क्राइम रिपोर्ट- अपराध र अवैध कारोबारको ग्राफ चुलिँदै, प्रहरीमाथि आक्रमण, बेवारिसे शव फेला



काठमाडौं । अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

कञ्चनपुर, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही नगरपालिका–३ मोतिपुर बस्ने २५ वर्षीय हरिश रेग्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु।प।प्र ०३ ००१ प ०४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हरिशलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–८ कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ ग्राम ८५ मिलिग्रामसहित सोही नगरपालिका–१० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–२ वालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २१ वर्षीय सन्जीव चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–९ बस्ने १९ वर्षीय अशोक नेम्वाङ र सोही नगरपालिका–१० खयरडाँगी बस्ने ३० वर्षीया दिपा चौधरी रहेका छन् ।

लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले अशोकलाई २ सय मिलिग्राम उक्त पदार्थ तथा नगद ४ हजार रूपैयाँसहित र दिपालाई १ ग्राम ५ सय ५० मिलिग्राम उक्त पदार्थ तथा ३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका–९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित कैलाश गाउँपालिका–१ जल्की बस्ने ३५ वर्षीय गणेश थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको बा ६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई पक्राउ गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय शनिदेउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छलि गर्न लगाई शनि देउला र कमल गुरुङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् । नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको छ । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा सोही महानगरपालिक–(१० बुद्धनगर बस्ने सिन्धुली मरिन गाउँपालिका–४ घर भएका ३० वर्षीय राज कुमार घिसिङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तीव्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा ३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गर्दा नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका–२५ हेम्जा बडहरेस्थित सडकमा बा।३ ख ९७२६ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्नपूर्ण गाउँपालिका–४ भदौरे घर भएका ८० वर्षीया नौली विकको शनिबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका–२१ माईराम चोकस्थित सडकमा ना ६ ख २९९१ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीया हरीमाया भडारीको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि कलैया अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापा, मेचिनगर नगरपालिका–९ झोडास्थित खेतमा सोही नगरपालिका–९ फारम टोल बस्ने ७१ वर्षीय कुल बहादुर रनपहेली शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, ज्वालामुखी गाउँपालिका(१ स्थित बुढीगण्डकी नदी किनारमा गोरखा गण्डकी गाउँपालिका(३ बस्ने ४८ वर्षीय युवराज रेग्मी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, सबैला नगरपालिका–३ सबैला बस्ने ६५ वर्र्षी योग नारायण महतो आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बागलुङ, गलकोट नगरपालिका–३ लमही बस्ने ८० वर्षीय लाल बहादुर अधिकारीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

आफ्नै सुत्ने कोठामा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ईमर्जेन्सी पोलिक्लिनिक हटियामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका–१ सिरुटारस्थित टासी धुन्जु टोल बस्ने जित बहादुर राईको घरबाट सुनको गरगहना लगायतका सामान गरी करिब ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने सप्तरी सप्तकोशी गाउँपालिका–११ घर भएका अमर पैकाराको कोठाबाट कोही नभएको अवस्थामा विभिन्न कम्पनीको ल्यापटप ३ थान शनिबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्