अपार्टमेन्टमा आगलागी : तीन बालबालिकासहित दर्जनौंको मृत्यु



हनोई एजेन्सी ।

भियतनामको राजधानी हनोईको एक आवासीय भवनमा आगलागी हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले उनीहरूलाई भवनबाट बाहिर निकालेका छन् । अधिकारीहरूले ५४ जनालाई अस्पताल पु¥याएका छन् ।

सार्वजनिक सुरक्षा उपमन्त्रीले भान टुयेनले आगलागीबाट ठूलो जनधनको क्षति भएको बताउनुभएको छ । मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको बताइएको छ ।

“मैले सहायताको लागि धेरै चिच्याएको सुनें । हामीले उनीहरूलाई केही सहयोग गर्न सकेनौं,” भवन नजिकै बस्ने होवा नाम जनाउने एक महिलाले भन्नुभयो । “अपार्टमेन्ट यति बन्द छ कि भाग्ने कुनै बाटो छैन, पीडितहरूलाई बाहिर निस्कन असम्भव छ,” उहाँले एएफपीसँग भन्नुभयो ।

एएफपीका फोटोग्राफरहरूले रातभर घटनास्थलमा खिचेका तस्बिरहरूमा भवनको कौसीहरूबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिन्छ । बुधबार बिहानसम्म आगो निभाइएको थियो तर दक्षिणपश्चिम हनोईको एक आवासीय क्षेत्रको साँघुरो गल्लीमा रहेको उक्त भवनमा पुग्न उद्धारकर्मीहरूले घन्टौंसम्म संघर्ष गरेका थिए ।

उक्त कम्प्लेक्समा करिब १५० जना मानिस बसोबास गर्दै आएको अधिकारीहरूले बताएका छन् । अर्का प्रत्यक्षदर्शी हुओङका अनुसार आगोबाट बच्न एउटा कोठाबाट सानो बालकलाई फ्याँकिएको थियो । उहाँले भन्नुभयो, “जताततै धुवाँ थियो । त्यहाँ एउटा सानो केटो अग्लो तलाबाट फ्याँकिएको थियो, मलाई थाहा छैन ऊ बाँच्यो वा बाँचेन, यद्यपि मानिसहरूले उसलाई सुरक्षित गर्न एउटा म्याट्रेसको प्रयोग गरेका थिए ।”रासस

प्रतिक्रिया दिनुहोस्