हेल्थ टिप्स- इयरफोनको अधिक प्रयोग हानिकारक



कसैलाई फोन गर्दा होस् वा संगीत सुन्दा अथवा भिडियो हेर्दा नै किन नहोस्, घण्टौंसम्म इयरफोन वा हेडफोन कानमा राख्ने क्रम बढ्दो छ । हेडफोन÷इयरफोन लगाएर घरमै बसी–बसी अफिसियल मिटिङमा सहभागी हुने, अनलाइनबाट पढाइ गर्नेहरु पनि कम छैनन् । हेडफोन÷इयरफोनको प्रयोग सुविधा र गोपनीयताको हिसाबले त राम्रो होला, साथै कम समय प्रयोग हुँदा त्यति फरक नपर्ला तर लगातारको प्रयोगले भने नराम्रो असर पर्छ ।

सन् २००२ मा पबमेड सेन्ट्रलमा प्रकाशित एक लेखमा उल्लेख भएअनुसार आर मजलान, एलसाम, ए थोमस, आर सइद र बी लियाबले मलेसियामा एक अनुसन्धान गरेका थिए । संयुक्तरुपमा गरिएको सो अनुसन्धानका क्रममा मलेसियाको सेलकम एसडीएनका १३६ ग्राहकमा कानको जाँच गरियो । यसमा २५ प्रतिशतभन्दा बढी व्यक्तिको सुन्ने क्षमतामा कमी पाइएको थियो । ती व्यक्तिले हेडफोन लगाएर लगातार ७ घण्टासम्म कल रिसिभ गर्ने गरेको अनुसन्धानबाट थाहा भयो । यसले गर्दा सुन्ने क्षमतामा कमी आएको रहेछ ।

कतै तपाईंको पनि हेडफोन÷इयरफोनबाट आउने आवाजले कानको पर्दामा गम्भीर क्षति पु¥याएको त छैन ? ईएनटी विशेषज्ञ डा. अंकुश अरोराले लामो समयसम्म हेडफोन र इयरफोन प्रयोग गर्दा हानि हुने बताएका छन् । उनका अनुसार कानभित्र पर्दा अर्थात् इयरड्रममा धेरै नसा हुन्छन्, जसमा मस्तिष्कको समेत लिंक भएको हुन्छ । ठूलो आवाज सुन्दा इयरड्रम कम्पन भई यसमा दबाब बढ्छ । त्यसैले इयरफोन÷हेडफोन लगाउँदा सुन्न सक्ने क्षमतालाई असर गर्न सक्छ ।

घरमा बसेर अफिसियल मिटङमा सहभागी हुँदा, अध्ययन वा कुरा गर्दा इयरफोन प्रयोग गर्नुहुन्छ भने होसियार ! लामो समयसम्म यसको प्रयोगले तपाईंलाई बहिरो बनाउन सक्ने डा. अरोराले बताएका छन् । यसकै कारण सन् २०५० सम्ममा विश्वमा ७० करोडभन्दा बढी मानिसको कान खराब हुने डब्लुएचओले समेत चेतावनी दिएको छ । इयरड्रमको अत्यधिक कम्पनका कारण सुन्ने कोशिकाहरूले आफ्नो संवेदनशीलता गुमाउँछन् र बहिरोपन हुने गर्छ ।

इयरफोन वा हेडफोन कानका लागि कुनचाहिँ कम हानिकारक होला भन्ने पनि बुझ्नुपर्छ । इयरफोन कानभित्र पु¥याइन्छ । यसले गर्दा इयरफोन र कानको पर्दाबीचको दूरी कम हुन्छ । जबकि हेडफोन कानबाहिर हुन्छ । त्यसैले कानको पर्दा र हेडफोनको दूरी कम हुन्छ । यसले गर्दा हेडफोन अलि कम हानिकारक हुन्छ ।

डा. अंकुशका अनुसार बहिरोपन र कानको कुनै पनि समस्याबाट बच्न चाहनुहुन्छ भने सबैभन्दा पहिले चर्को स्वरमा गीत सुन्न छोड्नुहोस् । यदि तपाईं सुन्नै चाहनुहुन्छ भने आवाज कम गर्नुहोस् । साथै हेडफोन वा इयरफोन राम्रो गुणस्तरको हुनु जरुरी छ । यदि तपाईंलाई आफूले कान कम सुनिरहेको महसुस भएको छ भने तुरुन्तै कानको चिकित्सकलाई देखाउनुहोस् ।

(रोहिणी घिमिरे, साधना हेल्थ, वि.सं. २०८० साउनबाट साभार)

प्रतिक्रिया दिनुहोस्