पोखरा–बेलापुर सडक खण्डमा गुणस्तरहीन काम

0
Shares

डडेल्धुरा। 

डडेल्धुराको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे गर्नेक्रममा निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरिरहेको र गुणस्तरहीन काम भएको गुनासो स्थानीयको छ ।

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको भित्रिमधेस क्षेत्र हुँदै बझाङ जिल्लाको देउरा जोड्ने सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माणाधिन सडक खण्डमा गुणस्तरहीन काम भइरहेकोमा स्थानीयले गम्भीर आपत्ति जनाएका छन्  । सदरमुकामस्थित अमरगढी नगरपालिका–७ र नवदुर्गा गाउँपालिका–१ जोडने जिल्लाकै महत्त्वपूर्ण सडक योजना पोखरा–बेलापुर सडक खण्डमा कालोपत्रेका लागि निर्माण गरिएका नाली र पर्खाल कमसल भएको स्थानीय धिरज बुढाऐरले बताए ।

पोखरा–बेलापुर सडक खण्डको १० किलोमिटर कालोपत्रे गर्न २० करोड ४८ लाख ८५ हजार रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालय डडेल्धुराले केएस कन्स्ट्रक्सनसँग २०७७ असार २८ गते सम्झौता गरेको थियो । २०८० असार २७ गते काम सम्पन्न गर्ने सर्तमा  सडक कालोपत्रे गर्ने कार्यमा सम्झौता भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराका डिभिजन प्रमुख नवराज रावलकारअनुसार सडक निर्माणको काम हालसम्म करिब ८० प्रतिशत मात्रै पूरा भएको छ ।

नेकपा (माओवादी केन्द्र) नवदुर्गा गाउँपालिका कमिटीका अध्यक्ष धर्म विकले गोरुले सिङ कन्याउँदा पनि सडकको पर्खाल भत्किने गरेकाले सडक कालोपत्रे गर्ने काम निकै गुणस्तरहीन भइरहेको गुनासो गरे । उनले सम्बन्धित निकायले अनुगमन गरेर काममा सुधार ल्याउन जरुरी भएको बताए । राष्ट्रिय जनमोर्चा नवदुर्गाका अध्यक्ष प्रेम बुढाऐरले स्थानीयले काम रोकेर मापदण्ड अनुसार सडक निर्माण गर्न लगाउनुपर्ने बताए ।

नेपाली काँग्रेस बिपीका नेता रमेशबहादुर ऐरले निर्माण कम्पनीले चरम लापरबाही गरिरहेकाले  स्थलगत अनुगमन गरेर दोषीउपर कडा कारबाही गरिनुपर्ने औँल्याए । नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले ठेक्का सम्झौतामा उल्लेख भएअनुसार काम नभएको गुनासोको सन्दर्भमा गाउँपालिकाका प्राविधिकसहित सर्वपक्षीय अनुगमन गर्ने बताएका छन्  ।

उनले  गाउँपालिकामा सञ्चालित कुनै पनि विकास निर्माणका काममा गुणस्तरहीन काम भएको पाइएमा कानुनअनुसार दोषीलाई कडा कारबाही गरिने बताए । ट्रयाक खोलेको झण्डै तीन दशकपछि दैजी–जोगबुडा–डडेल्धुरा–बझाङ सडकको पोखरा–बेलापुर सडक खण्डको १० किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले सडक निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम गरेको सन्दर्भमा डिजाइन स्टीमेट अनुसार काम भइरहेको दाबी गरेको छ । सडक कालोपत्रे गर्ने काम निरन्तर सञ्चालन भएको र विभिन्न बाधा अड्चनका कारण केही ढिलाइ भएको कम्पनीले जनाएको छ ।