कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

0
Shares

काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारवाही गरिने बताएका छन् ।

इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले आफूले ईजिष्टमा रहेका बेला कान्तिको घटनाका विषयमा थाहा पाएको बताउँदै लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोषन पोखरेललाई फोन गरेर घटनाका विषयमा छानविन समिति बनाएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएका बताए ।

मन्त्री बस्नेतले आफूले यस विषयमा थप बुझेर दोषीमाथि कडा कारवाही गर्न पछि नपर्ने बताए । स्वास्थ्य अवस्था जटिल भएकी एक बालिकालाई आकस्मिक कक्ष बाहिर घण्टौ राखिएको र उपचार नपाई ज्यान गएको भन्ने खबर सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

अस्पतालले डा प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानविन समिति गठन गरेको हो । उक्त समितिलाई भदौ १८ गते सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले १८ गते साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि सोही साँझ ७स्१० बजे रेजिशाको मृत्यु भएको थियो ।