दुई विधेयक संसदमा पठाइने

0
Shares

काठमाडौं । सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । साथै मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा विधेयकलाई समेत संसद्मा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

लामो छलफलपछि विधेयक समितिले अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाएको संघीय निजामती विधेयकलाई संसद्मा पठाउने निर्णय गरिएको हो । अब सो विधेयक संसद्मा आवश्यक छलफलपछि संसद्ले पारित गरेमा संघीय निजामती ऐनको रूपमा आउने छ । यद्यपि, यसअघि पनि संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भइसकेपछि फिर्ता गरिएको थियो ।

विधेयकमा कतिपय विषय विवादित भए पनि त्यसको अन्तिम टुंगो संसद्ले नै लगाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।

संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ८ वर्षदेखि आउन सकेको छैन । यसले गर्दा स्थायी सरकार भनेर चिनिने निजामती प्रशासन संघीय शासन प्रणालीको मर्मविपरीत ३० वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीका आधारमा चल्न बाध्य छ । अब भने सो कानुन आउने अपेक्षा गरिएको छ ।