स्वास्थ्य परीक्षणपछि सार्वजनिक भयो  सामूहिक बलात्कारको घटना 

युवतीको पेटमा पाँच महिनाको गर्भ

0
Shares

डडेल्धुरा ।

बलात्कारमा परेर गर्भधारण गरेकी युवतिले स्वास्थ्य परीक्षण गरेपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिहीबार पत्रकार सम्मेलनगर्दै सामूहिक बलात्कारमा संलग्न चार जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

गत भदौ ३० गतेका दिन भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । भागेश्वर गाउँपालिकाको नियमित बार्षिक कार्यक्रमअन्तर्गत सम्पन्न भएको स्वास्थ्य शिविरमा भिडियो एक्सरे गर्दा एक युवतिले सामूहिक बलात्कारपछि पाँच महिनाको गर्भ रहेको पाइएको हो । उनलाई केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो । भिडियो एक्सरेमा पाँच महिनाको गर्भ रहेको देखिएपछि पीडित विवाहित युवतीका परिवारका सदस्यहरु जिल्ल परेको बताउँछन्  ।

पीडित युवतीका श्रीमान् विगत डेढ वर्षदेखि रोजगारीका लागि भारतमा कार्यरत थिए । श्रीमान् डेढ वर्षदेखि भारतमा रहेको समयमा पाँच महिनाको गर्भ देखिएपछि युवतीका परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामीकाण्डेमा मौखिक जानकारी गराएको प्रहरीले जनाएको छ । ‘वैशाख महिनामा सामूहिक बलात्कार भएको र घटनामा संलग्न एक युवकलाई चिन्छु भन्दै मौखिक रूपमा प्रहरी चौकीलाई जानकारी गराइएको थियो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दीपककुमार कार्कीले पत्रकार सम्मेलनमा भने ।

युवतीले बताएको हुलियाको आधारमा प्रहरीले असोज २ गते मंगलबार सामूहिक बलात्कारमा संलग्न चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका– ३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन ।

डीएसपी कार्कीका अनुसार चारैजना सामूहिक बलात्कारमा संलग्न रहेको पीडित युवतीको भनाइ छ । पीडित युवतीका ससुराले चारजनाको नाममा किटानी जाहेरी पनि दिइसकेको र जिल्ला अदालत डडेल्धुराबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

‘२० वर्षीया युवतीको पहिलोपटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझोगोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अभियुक्तहरुलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भने, ‘बैशाख ५ गते बलात्कार हुँदा चारजना र त्यसपछि १२ गते दुईजना संलग्न भएको खुलेको छ । बयानका क्रममा आरोपितले पनि स्वीकार गरिसकेको अवस्था हो ।’

बलात्कारपछि गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको डिएसपी कार्कीले बताए । ‘श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखियो,’ उनले भने । पीडित युवती एक छोरीकी आमा हुन ।