पूर्वप्रधानन्यायाधीश कार्कीद्वारा फाउन्डेसन उद्घाटन

अभियानको शुरुवात  



काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको आरोप लगाउनुभएको छ । मुलुकको राजनीति प्रति कटाक्ष गर्दै मुलुक परिवर्तन गर्न नयाँ अभियान शुरु हुनुपर्ने उल्लेख गर्नुभयो ।

 हिमालय मातृभूमि फाउन्डेसनको  उद्घाटन गर्दै उहाँले मुलुकको शासन प्रणालीलाई परिवर्तन गर्न नयाँ जोस र जागर आवश्यक भएको बताउनुभयो । उहाँले फाउन्डेसनले तयार पारेको सुशासन, विकास र सम्वृद्धीको लागि राष्ट्रिय अभियानको समेत उद्घाटन गर्नुभएको थियो । टीका पुरीको अध्यक्षतामा गठन भएको अभियानमा विभिन्न निकायका व्यक्तित्वहरू सहभागी भएका छन् ।

अभियानले देशव्यापी रूपमा  संगठन बनाउने तयारी गरेको छ । आज आयोजित कार्यक्रममा अभियानको अवधारण पत्र सार्वजनिक गरेको थियो । कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष पुरीले देशको आर्थिक , राजनीतिक, शैक्षिक अवस्था दयनीय बन्दै गएपछि अभियान  स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–हरेक वर्ष भारत बाहेकका मुलुकमा १ लाख बढी युवा बाहिरिएका छन् ,  वैदेशिक अध्ययन गर्न विदेशीएका युवा नेपाल नफर्कने अवस्थामा पुगेको छ । राजनीतिक दलले मुलुक परिवर्तन गर्न नसकेपछि अभियानको आरम्भ गरेका हौ । उहाँले अभियान कुनै दलगत नहुने जिकिर गर्नुभयो । देशलाई आमूल परिवर्तन गर्न अभियान शुरु गरेका हौ–उहाँले भन्नुभयो । २०४६ , २०६२-०६३ सालको  राजनीतिक परिवर्तनले जनतालाई राहत दिन नसकेपछि अभियान शुरु गरेको उहाँको धारणा थियो । उहाँले अभियानले मुलुकलाई कायापलट गर्ने , भ्रष्टाचारमुक्त देश बनाउने, विदेशीएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था हुने , माफियातन्त्र अन्त्य हुने बताउनुभयो ।

अभियानले तयार पारेको अवधारणापत्रको बारेमा पूर्व सचिव शारदाप्रसाद त्रिताल, राजनीतिक विश्लेषक मुमाराम खनाल, पुर्वराजदुत महेश दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्याब्सन अध्यक्ष डिके ढुंगाना , नेशनल प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने लगायतले शुभकामना दिनुभएको थियो ।

 कार्यक्रममा पुरी अध्यक्ष रहनुभएको कार्यसमितिका केही पदाधिकारीहरूको नाम सार्वजनिक गरेको थियो । कार्यसमितिको महासचिवमा कुमार घिमिरे, सचिवमा हरिराज भट्टराई र सदस्यमा यम भट्टराई, शेह अगुरुद्धिन, धन आचार्य रहनुभएको छ । बाकी कार्यसमितिका पदाधिकारी र सदस्यको नाम उल्लेख गरिएको छैन ।

देशव्यापी अभियान सञ्चालन गर्न लागेको फाउन्डेसनले प्रदेश, जिल्ला र पालिका स्तरमा कार्यसमिति बनाउनेछ । महासचिव घिमिरेले फाउन्डेसनले सबै प्रदेशमा विशेष कार्यक्रम आयोजना गर्ने बताउनुभयो । कार्यसमितिमा प्रत्येक प्रदेशबाट २–२ जना रहने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्