गाईघाट बसपार्क जलमग्न निर्माण काम अवरुद्ध



उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा बस पार्कको निर्माण कार्य लामो समयदेखि अवरुद्ध भएको छ । अधुरो काम गरेर निर्माण व्यवसायीले छाडेका कारण बस पार्किङ गर्न तथा यात्रीलाई समेत समस्या भएको छ भने वर्षाका कारण खाल्डाखुल्डीमा पानी जमेर पोखरी झैँ भएको छ ।

उदयपुर हिमाली यातायात व्यवसायी संघका अध्यक्ष ओमभक्त मेनालीका अनुसार बसपार्कको काम निर्माण व्यवसायीले अधुरो बनाएर छाडेको र खाल्डाखुल्डीमा पानी जमेर पोखरी झैँ भएको छ । बस पार्किङ गर्न समस्या भएको र अर्को तर्फ पानी जमेका कारण विभिन्न किटाणु जम्मा भै यातायात मजदूर तथा यात्रुहरूमा रोग उत्पन्न हुने भय रहेको बताए ।

मैनालीका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजले यो काम हेर्ने गरेकोमा काम अघि बढाउन पटक पटक अनुरोध गर्दा पनि बेवास्ता गरेको बताए । मैनालीले निर्माण व्यवसायीले तोकिएको समय सीमाभित्र काम सक्ने गरी काम नगरेको र बसपार्कमा बस राख्न नहुने गरी पानी जमेर समस्या भएको बताए । खाल्डा खुल्डी निर्माण व्यवसायीले भर्नु पर्ने हो तर लिएको जिम्मेवारी निर्माण व्यवसायीले पुरा गर्न नसकेको बताए ।

यस विषयमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतसँग सम्पर्क गर्दा आफूले निर्माण व्यवसायीलाई काठमाण्डौमा भेटेर बसपार्कको काम छिटो सम्पन्न गर्न अनुरोध गरेको र निर्माण व्यवसायीले१ व्र्ष म्याद थप गरिसकेकोले आउँदो असोज कार्तिकबाट काम शुरु गर्ने बताए ।

जनकपुरको रमण आइएसएनबि जेभिले २०७६ सालमा असार ३१ गते रु १४ करोड ७६ लाखमा निर्माणको जिम्मा लिएको सो बसपार्क निर्माण कार्य ५५ प्रतिशत मात्र भएको छ । सोही अनुसार रकम पनि ३२ प्रतिशतमात्र भुक्तानी भएको नेपाल सरकार शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका प्रमुख डिई सचिन्द्र देवले बताए । काम सक्नु पर्नै समय २०८० असार ३० गते भए पनि समयमा काम नगर्दा काम परा हुन सकेन । बसपार्कको बाँकी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक पटक अनुरोध गरेको र गत असारमा निर्माण अवधि समाप्त भएपछि अवधि बढाउन निवेदन दिएकोमा एक वर्ष अवधि थपिएको डिई देवले बताए ।

निर्माण व्यवसायीले तोकिएको समयमा काम पुरा नगरेका कारण कालो सूचिमा राख्ने कानुनी कार्वाहीको प्रक्रिया अघि बढाउने प्रयास भएको तर अवधि थपकालागि निवेदन दिएकोले एक पटक काम गर्न समय दिएको देवले जानकारी दिएको छ । निर्माण व्यवसायीबाट अग्रिम जमानी वापतको रकम रु २ करोड ४० लाख सघन शहरी तथा भवन निर्माण आयोजनाले बैंकलाई अनुरोध गरेर कार्वाही स्वरुप झिकाएको डिई देवले बताए । पानी जमेको खाल्डाखुल्डीमा माटो बालुवा ढुङ्गा भर्ने विषयमा भने डिई देवले यो काम नगरपालिकाले गर्नु पर्ने बताए । तर नगर प्रमुख बस्नेत तथा यातायात व्यवसायी अध्यक्ष मैनाली र कोषाध्यक्ष नारायण ठकुरीले भने बसपार्क निर्माणको जिम्मा लिने निर्माण व्यवसायीले नै खाल्डाखुल्डी भर्नु पर्ने बताएका छन् ।

यस विषयमा निर्माण व्यवसायीका प्रतिनिधि सन्तोष यादवसँग सम्पर्क गर्दा मोवाइल स्वीचअफ भएकोले सम्पर्क हुन सकेन त्यसैले जानकारी दिएको बताए । गाईघाट बसपार्कबाट साना ठूला सवारी साधन गरी दैनिक करीब ३ सय सवारी साधन आवत जावत गर्ने गरेको र हिलो धुलोले गर्दा यात्री र यातायात मजदुरलाई सास्ती हुने गरेको जानकारी दिंदै अध्यक्ष मेनालीले पानी नपर्दा धुलो धुँवाले रोग उत्पन्न गराउने हुन्छ । आफुले पनि डिई देवलाई पटक पटक नै फोन गरेर छिटो काम सक्न र निर्माण व्यवसायीलाई काम नसकी भुक्तानी नदिन अनुरोध गर्दा विवाद गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्