बाल दिवसमा ‘सामुदायिक कुकुर’का कुरा



काभ्रे। 

राष्ट्रिय बाल दिवसमा बनेपा नगरपालिकाले  जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम आयोजना गरेको छ । नगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुले नगरपालिकाका जनप्रतिनिधिहरुसँग गुनासै गुनासा राखेका छन् ।

बनेपा नगरपालिका स्थित समता निकेतनमा अध्ययन गर्ने मनोज दाहालले विद्यालय आउँदा र जाँदा सडकमा भएका सामुदायिक कुकुरका कारण डर र त्रास मात्रै भएको बताए । ‘सामुदायिक कुकुरहरु घुक्दा विद्यालय जान र आउन डर लागेको छ’–विद्यार्थी मनोज दाहालले भने–‘कुकुरले टोक्यो भने रेविज लाग्छ भन्ने थाहा छ तर कुकुर घुकेर विद्यालय आउन जान भएको समस्याका बारेमा नगरपालिकालाई यस अघि  जानकारी गराएको भए पनि सामुदायिक कुकुर नियन्त्रण हुन सकेन किन ?’ मनोजकै प्रश्नसँग मेल खाने गरी आर्दश विद्या मन्दिर बनेपामा अध्ययनरत विद्यार्थी सुमन हुमागाईले पनि सामुदायिक कुकुरहरुको नियन्त्रण नहुँदा विद्यालय जान आउन समस्या भएको बताए ।

शिक्षा सदन माध्यमिक विद्यालयमा अध्ययनरत छात्राले बिहानीको समयमा हुने कक्षामा शिक्षिका नभएकै कारण छात्राहरुलाई आवश्यक भएका बेला खुलेर कुरा गर्न नसकेको बताइन् । महिनावारी भएको बेला प्रयोग गर्नु पर्ने प्याड माग्दा शिक्षकहरु झर्कने, थाहा छैन भन्ने र बालमैत्री ब्यवहार नगर्ने गरेको उनले बताइन् । काभ्रे बहिरा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले ब्यवस्थित छात्राबास, छात्राबासमा विद्यालय नर्स तथा कक्षा कोठा र भाषा जान्ने शिक्षक आवश्यक भएको बताए । काभ्रे बहिरा विद्यालयमा एउटै कोठामा तीनवटा कक्षा सञ्चालन हुँदै आएको छ ।

विद्यार्थीहरुले विद्यालयमा कक्षा कोठा, ल्याब, पाठयपुस्तक र त्यसमा प्रयोग भएका पाठ्य सामाग्री, स्थानीय पाठ्यक्रम, अतिरिक्त क्रियाकलाप, योग्य शिक्षक तथा पूर्वाधार युक्त विद्यालयको निर्माण, दिवा खाजा र त्यसको पूर्ण व्यवस्थापन लगायतका विषयमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका छन् ।

बालबालिकाहरुलाई विद्यालय, घर तथा समुदायमा हुने मानसिक तनावको व्यवस्थापन विद्यालय तहबाट समाधान गर्न मनोपरामर्शदाता आवश्यक रहेको बताएका थिए । व्यवहारिक शिक्षा, प्रयोगात्मक शिक्षा, संस्कार सहितको शिक्षा, बाल श्रम न्यूनीकरण, विद्यालयको नियमित अनुगमन, बाल क्लबको गठन तथा त्यसको प्रभावकारीताका लागि स्थानीय सरकारले ध्यान दिन सुझाव दिए । विद्यालयहरुमा प्राथमिक उपचारको व्यवस्था, निजी तथा सामुदायिक विद्यालयमा फरक नगरी शिक्षक र विद्यार्थीहरुलाई तालिम लगायतका सुविधा आवश्यक रहेको बताए । सडकका कारणा विद्यालय जान आउन समस्या भएको, पुलबजारमा बाढी आउँदा बनेपाका सबै विद्यालयमा असर परेको त्यसको निराकरण गर्न विद्यार्थीहरुmले सुझाव दिए । डिजिटल माध्यमबाट अध्यापनका लागि विद्यालयहरुलाई सहयोग गर्न विद्यार्थीहरुले अनुरोध गरे ।

नगर प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाहरुले उठाएका सवालको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले बालबालिकाहरुका लागि शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा लगानी गरेको नगर प्रमुख शाक्यले बताए । केही केही विषय संघ सरकारसँग समेत जोडिएकाले स्थानीय सरकारले समाधान गर्न नसकेको नगर प्रमुख शाक्यले बताए । विद्यालय तहमा अध्ययन गर्ने २४ हजार बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गरी उपचार गराउने व्यवस्था गरिएको नगर प्रमुख शाक्यले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई नमुना घोषणा गर्ने गरी कार्यक्रम सुरु गरिएको बताउँदै शाक्यले बालबालिकारुका आवाजलाई नीतिगत रूपमै व्यवस्थापन गर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख विमला सापकोटाले बालबालिकाहरुले उठाएका समस्या र सुझावलाई कार्यान्वयन गरिने बताइन् । छात्राहरुले उठाएको महिला शिक्षिका तथा प्याड प्राप्तिमा भएका समस्यालाई विद्यालय तहबाटै समाधान गर्ने बताए । विद्यार्थीहरुले उठाएका विषयलाई नीतिगत आधारमा र केही व्यवहारिक रुपमा समेत समाधान गर्ने बताउँदै उपप्रमुख विमला सापकोटाले अन्य समयमा पनि नगरपालिकालाई सुझाव दिन अनुरोध गरिन् ।

 कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईँ तथा अन्य शाखाका प्रमुखहरु, विद्यार्थी र विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । बनेपा नगरपालिकामा ५ वटा वडा बालमैत्री घोषणा भइसकेका छन् भने बाँकी वडाहरु प्रक्रियामा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख विजया सुवेदीले बताइन् ।

जिल्लाका विभिन्न पालिकाहरुले बाल दिवस विभिन्न कार्यक्रमका साथ आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्