ध्यानका माध्यमले समाधि हुँदै आफ्नो आत्मस्वरुपमा स्थित हुन पुग्दछ ।ध्यान भनेको साधना गर्ने कुराभन्दा पनि एकाग्रता वा धारणाको अभ्यासका क्रममा स्वतः घटित हुने प्रक्रिया हो । जब ध्यान सफल हुन्छ तब यसबाट अनेक लाभहरु पाउन सकिन्छ ।

ध्यानबाटै सकारात्मक चिन्तनको विकास र नकारात्मकताको अन्त्य हुन्छ ।

ध्यानका प्रभाव एवं लाभहरु

ध्यानको छोटो एवं लामो अभ्यासबाट शरीर, मन, संवेग, चेतना, व्यवहार आदि अनेक विषयमा सकारात्मक प्रभावहरु पर्ने अध्ययन तथा अनुभवहरुले देखाएका छन् । यसले सामाजिक तथा आध्यात्मिक क्षेत्रमा पनि निकै लाभहरु पाउन सकिने देखिएको छ ।धारणाबाट एकाग्रतामा वृद्धि हुन्छ । एकाग्रता शक्तिको द्योतक हो । यसबाट शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाको तीव्र विकास हुन्छ । कुनै पनि काम सफलताका साथ सम्पन्न गर्नका लागि चित्त एवं मनको एकाग्रता जरुरी छ

। एकाग्र हुँदा काम पूर्ण र सफल बन्न सक्छ । एकाग्रताविना गरिएको कार्यमा विलम्बता, असफलता र अपूर्णता हुने सम्भावना बढी हुन्छ । धारणाकै कारण विद्यार्थीले राम्रो अंकका साथ परीक्षा उत्तीर्ण गर्न सक्छ, व्यापारीले व्यापारबाट कमाउन सक्छ, कविको कवित्व प्रस्फुटन हुन सक्छ, कलाकारले कला सृजना गर्न सक्छ, वैज्ञानिकले आविष्कार गर्न सक्छ, साधकले साधनाको परम लक्ष्यलाई प्राप्त गर्न सक्छ । धारणा परम एकाग्रताको नाम हो । धारणाको प्रयोगबाट इन्द्रियहरुको नियन्त्रण, मनोनिग्रह, मनको शान्ति र आनन्द, श्वासप्रश्वासको सूक्ष्मता, नकारात्मकताको नियन्त्रण र सकारात्मकताको वृद्धि, स्मरण क्षमताको विकासजस्ता अनेक लाभहरु प्राप्त हुन्छन् ।
ध्यानका लाभहरु:ध्यानले मनलाई नियन्त्रण गर्दछ । चेतन, अवचेतन एवं अचेतन तीनै प्रकारका मनमा ध्यानको विशेष प्रभाव पर्दछ ।

अवचेतन मन निकै शक्तिशाली हुन्छ र ध्यानले यसलाई अझै सकारात्मक प्रभाव उत्पन्न गरी मनको पुनः डिजाइन र संरचना गर्दछ । यसबाट शरीरमा पनि सकारात्मक मनोशारीरिक प्रभावहरुबाट लाभहरु देखिन थाल्दछन् । ध्यानले नै मस्तिष्क तरंगमा सूक्ष्मता ल्याउने, खुशीकारक हर्मोनहरुको उत्पादन बढाउने, तनावकारक हर्मोनहरुको उत्पादन घटाउने र शरीरको सिम्पेथेटिक र पारासिम्पेथेटिक क्रियाहरुमा खास प्रभाव उत्पन्न गर्ने अध्ययनहरुले जनाएका छन् ।

मानसिक एवं संवेगात्मक लाभ: ध्यानले इन्द्रियहरुको नियन्त्रण गरी बाहिरतिर भट्किइरहेको मनलाई स्थिरतातिर लैजान्छ र चित्तका वृत्तिहरुको निरोध गर्न थाल्दछ । यसबाट मनको दुःख, पीडा, तनाव एवं चिन्ताको गडबडीहरु कम हुने देखाएका छन् । हामीले ध्यानका बारेमा हजारौं शोधहरु भएको पाउन सक्छौं । ध्यानले अनेकौं मानसिक रोग तथा नकारात्मक संवेगहरुलाई घटाएको पनि पाउन सकिन्छ । ध्यानले मनलाई अन्तर्मुखी बनाउने हुँदा यसको अभ्यासबाट मनमा आनन्द आउन थाल्दछ । ध्यानबाटै सकारात्मक चिन्तनको विकास र नकारात्मकताको अन्त्य हुन्छ । ध्यानबाट सोच्ने र निर्णय गर्ने क्षमताहरुको विकास हुन्छ, डर हटेर आत्मविश्वास बढ्न थाल्दछ । मनको कारणले शरीरमा पर्ने असरलाई कम गर्दछ । ध्यानले व्यक्तिको जीवनमा शान्ति, आनन्द र खुशी ल्याउँछ । जीवनको गुणात्मकता वृद्धि गर्दछ । ध्यानले मानसिक स्वास्थ्यको विकास, मनोरोगहरुको व्यवस्थापन र रोकथाम तथा मनोरोगीको पुनस्र्थापनमा सहयोग गर्दछ । ध्यानले कार्यकुशलता वृद्धि गर्ने, स्मरण क्षमता विकास गर्ने, समग्र व्यक्तित्वको निर्माण र विकास गर्नेजस्ता विविध कार्यहरुसमेत गर्दछ ।

ध्यानका सामाजिक लाभहरु: ध्यानले व्यक्तिमा सुसम्बन्ध कायम गर्न र समत्व भावको विकास गर्न सिकाउँछ । ध्यानबाट व्यक्तिमा सात्विक गुणहरुको विकास गर्दछ । यसबाट पारिवारिक वातावरण सकारात्मक हुने, सामाजिक व्यवहार पनि राम्रो बन्दै जाने र सामाजिक भावना बढाउने हुन्छ । यसबाट समाजमा विकृतिहरु घट्ने, मैत्री तथा करुणाको विकास हुने, सहयोग र सहकार्यका विचारहरु बढ्ने, सद्चरित्र र सद्व्यवहार विकास हुनेजस्ता सामाजिक लाभहरु प्राप्त हुन्छन् । ध्यानले समाजमा व्यक्तिलाई कर्मयोगको लागि प्रेरित गर्दछ ।

ध्यानको आध्यात्मिक प्रभाव: ध्यानविना आध्यात्मिक यात्रा र योगको लक्ष्य समाधिसम्म पुग्न सकिँदैन । ध्यानको प्रारम्भिक अभ्यास धारणा हो । ध्यानको गहन साधनाबाट आत्मसाक्षात्कार हुने वा परमात्मा प्राप्त हुने कुरा शास्त्रहरुमा पाइन्छ । अर्थात् ध्यानबाटै मोक्ष एवं कैवल्य वा निर्वाण प्राप्त हुने हुन्छ । व्यक्तिगत जीवनमा ध्यानले करुणा, मैत्रीभाव, दया, प्रेम, आत्मीयता, शान्ति, सदाचारिता, निष्ठा, समता, विवेकशीलता आदि आध्यात्मिक भावहरुको विकास गर्दछ । ध्यानले भौतिकवादी सोचलाई कम गर्दछ ।

स्वस्थ जीवनशैलीका लागि ध्यानको उपयोग: ध्यानको नियमित अभ्यासले व्यक्तिको जीवनमा सात्विक गुणहरुको विकास हुन्छ । व्यक्ति मनको पछाडि भाग्दैन र आत्मसंयममा रहन सक्दछ । यसबाट उसको जीवन सादा र विचार उच्च रहन्छ । व्यक्तिका दैनिकी, रात्रिचर्या, आहारविहार आदि पनि अनुशासित, नैतिक र आदर्शमय बन्न थाल्दछन् ।

ध्यानका केही विधि र अभ्यास
ध्यान अभ्यास गर्नुअघि तल दिइएका विषयहरुमा ध्यान दिऔं:
आहार: ध्यान गर्ने व्यक्तिको आहार सात्विक हुनुपर्छ । मिताहार (थोरै खाना) को प्रयोग गर्नुपर्छ । उत्तेजक र अत्यधिक खानपानले आलस्यता बढ्छ, निद्रा लाग्दछ र ध्यान लाग्न पाउँदैन ।
स्थान:ध्यान साधना गर्ने स्थान शान्त, समतल, कुनै कीरा वा जनावरहरुले असर नपार्ने, सुरक्षित, मन एकाग्र गर्ने र स्वच्छ वातावरणयुक्त हुनुपर्दछ ।

आसनमा परिपक्वता:ध्यानात्मक आसनमा लामो समय बसिराख्ने क्षमता विकास गर्नुपर्दछ । कुश, कम्बल वा सहज खालको चगटीमा बसी साधना अनुरुपको हस्तमुद्रा तथा आसनमा स्थिर हुने साधना गर्नुपर्दछ ।
गुरुको सामीप्यता: ध्यानको लागि गुरुको चयन गर्नुपर्दछ । कुन उद्देश्यका लागि ध्यान गर्ने हो सोही अनुरुपको विज्ञ वा साधक गुरुको अन्तर्गत रही ध्यान सिक्नुपर्दछ ।
धारणाहरुको अभ्यास: ध्यानपूर्व विभिन्न धारणाहरुको अभ्यास गर्नुपर्छ । उदाहरणको लागि नासिकाग्र दृष्टि धारणा, साम्भवी मुद्रा वा दृष्टि धारणा, विन्दु धारणा वा विन्दु त्राटक, ज्योति धारणा, श्वास धारणा, पञ्चमहाभूत धारणाजस्ता विधिहरुको अभ्यास गर्नुपर्दछ । यसमा पनि गुरुको मार्गदर्शन जरुरी हुन्छ । (यसका बारेमा साधनाको अगाडिको अंक हेर्नुहोला ।)

ध्यानका प्रकार

ध्यान अनेक प्रकारका छन् । महर्षि घेरण्डले घेरण्ड संहिता (६.१) मा ध्यानका तीन प्रकार हुने कुरा जनाएका छन्: स्थूल ध्यान, ज्योति ध्यान र सूक्ष्म ध्यान । घेरण्डका अनुसार स्थूल ध्यानभन्दा सय गुणा बढी ज्योति ध्यान र लाख गुणाभन्दा पनि बढी सूक्ष्म ध्यान प्रभावकारी रहेको छ । तर पनि साधकको क्षमता अनुरुप तीनवटै ध्यानहरुको विशेष महत्व छ । ध्यान साधना गुरुको निर्देशनमा गोप्यताका साथ गर्नुपर्दछ ।

स्थूल ध्यान: स्थूल ध्यानमा मूर्ति आदि स्थूल वस्तुको ध्यान गरिन्छ । त्यसैले यसलाई मूर्तिमय ध्यान पनि भनिन्छ । शुरुमा साधकको मनलाई निरन्तर ध्यानमा टिकाइराख्न स्थूल विषयमा ध्यान गराउँदा आरम्भिक अभ्यासमा मनलाई स्थिर राख्न सहज हुन्छ । यसमा मूर्तिमात्र नभएर नदी, ताल, खोलानाला, पहाड, झरना, समुद्र, टापु, सुगन्धयुक्त फूल, फलफूल, कल्पवृक्ष, इष्टदेवको स्वरुप, नाम, मन्त्र, जप आदिको ध्यान गर्न सकिन्छ । गुरुको निर्देशन अनुरुप ध्यान गर्नु बढी प्रभावकारी हुन्छ ।घेरण्ड संहितामा वर्णित स्थूल ध्यानको विधि बताइएको छ । ध्यानात्मक आसनमा बसी हातलाई ज्ञान वा चीन मुद्रामा आँखा बन्द गरेर ध्यान गर्ने तयारी गर्नुहोस् ।

विधि: आफ्नो हृदयमा शुद्ध अमृतको सागरको ध्यान गर्नुहोस् । उक्त समुद्रको बीचमा बालुवामय रत्नले भरिएको रत्नमय सुन्दर टापुको ध्यान गर्नुहोस् । यस रत्नदीपको चारैतिर कदम्बका रूख र अनेक पूmलहरुले सुशोभित छन् । यसरी नै अनेक प्रकारका सुन्दर फूल र सुगन्धित वासनाले सबैतिरको वातावरण ढाकिएको छ भन्ने ध्यान गर्नुहोस् । यसपछि साधकले यसको मध्यभागमा एउटा सुन्दर कल्पवृक्ष रहेको स्मरण (ध्यान) गर्नुहोस् । जसमा चारै वेदहरु नित्य फल र पूmलहरुसमेतबाट सजिएका छन् । साथै त्यहाँ भमरा, कोइलीको आवाज गुञ्जायमान छ । साथै मणिको मण्डप छन्, ती कुराहरुमा मनलाई स्थित (अर्थात् ध्यान) गर्नुहोस् । यसको बीचमा एउटा सुन्दर पलङमा गुरु वा मन पर्ने भूषण र वाहनयुक्त इष्टदेव विराजमान भएको ध्यान गर्नुहोस् ।यसरी नै कुण्डलिनी शक्तिको जागरणका लागि गरिने चक्रहरुको ध्यान पनि स्थूल ध्यान हो ।

ज्योति ध्यान
ज्योतिर्मय ध्यानमा ज्योतिर्मय ब्रह्मको ध्यान गरिन्छ । मानव शरीरमा विभिन्न ऊर्जाकेन्द्रहरु अवस्थित छन् । यी शक्तिका स्रोतहरुमा ईश्वरको ज्योतिस्वरुपको निरन्तर चिन्तन नै ज्योति ध्यान हो । यस ध्यानको साधनाबाट आत्मसिद्धी र योगसिद्धी हुने कुरा घेरण्ड संहितामा बताइएको छ ।
पहिलो विधि: मूलाधार चक्रमा सर्पाकार कुण्डलिनी छ, यही स्थानमा दीपज्योतिका समान उज्यालो स्वरुपमा जीवात्मा विद्यमान छन् । यही ज्योतिस्वरुप ब्रह्मको ध्यान अर्थात् तेजोमय ज्योतिका रुपमा ब्रह्म स्वरुपको ध्यान गर्नु नै ज्योति ध्यान हो ।
दोस्रो विधि: यसरी नै भ्रुमध्य वा आँखिभुइँको बीच (जसलाई भृकुटी वा आज्ञाचक्र पनि भनिन्छ), त्यहाँ ज्योति स्वरुपको चिन्तन गर्दै ओम्काररुपी ब्रह्मको ध्यान गर्न सकिन्छ ।

सूक्ष्म ध्यान
सूक्ष्म ध्यानमा चक्र तथा कुण्डलिनी शक्तिको ध्यान गरिन्छ । मानव शरीरमा विभिन्न चक्रहरुको ध्यान गरी मूलाधार चक्रमा अवस्थित सुषुप्तावस्थामा रहेकी शक्तिलाई जागृत गर्दै उध्र्वमुखी यात्राका क्रममा अन्य चक्रहरुको भेदन गरिन्छ र उक्त शक्तिलाई सहस्रधार चक्रमा पु¥याई शिवस्वरुपमा मिलन गराइन्छ ।

यसको विधि:यो विधि पढेकै आधारमा स्वयं अभ्यास गर्ने होइन, गुरुको प्रत्यक्ष प्रशिक्षण चाहिन्छ । अन्यथा विधि नपुगेर वा अलमल परेर मन झन् भट्किने डर हुन्छ । यसमा चक्रहरुको समग्र जानकारी हुनुपर्छ र साधनाको क्रम मिल्नु पनि पर्दछ । चक्रशुद्धि, चक्रको साधना गर्दै त्रिग्रन्थि (ब्रह्म, विष्णु र रुद्रग्रन्थि) हरुको भेदन गर्ने प्रक्रियाहरु हुन्छन् । यस ध्यानका साथमा शाम्भवी मुद्राको साधनालाई पनि प्राथमिकता दिनुपर्ने कुरा उल्लेख गरिएको छ । तथापि अन्य लय तथा नादयोगविधिहरुलाई पनि प्रयोग गर्न सकिन्छ । यस ध्यानबाट आत्मसाक्षात्कार हुने मानिएकोले सबैभन्दा विशेष ध्यानका रुपमा सूक्ष्म ध्यानलाई लिइएको छ । (ध्यानको विषय निकै व्यापक छ । यसका अनेक विधिहरु प्रचलनमा रहेका छन् । प्रेक्षाध्यान, विपश्यना ध्यान, भावातीत ध्यान, गतिशील ध्यान, निर्मल ध्यान आदि अनेक प्रकारका ध्यान विधिहरुको परिचय र प्रयोगबारे आगामी अंकमा चर्चा गरिनेछ । महर्षि पतञ्जलिले सूत्रबद्ध गरेका

ध्यानका पूर्वका योगाङ्गहरु जस्तै: यम, नियम, आसन र प्राणायाम, प्रत्याहार र धारणाका विषयमा यसभन्दा अगाडिका अंकहरुमा चर्चा गरिसकिएको छ । आगामी अङ्कहरुमा ध्यानलगायत अरु विषयहरुमा थप जानकारी दिइनेछ ।)

प्रतिक्रिया दिनुहोस्