३१ वर्षपछि साँगामा प्रहरीको आफ्नै भवन

0
Shares

काभ्रे । 

प्रहरी चौकी साँगाको भवन उद्घाटन गरिएको छ । प्रहरी चौकी स्थापना भएको ३१ वर्ष पछि साँगामा प्रहरीले आफ्नै पक्कि आधुनिक भवनबाट सेवा शुरु गर्ने अवसर प्राप्त गरेको हो ।

आईतबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव धुर्व गैडाले भवनको उद्घाटन गर्नु भयो । २ करोड १६ लाख रुपैयामा निर्माण सम्पन्न भएको भवन २०७८ साल बैशाख २० गतेबाट निर्माण प्रारम्भ भएको थियो ।

भवनको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै सचिव धुर्व्र गैडाले प्रहरी समायोजन हुन नसक्दा राज्यले ब्यहोर्नु परेको ब्यवहार तथा प्रहरी भित्रको मनोबल उकास्न कठिन भएको बताए । प्रहरी सुरक्षाको आधार भएकाले त्यसको मजबुती र संस्थागत विकासका लागि सरकारले ध्यान दिएको सचिव गैडाले बताए । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणाले प्रहरीको चुनौती बन्दै गएको सडक दुर्घटना तथा बालबालिकाहरुको अपराधमा संलग्न जस्ता विषयलाई प्राथमिकतामा राखेर नागरिकहरुको सुरक्षालाई ध्यान दिएको बताईन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गरी नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउने अभियानमा प्रहरी चौकीको उद्घाटन थप सहयोगी र महत्वपूर्ण हुने बताईन् । उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको सिमामा रहेको प्रहरी चौकीबाट प्रदान हुने सेवामा गुणस्तर हुने प्रजिअ शर्माले बताईन् ।

जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले समग्र क्षेत्रको शान्ति सुरक्षालाई प्रविधिमैत्री बनाउँदै नागरिकहरुलाई सुरक्षाको अनुभुति हुने गरी कार्य गर्न प्रहरीलाई निर्देशन दिदै नाकाबाट हुन सक्ने विभिन्न अपराधिक कृयाकलाप र अन्य घटनामा सुक्ष्म निगरानी बढाउन निर्देशन दिए । जिल्लामा केहि समय अघि कटुञ्जे प्रहरी चौकीको उद्घाटन गरिएको थियो ।

तत्कालिन वडा अध्यक्ष गौरी राउत लगायत जनप्रतिनिधिहरुको टिम र विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहयोगमा जग्गा प्राप्ति पछि निर्माण कार्य शुरु भएको प्रहरी चौकीले थप सेवा दिन सहजिकरण गर्ने वडा अध्यक्ष टुल्कु लामाले बताए ।

उक्त चौकीबाट बनेपा नगरपालिका वडा नम्वर १२, १३ र १४ नम्वर वडाका नागरिकको सुरक्षा र सिमाको चेकजाँच समेत हुनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, भवन निर्माणका इन्जिनियर एसपी इश्वर थापा लगायतले भवन निर्माण पछिको गुणस्तरलाई ध्यान दिन सुझाव दिएका थिए ।