चिनियाँ राजदूत सोङको अभिव्यक्तिप्रति सांसदहरूको असन्तुष्टि

नेविसंघका चार पक्राउ



 काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै देशका राजदूतहरूले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ । यसको भू–राजनीतिक संवेदनशीलता छ । यो भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखी असंलग्न परराष्ट्र नीतिको मान्यतामा नेपाल दृढ भएको कुरालाई पनि ध्यानमा राखिकन कसैले पनि आफ्ना बोली, अभिव्यक्तिहरू अगाडि सार्नुपर्दछ ।’

बैठकमा नेकपा (एमाले) का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको टिप्पणी गर्दै राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुनेमा जोड दिँदै अरूको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिको हिसाबले पनि बेठिक भएको टिप्पणी गर्नुभयो ।

उहाँले यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गर्दै भन्नुभयो– ‘यो गम्भीर कुरा भएको छ । दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनीय हुँदैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धबलशमशेर राणाले चिनियाँ राजदूतको अभिव्यक्तिको सम्बन्धमा सरकारले बोलाएर सचेत गराउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशी राजदूतहरूले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने टिप्पणी गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतका लागि तत्कालीन नेपाली राजदूतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने जिकिर गर्नुभएको थियो ।

गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युत्बाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिनुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?

नेविसंघका चार पक्राउ

चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै बालुवाटारस्थित चिनियाँ राजदूतावास घेराउ गर्न गएका नेपाल विद्यार्थी संघका चार कार्यकर्ता पक्राउ परेका छन् । संघका केन्द्रीय सदस्य वासुदेव न्यौपानेको नेतृत्वमा बिहीबार दिउँसो साढे २ बजे नाराबाजी गर्दै दूतावास घेराउ गर्न गएको विद्यार्थीहरूको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेविसंघका केन्द्रीय सदस्य न्यौपानेले चिनियाँ राजदूत सोङले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने नेविसंघको माग रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्