निजामती सेवा दिवसको अवसरमा म्याग्दी क्याम्पसमा हाजिर जवाफ

14
Shares

प्रताप बानियाँ, म्याग्दी ।
२०औँ निजामती सेवा दिवसको अवसरमा आज (शुक्रवार) म्याग्दी बहुमुखी क्याम्पसमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने मूल नारासहित निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको संयोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहअन्तर्गत विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको बीचमा हाजिर जवाफ गराइएको थियो । कुल १० वटा समूह निर्माण गरी सञ्चालित प्रतियोगिताबाट समूह नम्बर १० का शुभश्री रेग्मी, सज्जन आचार्य र सन्दिप परियार प्रथम, समूह २ का सुजता पौडेल, सुस्मिता पौडेल र यज्ञ श्रेष्ठ द्वितीय तथा समूह नम्बर ७ का सुरेन्द्र थापा, ईन्द्रबहादुर सुवेदी र अनु बानियाँ तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमशः नगद पाँचहजार, चारहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
हाजिर जवाफ प्रतियोगितामा ब्रह्माण्ड, विश्वको भूगोल, इतिहास, नेपालको इतिहास प्राचीनकालदेखि हालसम्म, सामाजिक एवं सांस्कृतिक अवस्था, आर्थिक तथा विकासका पूर्वाधारहरु, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, विद्युत, विकास निर्माण, कला, साहित्यसँग सम्बन्धित विषयका प्रश्नहरु सोधिएको थियो । यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद, पुस्तक, पुरस्कार, गीतसङ्गीतलगायत समसामयिक घटना तथा नवीनतम् गतिविधिहरु र महत्वपूर्ण व्यक्तित्व एवं विचारकसम्बन्धी जानकारी, सामान्य आईक्यु र अंग्रेजीसम्बन्धी जानकारीहरुको बारेमा पनि प्रतियोगीहरुलाई प्रश्न सोधिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले हाजिर जवाफ प्रतियोगिताले आगामी दिनमा हुने निजामती तहका विभिन्न परीक्षाहरुमा विद्यार्थीहरुलाई सहयोग पुग्ने बताउनुभयो । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले निजामती सेवातर्फ विद्यार्थीहरुको आकर्षण बढाउन तथा निजामती सेवाको महत्व बुझाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
हाजिर जवाफ प्रतियोगिताको सञ्चालन सुमन सुवेदीले गर्नुभएको थियो । कार्यक्रम सिबिए म्याग्दीका अध्यक्ष सापकोटाको अध्यक्षता र म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारी, सिबिएका पदाधिकारी र विद्यार्थीहरुसहित विभिन्न व्यक्तिहरुको उपस्थिति जनाएका थिए ।